कर्मचारी सरुवामै किन रमाउँछन् मन्त्रीहरु ?
नेपालमा कर्मचारी र मन्त्रीहरुबीचको विवाद नौलो बिषय रहेन । यस अघि कतिपय मन्त्रीहरु कर्मचारीहरुका विरुद्ध भौतिक आक्रमणमै उत्रिएका घटना समेत सार्वजनिक भइसकेका छन् । वन मन्त्री हुँदा मातृका यादवले स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई शौचालयमा थुनेका थिए । यस्तै करिमा बेगमले सहायक कृषि मन्त्री हुँदा पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गरेको घटना होस वा प्रदेश २ का अर्थमन्त्री रहँदा विजय यादवले सचिव विद्यानाथ झालाई कुटेको समाचारले त्यतिखेर सञ्चारमाध्यम तातेका थिए ।
यी त केही उदाहरण भए मन्त्री र कर्मचारीको विवादको उत्कर्षको । पछिल्लो समय मन्त्री र कर्मचारीहरुबीच हातपातकै घटना त भएका छैनन । तर तीन महिना नबित्दै कर्मचारीलाई फाल्ने र तान्ने खेल अहिले प्रायजसो मन्त्रालयमा देख्न पाइन्छ । जस्तो हिजोमात्र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले शहरी तथा भवन निर्माण विभाग डिजी परिवर्तन गरेकी छिन् । त्यहाँका हाकिम पदम मैनालीलाई मन्त्रालयमा तानेर विभागमा रामचन्द्र दंगाललाई लगिएको छ ।
यस अघि गत २२ असोजमा मन्त्रीमा नियुक्त भएकी रामकुमारी झाक्रीले ३० कार्तिकमा सहसचिव नवराज प्याकुरेललाई मन्त्रालयमा तानेर त्यहाँ पदमलाई पठाएकी छिन् । ६ महिना पछि मैनालीलाई मन्त्रालयमा तानेर त्यहाँ दंगाललाई पठाइएको छ ।
यस्तै यस अघि मन्त्री झाक्रीले चार महिना अघि आफैंले असक्षम र भ्रष्टको आरोप लगाउँदै सरुवा गरेका सचिव रमेश सिंहलाई शहरी विकास मन्त्री रामकुमारी झाक्रीले पुन तानेकी थिइन । मन्त्री नियुक्त भएको दुई महिना नबित्दै सचिवलाई त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएमा उनलाई शहरीमै तानेर त्यहाँका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । सचिव सिंहलाई यस अघि मन्त्री रामकुमारी झाक्रीले गत १३ मंसिरमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यतिबेला लोभी र भ्रष्टाचारी भनी फालिएका सचिव रमेश सिंह अहिले फेरि लायक ठानिएका छन् ।
Advertisement 1
सरुवाको अर्काे बेथिती भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि देखिन्छ । हालै मात्र त्यहाँ नेपाल ट्रष्टबाट गोपाल सिग्देललाई लगिएको छ भने भौतिक पूर्वाधार मन्त्रालयबाट सरुवा गरिएका रविन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्र पुर्याइएको छ । यता राष्ट्रिय सतर्कताका सचिव सुशीलचन्द्र तिवारीलाई जलस्रोत, उर्जा तथा सिचाई मन्त्रालयमा लगिएको छ ।
अहिलेका सचिवलाई सबैभन्दा बढी भलिबल बनाइने मन्त्रालय परेको छ खानेपानी । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले ६ महिनाका बीचमा ३ जना सचिव हेरफेर गर्न भ्याएका छन् । शुरुमा प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेर सुरेश आचार्यलाई खानेपानीमा ल्याइए पनि उनलाई ३ महिनामै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँ अहिले मणिराम गेलाललाई लगिएको छ ।
कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भए पनि कतिपय उच्च प्रशासनहरु दुई तीन महिनामै फुटबल झैं यताबाट उता र उताबाट यता फालिनुलाई प्रशासकहरु राम्रो संकेत मान्दैनन् ।
भूमि व्यवस्थामा शशी श्रेष्ठ पुगेको केही समयपछि त्यहाँका सचिव गणेश पाण्डेलाई उद्योगमा पठाई शिक्षाबाट रामप्रसाद थपलियालाई तानिन ।
प्रेम आलेको मन्त्रालयलमा दुई पटक सचिव फेरिएका छन् तत्कालीन सचिव यादव कोइरालालाई शिक्षामा पठाएर त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट महेश्वर न्यौपाने लगिएको छ ।
जनार्दन शर्मा अर्थमन्त्री भए पछि सचिव सहितका कर्मचारीहरु ठूलो मात्रामा त चलाएका थिए ।
Advertisement 2
पूर्व सचिव शारदा प्रसाद त्रिताल यो प्रकरणमा प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको कमजोरी देख्छन् ।’ मन्त्रीलाई देश विकास,मन्त्रालयको विकास गर्नुभन्दा कमाउनमै केन्द्रित रहने हुँदा उनीहरु आफूलाई काम गर्न कम्फरटेबल कर्मचारी खोज्ने र कर्मचारीबाट आफूले खोजेजस्तो परिणाम नआउँदा उनीहरु सरुवा हुने गरेको’ सुनाउँछन् । कर्मचारीहरु पनि प्रायजसो कमाउ अड्डा ताक्ने र त्यहाँ जानका लागि अनेकन तिकडम गर्ने हुँदा यस्ता समस्या देखिएको त्रितालको ठहर छ । विशेष गरेर प्रधानमन्त्रीकै तहबाट प्रशासनप्रति चासो नदिएको परिणाम प्रशासन संयन्त्र अत्यन्त अस्थिर बनाइएको प्रति उनी चिन्ता प्रकट गर्दछन् ।
पूर्व प्रशासक गोपीनाथ मैनाली यो प्रकरणमा सबैभन्दा ठूलो कमजोरी कर्मचारीहरुकै देख्छन् । उनी भन्छन् ‘जहाँ रहेर पनि जनताकै सेवा गर्ने हो भन्ने सोचभन्दा पनि अमूक मन्त्रालय सचिव वा अमुक विभागको डिजी हुन चाहन्छ । त्यसरी यस्ता निकायमा जाने इच्छाभित्र लुकेको स्वार्थ पूरा गर्नका जे गर्न पनि तयार हुन्छन कर्मचारी नै । मन्त्रीले स्वाभिक ढंगले सामित्यता भएको कर्मचारी खोज्छन,त्यसो हुँदा चाकडी गर्ने,राजनीतिक रुपमा चलखेल गर्ने कर्मचारीहरु साह्रै फोहोरी हुन्छन् । अर्थात उनीहरु स्वार्थ पूर्तिका लागि साह्रै फोहोरी खेल खेल्छन तर निजामतीभित्रै केही धेरै इमान्दार र व्यवसायिक कर्मचारी पनि छन्,जो सदैव पेलिन्छन् ।’