रेनुमाथि नै बेइमानी भए कसरी अगाडि बढ्ला गठबन्धन ?

– अजय गोर्खाली

Advertisement 1

चितवन/स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा चितवनको भरतपुर महानगरपालिकामा सिंगो देशको ध्यान तानिएको छ । अब भरतपुरको मेयर को बन्लान् ? माओवादी केन्द्रकी रेनु दाहाल फेरि चुनावी मैदानमा उत्रिएपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतले समेत निकै चासोकासाथ हेरिरहेका छन् भरतपुरलाई । पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध गठबन्धनको एउटा प्रमुख दल नेपाली कांग्रेस भित्रैबाट बागी उम्मेदवारी प¥यो, जसले गणतन्त्र, संविधान र संघीयता विरोधीहरुलाई बल त पुग्ने नै भयो, यसले स्वयं कांग्रेस पार्टीको भविष्यसमेत चौपट हुने खतरा छ ।

देशको प्रधानमन्त्रीसमेत रहेका पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रका अध्यक्ष कांग्रेस सभापति शेरबहादुर देउवा भन्छन्, ‘यो गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छ, त्यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी नै खत्तम हुनेछ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने अहिलेको अवस्थामा गठबन्धन आवश्यक भएको र यही गठबन्धनको समर्थनमा आफू प्रधानमन्त्री बनेको भन्दै प्रम देउवाले यो गठबन्धनलाई जोगाउन पार्टीका सबै नेता–कार्यकर्तालाई आग्रह गरे ।

Advertisement 2

गत बिहीबार भरतपुरमा भएकोे विशाल आमसभालाई सम्बोधन गर्दै उनले राम्रो काम गर्ने रेनु दाहाललाई कसैले पनि हराउन नहुने बताए । ‘उहाँ आफैंले जितिसक्नुभएको छ भरतपुर, चितवन । यति राम्रो काम गर्ने मान्छेलाई हरायो भने यहाँका जनताले के भन्लान् ?’, देउवाले भने, ‘सबै साथीहरुले सहयोग गरेर उहाँलाई जिताउनुस् ।’ त्यसले गठबन्धन बलियो हुने र अझै १०÷१५ वर्षसम्म यो सहकार्य चल्ने भन्दै उनले भने, ‘हाम्रो पार्टीका कसैले पनि कुनै बखेडा गरेर काम छैन ।’

आमसभामा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि यो पाँचदलीय गठबन्धन बनेको बताउँदै यसभित्रका सबै पार्टीका नेता–कार्यकर्ताले यो गठबन्धनको मर्म र भावना अनुरुप गठबन्धनका उम्मेदवारहरुलाई चुनाव जिताउनै पर्ने बताए । नभए देश दुर्घटनामा पर्ने खतरा रहेको प्रचण्डले बताएका छन् । सबैको साथ र सहयोग मिलेमा यो गठबन्धनलाई अरु १५÷२० वर्षसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले रेनु, चित्रसेन लगायत गठबन्धनका सबै उम्मेदवारलाई जिताएर गठबन्धनलाई सफल र दिगो बनाउन सहयोग गर्न सबैसँग अपिल गरेका छन् । भरतपुर महानगरपालिकाले गएको पाँच वर्षमा बडो इमानदारीका साथ आफ्नो प्रतिबद्धता पूरा गरेको भन्दै प्रचण्डले भने, ‘प्रचण्डकी छोरी मात्रै भएर होइन । रेनु दाहालको आफ्नै त्याग, तपस्या र समर्पणको परिणाम हो भरतपुरको विकास ।’ आफूले पनि चितवनलाई नै मोडेल बनाएर सिंगो देशको विकास गर्न चाहेको प्रचण्डले बताएका छन् ।

Advertisement 3

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बितेको पाँच वर्षमा भरतपुर महानगरपालिकामा अकल्पनीय विकास गर्न सफल भएकोमा रेनु दाहाललाई बधाई दिँदै भने, ‘रनुलाई अहिले सबैले विकासप्रेमी भन्छन्, बाबुको नामको आधारमा होइन, आफ्नै योग्यताको आधारमा । योग्यताको जाँचमा उहाँले पाँचवर्षमा उत्कृष्ट काम गर्नुभएको छ ।’ त्यसैले भरतपुरमा रेनुलाई फेरि पनि मेयरको उम्मेदवार बनाइएको नेता नेपालले बताए । केपी ओलीको प्रतिगमनकारी नीति विरुद्ध यो गठबन्धन नबनेको भए संविधान, गणतन्त्र र लोकतन्त्र सबै समाप्त भइसक्ने थियो’, उनले भने, ‘गठबन्धनको सिद्धान्तलाई सबैले इमानदारीका साथ पालना गरौं ।’ कांग्रेसभित्र अलि समस्या देखिएको भन्दै नेपाल भन्छन्, ‘राजनीतिलाई निष्ठा र आदर्शको विषय बनाउनु भएको छ भने कुण्ठा बोकेर नहिँड्नुस् ।’ बागी उम्मेदवारलाई उनले भने, ‘अहिले पनि वक्तव्य दिएर उम्मेदवारी फिर्ता लिनुस् ।’ देशलाई लोकतन्त्र र समाजवादको यात्रामा अगाडि बढाउन, जनतालाई समानता र न्यायको अनुभूति दिलाउन एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका असन्तुष्ट तथा बागी पक्षलाई सम्झाउने कोसिस गर्दै भने, ‘हाम्रो प्रतिस्पर्धा माओवादी केन्द्रसँग होइन । एमालेको केपी ओली प्रवृत्तिसँग हो । म सम्पूर्ण साथीहरुलाई भन्छु, प्रतिगमनविरुद्धको एकता हो यो गठबन्धन । मुलुकमा कुनै एउटा पार्टीले मात्रै सजिलोसँग बहुमत ल्याउन सक्ने अवस्था नरहेको हुँदा संविधानकै मार्गदर्शन अनुसार संयुक्त सरकारको, यो गठबन्धनको आवश्यकता रहेको प्रस्ट्याउँदै नेता पौडेलले भने, ‘हामीले गठबन्धनप्रति इमानदार भएर निर्धक्कसँग हँसिया–हथौडामा भोट हाल्नुपर्छ । भरतपुरमा लोभलाग्दो विकास गरेकी रेनुलाई कामको मूल्यांकन गरेर फेरि एकपटक मौका दिनुपर्छ ।’ कांग्रेसीहरुले एक ठाउँमा हँसियाहथौडामा भोट हाल्दा माओवादी केन्द्रले तीन ठाउँमा कांग्रेसलाई भोट हाल्ने उनले बताए । राजनीतिक स्थिरता, संविधान र जनअधिकारको रक्षाका लागि बनेको गठबन्धन यो स्थानीय निर्वाचनमा मात्र नभई भोलि संसद्को चुनावमा पनि कायम रहने बताउँदै यसलाई जसरी पनि सफल बनाउनुपर्ने उनले बताए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले गठबन्धनका शीर्ष नेताहरुलाई विश्वास दिलाउँदै भने, ‘भरतपुर महानगरपालिका गठबन्धनले नै जित्छ, तपाईंहरु निर्धक्क भएर जानुस्’, उनले भनेका छन्, ‘हामी जिताउँछौं मेयरमा रेनु दाहाल लगायत सिंगो गठबन्धनलाई । नेपाली कांग्रेसले जिताउनेछ, म विश्वास दिलाउन चाहन्छु ।’

प्रकाशित :२०७९ बैशाख २६, सोमबार १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry