“शासकीय सोचभन्दा उत्प्रेरणाका साथ सेवाभावले काम गरौं”
निजामती सेवा भनेको कानूनबाट स्थापित एक प्रतिष्ठित सरकारी सेवा हो । अहिले नेपाल सरकारको मुख्य सचिव निजामती सेवाबाटै ज्ञान र अनुभवले खारिएर सेवारत रहेका सचिवहरु मध्येबाट नियुक्त हुने प्रचलन छ । यो सेवा कानुनी आधारशिला जोडिएको सेवा पनि हो । कार्य सञ्चालन र उपयोगका हिसाबले अरू सेवालाई अगुवाइ गर्ने खालको यो सेवाको आफ्नै ऐतिहासिक चिन्हारी पनि रहेको छ ।
Advertisement 1
निजामती सेवाले कानुनी मान्यता पाएको दिन वि सं २०१३ भाद्र २२ को सम्झनामा निजामती सेवा दिवस २०६१ सालदेखि मनाइँदै आइएको छ । स्वीकार गर्नै पर्ने अर्को एक सत्यता के हो भने निजामती सेवा राज्य सञ्चालन व्यवस्थित रूपमा गरेर हालसम्म निरन्तर क्रियाशील रही असहज परिस्थिति र रिक्ततामा राज्य संरचनाको प्रमुख पात्र एवं सहयोगी बन्न सफल सेवा भएको छ । चाहे राजनीतिक आरोह वा अवरोहमा होस् वा देशमा विपद् वा महामारी परेका खण्डमा नै किन नहोस्, निजामती सेवामा आबद्ध राष्ट्रसेवकले उदाहरणीय त्याग र समर्पण प्रस्तुत गरेको छ । उदाहरण खोज्न धेरै पर जानुपर्दैन । संविधानसभा चुनाव र विभिन्न तहगत चुनावहरू तथा २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात्तको अप्ठेरोमा र कोभिड १९ को विश्व महामारी नियन्त्रणमा समेत निजामती कर्मचारीले खेलेको भूमिका मात्र हेरे पनि पुग्दछ ।
हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने नीतिगत र कार्यक्रमिक कुरा नै हो । त्यसै सन्दर्भमा यसपटक पनि निजामती सेवा दिवस मनाउन मुख्य सचिवज्यूको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । यो बर्ष पनि अरुका वर्षमा जस्तै राष्ट्रसेवकको भुमिकालाई उचो राख्दै मनाउछौं । सरकारले प्रत्येक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवसका अवसरमा निजामती कर्मचारीहरूलाई निजामती सेवा ऐन, २०४९ ले निर्दिष्ट गरेको पुरस्कार प्रदान गर्दै आएको छ ।
Advertisement 2
जसअनुसार प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा तीन प्रकारको पुरस्कार दिने उल्लेख छ । दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुस्कार दिइन्छ । सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्दछ र पुरस्कार प्रदान गरिन्छ । यसरी पुरस्कार सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि, मापदण्ड आधार र योग्यता प्रणालीमा अझ पारदर्शिता झल्काइ वस्तुपरक बनाउने पर्ने हुन्छ । यो पुरस्कार आम निजामती कर्मचारीबीच अपनत्व ग्रहण गर्ने र योग्यता कसीमा पर्याप्त परीक्षण पुरा भएको भन्ने सन्देश प्रवाह हुन जरुरी छ । विगतमा जस्तै वृक्षारोपण, कार्यालय सरसफाई, हाजिरजवाफ प्रतियोगिताका साथै खेलकुदका कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको थियो भने यस बर्ष कोरोनाका कारण सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड कायम राख्दै कार्यक्रम मनाइने छ ।
सकारात्मक र नकारात्मक पक्ष
