निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने गृहको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेसँगै आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ ।
पौने तीन बर्षमै प्रतिनिधिसभाको अवसान भएसँगै फेरि निर्वाचनमा जाँदा कम्तिमा ३० अर्ब हाराहारीको रकम जोगाड गर्नुपर्ने स्थिति छ ।
यसअघि ०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च भएको थियो । ७४ को निर्वाचनमा सरकार, सुरक्षा निकाय, पर्यवेक्षकलगायतमा खर्च जोड्दा ३० अर्बभन्दा बढी लाग्यो । यसअघि ०६४ निर्वाचनमा आयोगका लागि मात्र २ अर्ब २५ करोड खर्च लागेकोमा ०७० मा बढेर ४ अर्ब ५२ करोड खर्च भएको थियो । ०७४ मा झण्डै साढे सात अर्ब खर्च भएकोमा यही बजेट नबढ्ने गरी निर्वाचन फत्ते गर्ने तयारी छ ।
Advertisement 1
यता निर्वाचनको सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न गृहले सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा एउटा कमिटि गठन गरिसकेको छ ।
जसअनुसार,म्यादी प्रहरीबाहेक नै निर्वाचनको सुरक्षाको लागि एक लाख ४० हजार सुरक्षाकर्मी आवश्यक पर्ने आँकलन गरिएको छ । जसअनुसार ४५ देखि ५० हजार प्रहरी, २५ देखि २८ हजार सशस्त्र प्रहरी, ६० हजार नेपाली सेना र १६ सय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी छ ।
यस्तै, निर्वाचनका लागि झण्डै १ लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी आवश्यक पर्ने गृहले आँकलन गरेको छ ।