सिडिओ कार्यालयमा सर्वसाधरणलाई सास्ती

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गाडी पार्किङको व्यवस्था नहुँदा सेवाग्राहीहरुले चर्को सास्ती खेप्नुपरेको छ । साँघुरो स्थानमा रहेको कार्यालय परिसरभित्र र बाहिर कतैपनि सवारी पार्किङ गर्न नमिल्ने भएकाले जनता मर्कामा परेका हुन् ।
Advertisement 1
प्रशासन कार्यालय छेउछाउ अन्य कार्यालयसमेत रहेकाले त्यहाँ वरपर सधैँ सवारी साधन भरिभराउ हुने गरेको छ । जिल्ला अदालत,जल तथा मौसम पूर्वानुमान महाशाखालगायतका कार्यालयहरु प्रशासन नजिकै छन् । अगाडिको बाटो जम्मा १० देखि १२ फिटको छ, जहाँ छेउमा गाडी राख्दा जाम हुन्छ ।
पार्किङको समस्या रहेको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सेवाग्राहीलाई परेको अप्ठेरोबारे आफू जानकार रहेको बताए । ‘सडक साँघुरो छ । आसपासमा पनि धेरै कार्यालय छन्,त्यसैले समस्या परेकै छ’,उनले भने ।
Advertisement 2
सिडिओ रिजालले पार्किङको समस्या तत्काल समाधान हुने अवस्था नरहेको जानकारी दिँदै चुनावपछि अण्डरग्राउण्ड पार्किङको कार्ययोजना बनाइने बताए । ‘पछिल्ला दिनहरुमा राष्ट्रिय परिचयपत्र वितरण गर्नेक्रममा थेगिनसक्नु भीड भयो, हामीले टोकन सिस्टम नै लगायौं । अहिले टोकन हटाएका छौं । भीड पनि कम भएको छ । लाइन लगाउनुपर्ने अवस्था नभएपछि खासै समस्या आउँदैन’, उनले भने ।
बेला बखत प्रशासन कार्यालयमा सर्वसाधारणले सास्ती खेप्नुपरेका गुनासा सामाजिक सञ्जालमा पनि पोखिने गरेका छन् ।