रसुवामा डेढ महिनादेखि डकैत समूहको आतंक,प्रहरी र प्रशासन निरिह
रसुवाको प्रहरी र प्रशासन दुबैलाई डकैती समूहले चुनौती दिएको छ । झण्डै डेढ महिनाअघिदेखि शुरु भएको चोरी र डकैतीको घटना नियन्त्रण गर्न र यस्ता कार्यमा संग्लग्नलाई कारवाही गर्न प्रहरी र प्रशासन असफल बनेको छ । डेढ महिनाअघि देखि नै उत्तरगया गाउँपालिका २ डाँडागाउँ क्षेत्रमा दर्जनौँ घरमा चोरी भएको थियो । प्रहरी र प्रशासनले यस्ता कार्यमा संग्लग्नको पहिचान गर्न ढिलाई गर्दा यो समूहको मनोबल झन बढेको छ ।
Advertisement 1
डकैत समूहले जिल्लाको दक्षिणी भेगमा चोरी डकैतीको घटना तिव्र पार्दा समेत प्रशासन भने मुकदर्शक बनेर बसेको स्थानीयहरुले आक्रोश पोखेका छन् । डकैत समूहले विभिन्न सहकारीदेखि सरकारी कार्यालय र व्यक्तिका घरभित्रै पसेर चोरी तिव्र पारेका छन् । उनीहरु कार्यालय फोरेर त्याहँ भेटिएको डेढ सय रुपैंया नगद समेत लिएर गएका छन् ।
दिनप्रति दिन चोरी र डकैतीको यस्ता घटना बढाएसँगै अहिले उनीहरुको निन्द्रा नै हराएको छ । यो समूहले कहिले व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटाइरहेका छन्। बिहिबारमात्र उत्तरगया गाउँपालिका ५ मा रहेको दुई वटा सहकारीको कार्यालयमा चोरी भएको जनाइएको छ ।
Advertisement 2
जनजागरण बचत तथा ऋण सहकारी संस्था र कालिका बहुउदेश्यीय सहकारी संस्थामा सो समूहले चोरी गरेको हो । कालिका बहुउदेश्यीय सहकारी संस्थाको ढोकाको ताल्चा फोरि नगद ७३ हजार ४ सय ४५ रुपैया चोरी भएको बताइएको छ । त्यसैगरि, उत्तरगया गाउँपालिका ४ कर्मीडाँडा स्थित लहरेपौवा स्वास्थ्य चौकी भवनमा समेत तोडफोड भएको छ । स्वास्थ्य चौकीमा रहेको १ सय ५० रुपैया समेत चोरी भएको छ । केही स्थानीयको घरमा पनि एकैपटक चोरी भएको छ । बिहीबार चोरी गर्ने व्यक्तिले जनजागरण वचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोडसमेत गरेको पाइएको छ ।
यस अघि ६ गते पनि कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकामा स्थित सरकारी कार्यालय, व्यक्तिका घर, पसलमा चोरीका घटना भएको थियो । कालिका गाउँपालिकाको कालिकास्थान धारापानी एवं बेतिनी तथा उत्तरगया गाउँपालिका ५ को माझगाउँ र बनुवा घुम्तीमा चोरीको घटना बढेको छ । कालिका गाउँपालिकामा विभिन्न स्थानमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइ साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका ५ वडा कार्यालय निजी घरसमेत तोडफोड भएको छ । पछिल्लो समयमा विभिन्न कार्यालय तथा घर गरि १४ स्थानमा चोरीका घटना घटेको छ । करिब चार लाख नगद तथा करिब चार तोला सुन चोरी भएको प्रहरीले जनाएको छ । चोरीको घटना बढेको भन्दै प्रहरीले रसुवाका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा ५ सदस्यीय टोली परिचालन गरिएको जनाएको छ ।