टावरै टावरको देश नेपाल :-भ्यु टावरमै ५ अर्ब स्वाहा !
एउटा अर्थहीन काममा राज्यको अर्बाै रकमको खोलो बगिरहेको छ । जुन रकमले ठूलो आयोजना सम्पन्न हुन्थ्यो,हजारौं दिनहीन नेपालीको जीवनस्तर फेरिनसक्थ्यो ।
तर आँखा चिम्लिएर अहिले संघ,प्रदेश सरकारको सिको गर्दै स्थानीय तहबीच ‘भ्यू टावर’ निर्माण गर्ने यस्तो डरलाग्दो प्रतिष्पर्धा चल्दैछ कि मानौं, सम्बृद्धि भनेकै अग्लो डाडाँमा टावर ठड्याउनु हो जस्तो ठानिएको छ ।
पछिल्लो दुई बर्षको स्थिती हेर्दा ६० भन्दा बढी स्थानमा भ्यु टावर ठडिदैछन् । यद्यपि कहाँ कति भ्यु टावर बन्दैछ भन्ने तथ्य राज्यको कुनै निकायसँग छैन् । प्रदेश,स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट पुस्तक केलाउँदा झण्डै ५ दर्जन ठाउँमा भ्यु टाबर निर्माणको क्रममा रहेको विवरण देखिन्छ ।
रमाइलो चाहिँ देशैभर बनेका र बन्न लागेको भ्यु टावर र प्रधानमन्त्रीको गृह जिल्लामा निर्माणाधिन एउटै भ्यु टावरको बजेट चाहिँ हाराहारीजस्तै छ ।
झापाको दमक नगरपालिका–३, ढुकुरपानीमा २३ असार २०७५ देखि निर्माण भइरहेको भ्यु टावरको १८ प्रतिशत काम सकियो । संविधान सभाको भवन पछि शहरी विभाग तथा भवन निर्माण विभागको यो दोश्रो ठूलो प्रोजेक्ट हो । झण्डै २ अर्ब ७३ करोड हाराहारी बजेट । त्यहाँ एक सय मिटर अग्लो, १८ तल्ले भ्यु टावर ठडाउने योजना छ । जस्को अहिले फाउन्डेसनको काम (पाइल हाल्ने) सकिएको छ । १८ तलामाथि २८ मिटर अग्लो टावर ठडाउने प्रतिवद्धतासहित चिनियाँ कम्पनी जेडसीजीआईईसी–आशिष–ओम साईराम जेभीले ठेक्का पाएको छ ।
Advertisement 1
अगुवाको सिको अरुले गर्ने नै भए । मुलुककै अगुवाले आफ्नो गृह जिल्लामा १८ तल्ले भ्यु टावर ठड्याउने भए पछि त्यसको सिको प्रदेशदेखि स्थानीय सरकारले गर्न थाले । त्यसकै नक्कल गर्दै अहिले मुलुकमा ५ दर्जनभन्दा बढी स्थानीय निकाय अहिले भ्यू टावर निर्माणमा जुटेका छन् । अहिले मुलुकभर ६० भन्दा ठाउँमा भ्यु टावर बन्दैछन् । केही सम्पन्न भइसकेका छन् । कतै शिलन्यास । विवरणहरु हेर्दा पहाड र तराईमा भ्यू टावर बनाउन स्थानीय तहहरुबीच होडबाजी डरलाग्दो देखिन्छ । संघीय सरकारले तीन ठाउँमा,बाग्मती प्रदेश सरकारले १५ स्थानमा,प्रदेश १ सरकारले ८ स्थानमा,कर्णली प्रदेश सरकारले २ ठाउँमा,सूदुरपश्चिम प्रदेशले २,गण्डकी प्रदेशले १ ठाउँमा भ्यु टावर ठडाउँदैछन् । बाकीँ भ्यु टावर बनाउन स्थानीय सरकार जुटेका छन् । संघीय सरकारको बजेटमा झापा,पाँचथरको फिदिम नगरपालिकामा भ्यु टावर उठ्दैछ । पाँचथरको रमितेमा रु.३ करोड १० लाख खर्चेर टावर बन्न लागेको हो ।
