पेन्सन खाएर राजनीति गर्न पाइन्छ र ?
कानुन बोल्दैन भन्दैमा नैतिकताको ख्याल नगरेपछि के लाग्छ र ? जीवनभर जागिरमा अल्झिने, अवकासपछि राज्यको पेन्सन खाँदै निश्चित राजनीतिक दलमा लाग्ने †
जब–जब चुनाव आउँछ वा अवसर छोप्नुपर्ने समय आइलाग्छ, नेपालका पूर्वकर्मचारीहरू लर्को बाँधेर विभिन्न राजनीतिक दलमा प्रवेश गर्नेदेखि नयाँ–नयाँ दल खोलेर हिँड्ने फेसन नै भएको छ । राजनीति चल्ने न्याय र नैतिकताले हो । जनआधारित व्यक्तित्व निर्माण हुनु राजनीतिक भूमिकाको मुख्य शर्त हुन्छ । जीवनको उर्वर समय सरकारी सेवामा बिताउनेहरूले जनतामा आफ्नो परिचय वा छवि निर्माण गरेका हुँदैनन्, तर पनि राजनीतिमा छिर्छन् । दुःखको कुरा के भने त्यस्ता पैसावाल कर्मचारी राजनीतिमा छिरिदिएपछि जीवनको प्रारम्भिक समयदेखि पार्टी, आन्दोलन भन्दै जनताबीच स्थापित भएका कतिपय कार्यकर्ता अवसरबाट बञ्चित हुने गरेका छन् । प्रशासनिक बृत्तमा गाइँगुइँ छ, राज्यले सरकारी सेवा गरेबापत बाँचुञ्जेलका लागि दिने पेन्सन जागिर सकिएपछि राजनीति गर्नेलाई किन जारी राख्ने ? यसबारे कानुनले केही बोलेको छैन । तर, सांसदहरूको हकमा पेन्सन दिने प्रस्ताव उनीहरूले नै अस्वीकृत गरिसकेका छन् । जबकि, सांसद भएको एउटा मान्छेले कम्तिमा १५–२० वर्षदेखि जीवनैभर जनताबीचमा काम गरेको हुन्छ ।
Advertisement 1
पूर्वसचिव केदारप्रसाद अधिकारीले अस्ति दिउँसो राजेन्द्र लिङ्देनलाई भेटेको केही छिनमा पत्रकार सम्मेलनमार्फत् राप्रपा प्रवेश गरे । पूर्वजर्नेलहरू, गुप्तचरका पूर्व एसएसपीहरू विभिन्न राजनीतिक दलको झण्डा बोकेर हिँडेका छन् । जागिरे जीवनमा कर्मचारीको दलीय आवद्धताबारे तिखोसँग प्रतिवाद गर्ने लीलामणि पौडेल मुख्यसचिव र राजदूतको जिम्मेवारी वहन गरिसकेपछि माओवादी केन्द्रको विदेश विभागमा बसे । लगत्तै राजीनामा दिए । सरकारी प्राध्यापक थिए, अयोधीप्रसाद यादव । उनीजस्तै सहसचिवबाट अवकाश पाएपछि माओवादी कोटामा निर्वाचन आयुक्त भएका सुधीरकुमार शाह पनि अहिले माओवादीको निर्वाचन विभागमा छन् ।
०७० कै चुनावदेखि नेपाली कांग्रेस र नयाँ शक्तिमा सक्रिय काबिल सचिव रामेश्वर खनाल दिक्क भएर अहिले ‘स्वतन्त्र’ भएका छन् । पूर्व शहरी विकास सचिव किशोर थापाले ०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा विवेकशील साझाबाट प्रतिस्पर्धा गरी १८ हजार मत ल्याए । पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ, नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल र गुप्तचरका पूर्व एआईजी देवराज भट्टहरूले पनि पार्टी नै खोलेका छन् । भारतीय राजनीतिमा कर्मचारी तथा अनौपचारिक क्षेत्रका मानिसहरू समेटेर अरविन्द केजरीवालले पार्टी चलाए, सफल भए । तर, नेपालको सन्दर्भमा गैरराजनीतिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नेहरू विरलै सफल भएका छन् । फलतः चुनावमा उठे परिवारकै भोट नआउने स्थिति छ । त्यही पनि कहाँबाट के सुर चढ्छ, पार्टी खोलिहाल्छन् । बीबीसीमा लामो समय पत्रकारिता गरेका रविन्द्र मिश्र स्थिरताको नारा दिएर पार्टी चलाइरहेका छन् । आफ्नो पार्टी वर्षमा तीनचोटि फुट्दै, जुट्दै तमाशा चल्छ, त्यस्तो पार्टीले दिने राजनीतिक स्थिरता कस्तो हुन्छ ?
Advertisement 2
तर, कतिपय पूर्वराष्ट्रसेवक राजनीति हैन, आ–आफ्नो विषयविज्ञताका आधारमा नागरिक जीवनसँग साक्षात्कार गरिरहेका हुन्छन् । पूर्वगृह सचिव चण्डीप्रसाद श्रेष्ठ, डा.द्वारिकानाथ ढुंगेल, बुद्धिनारायण श्रेष्ठ, भोजराज पोखरेलहरूले जागिरे जीवनमा जे विषयमा विज्ञता हासिल गरे, त्यही विषय उठाएर नागरिक अगुवाका रुपमा चिनिएका छन् । दलको झण्डा बोकेका छैनन् । भारतमा श्यामशरण विज्ञ सल्लाहकार हुन् । एस. जयशंकर मन्त्री नै भए । उनी पहिला विदेश सचिव थिए, पछि राज्यसभामा मनोनित हुँदै मन्त्री बने । तर, भाजपाको अफिसमा बसेर राजनीति गर्दैनन् । पार्टीको आमसभामा वक्ता भएर जाँदैनन् ।