निजामती कर्मचारीको छनौट योग्यताका आधारमा स्वतन्त्र र सबैधानिक निकाय लोकसेवा आयोगबाट हुने यो सबै भन्दा राम्रा कुरा हो । यस्तै वृत्तिविकास नियुक्ति पदस्थापन, सरुवा, बढुवा लगायतका पक्ष कानुनद्वारा निश्चित गरिएको छ, यो निजामती सेवाको अर्को सुन्दर पक्ष हो । त्यस्तै निजामती सेवा भनेको राजनीतिबाट अलग एवम् तटस्थ राखिएको जिम्मेवारी वोध गराउने र पारदर्शी ढंगमा सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध गरिएको हुन्छ यो तेस्रो राम्रो पक्ष हो। निजामती सेवा पदसोपानमा आधारित हुन्छ । यी सवै निजामती सेवाभित्रका राम्रा पक्षहरु हुन् ।
एक सिक्काको दुइ पाटा भने जस्तै हरेक कुरामा एउटा राम्रो पक्ष हुन्छ भने अर्को दुर्वल पक्ष पनि हुन्छ । त्यस्तै निजामती सेवामा पनि केही कमि कमजोरी छन् । ती मध्ये नतिजामुखीभन्दा प्रक्रियामुखी बढी भएकाले सेवा प्रवाह प्रभावकारी हुन नसकेको भन्ने आम जनताको गुनासो छ । कर्मचारीको सरुवा, बढुवा र पदस्थापन जस्ता पक्ष सदैव विवादमुक्त हुन नसकेको, अनुमानयोग्य र पारदर्शी हुन नसकेको अर्को नकारात्मक पक्ष हो । हामीले बजेट भाषणको अगाडि पनि कुरा गरेका थियौं । त्यो हो तलब सुविधाका कुरा, जुन समसामयिक रुपमा पुनरावलोकन हुन सकेको छैन् । त्यस्तै नयाँ युवा प्रतिभा यस सेवामा आकर्षित गर्न सकिएको छैन् । यी सबै निजामती सेवाका नकारात्मक पक्ष हुन् ।
सेवालाई कसरी बनाउने जनमुखी ?
विकसित देशहरुमा समेत निजामती सेवा (सिभिल सर्भिस) लाई वेवास्ता गरेर अथवा त्यसलाई पूर्णतः अलग गरेर अन्य पब्लिक सर्भिसहरू सञ्चालित हुँदैनन् भन्ने सोचाइ बनेको छ । त्यसकारण यस सेवालाई कसरी समयानुकूल सुधार गर्ने भन्नेमा नै हामी केन्द्रित हुनुपर्छ । यस सेवाको दायरा घटाउने होइन, यसको सेवाका प्रकृति र स्वरुपमा परिमार्जन गर्ने हो । जस्तो, शान्ति सुरक्षादेखि लिएर न्याय सम्पादन र कल्याणकारी सेवासम्म सबै उही नै हुन् । त्यसमा कुनै घटी वा वढी हुँदैन । तर सेवा प्रदान गर्ने सोच र शैली परिवर्तन गर्नुपर्छ । जतिसुकै जनमुखी हुन खोजे पनि हामीले सधैं शासन गरेर सेवा दिन खोज्यौं । यसमा समयानुकुल परिवर्तन आवश्यक छ । जनतालाई लोकतान्त्रिक प्रकियाको अनुभूत गराएर सेवा दिन सक्नु पर्दछ । भन्नुको मतलब सेवा दिएर सुशासन कायम गर्न सिकाउनु पर्दछ । पहिले हामी शासन गरेर सेवा दिन्थ्यौं, अब सेवा दिएर सुशासन गर्न सिकाउनु पर्दछ । सेवा दिने र लिने उही बर्ग हो, भूमिका र शैली मात्रै फरक हुन्छ ।
अन्त्यमा
जनताप्रति कर्तव्य बोध र चित्तशुद्धि सहित सेवा प्रवाहमा सक्रिय रही जनअपेक्षा अनुसार कार्य गर्न सके सम्पूर्ण राष्ट्रसेवकहरुलाई सन्तुष्टी प्राप्त हुन्छ । सबै राष्ट्रसेवकले सेवा प्रवाह गर्ने क्रममा स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता जस्ता आधारभूत पक्षलाई आत्मसात् गर्नु जरुरी छ । राज्यलाई नागरिकको घरदैलोमा सेवा प्रवाह गर्ने माध्यम निजामती सेवा भएकाले आफ्नो पेशागत दक्षता र क्षमताको पूर्ण उपयोग गरी जनताको अधिकतम सन्तुष्टिका लागि क्रियाशील रहन तथा जनस्तरमा निजामती सेवामाथि उठेका प्रश्नप्रति सचेत रही आफ्नो चारित्रिक शुद्धता कायम राख्ने जिम्मेवारी आफैले वहन गर्न समेत निजामती कर्मचारीलाई सुझाव गर्दछु ।
(शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यसँग इकर्मचारीकर्मी महेश्वर गजुरेलले गर्नुभएको कुराकानीमा आधारित)