मोटामोटी झण्डै तीन चार अर्ब रकम यी भ्यु टावर निर्माणमा स्वाहा हुँदैछ । जसमध्ये केरावारी गाउँपालिका मोरंगले ७२ लाख लागत,फिदिम नगरपालिका पाँचथरले संघीय सरकारको ३ करोड १० लाख बजेट,म्याग्दीको मंगला गाउँपालिकाले २७ लाख खर्चेर,पुतलीबजार स्याग्जामा ८५ लाख र निजगढ नगरपालिका ४ बारामा ६० लाख खर्चेर भ्यु टावर ठडाइसकेका छन् । झापाको सिको गर्दै बाग्तमी प्रदेश सरकारले अन्धाधुन्ध १५ ठाउँमा भ्यु टावर खडा गर्र्दैछ । जसमध्ये २ करोड ९६ लाख लागतमा झुम्लु गाउँपालिका ८ काभ्रेमा भ्यु टावर बन्दैछ । यस्तै सूर्यविनायक नगरपालिका भक्तपुरमा १ करोड,रोशी काभ्रेमै निर्माणाधिन टावरका लागि २ करोड ६० लाख बजेट छुट्याइसकिएको छ । यस्तै,फुल्चोकी गोदावरीमा ६० लाख खर्चेर टावर उठाइदैछ । खाँडादेवी ५ रामेछापमा १ करोड खर्च भइसकेको छ । सिद्धबाबाको चुचुरोमा भ्यु टावर ठड्याउन भन्दै १ करोड ५० लाख विनियोजन गरिएको छ । धादिंगको तोप्लागमा २ करोड खर्च गरिँदैछ ।नुवाकोटको चिम्टेश्वरमा १ करोड ८० लाख बजेट छुट्टिसकेको छ । हेटौडा मकवानपुरमा बन्न लागेको भ्यु टावरका लागि २ करोड,बरण्डा सिन्धुपाल्चोकमा भ्यु टावर निर्माणका लागि ७० लाख बजेट विनियोजन भइसकेको छ ।
काठमाडौंका तारकेश्वर नगरपालिकाले २० लाख,नागार्जुन नगरपालिकाले २ करोड १० लाख बजेट भ्यु टावर बनाउन भन्दै छुट्टाएका छन् । यस्का अलवा काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा ‘एक हिल स्टेशन, एक भ्यू टावर’ निर्माण गर्न रु.६ करोड बजेट विनियोजन गरिएको भेटिन्छ । यस्तै घ्याम्पेडाडाँ,भक्तपुर र शिवालय,रामेछापमा भ्यु टावर बन्दैछन् । झापाको यो रोग बाग्मती प्रदेश हुँदै शेरधन राई कमाण्डर रहेको १ नम्बर प्रदेशतिर सरेको छ । त्यहाँको सरकारले झण्डै १ करोड खर्चेर सोलु दूधकुण्ड ८ र देम्बाडाडाँ पाँचथरमा भ्यु टावर ठडाउँदैन् । यस्तै, १ करोड लागतमा चम्पादेवी ५ ओखलढुंगा,बुद्धशान्ति झापा,मिक्लाजुग पाँचथर,माड्सेबुग इलाम,चिण्डेडाडाँ धरानमा बनाउँदैछन् । यी हरेकको लागत चाहिँ ५० लाख कम कतै छैन् । यस्तै,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाले झिलमिला क्षेत्रमा ‘भ्यू टावर’ बनाउन ७८ लाख छुट्टाएको छ । मोरङको विराटनगर महानगरपालिका–३ मा ११० मिटर अग्लो ‘भ्यू टावर’ बनाउने योजना बुन्दैछ । कञ्चनपुरको महाकाली नगरपालिकामा ३ करोड लागतमा ‘भ्यू टावर’ बन्दैछ । वेदकोट नगरपालिकाले ६ तले भ्यु टावरका लागि ७० लाख बजेट छुट्टाएको छ । यस्तै,कैलालीको गोदावरी नगरपालिका–४, कम्पासेधुरामा २ करोडमा भ्यु टावर बन्दैछ । यी विवरणहरु धेरै लामो छ । यसरी कम्युनिष्टको सरकार अनुत्पादक क्षेत्रमा अर्बाै लगानी गर्न किन होडबाजी गर्दैछन् त ? अर्थविद्हरु भन्छन् भ्यु टावरसँग जोडिएको कमिसनको जालो ।