सम्यक मानसिक जीवन
मानसिक स्वास्थ्य व्यक्तिको जीवन स्तर तथा कार्य क्षमतासंग प्रतक्ष्य सम्बन्धित हुने हुनाले निकै संवेदनशिल विषय हो । बलीउडमा सफल भनिएका केही हस्तीहरु डिप्रेसनको शिकार भएको समाचार प्रकाशित हुदै गर्दा, कुनै पनि व्यक्ति आवश्यक सुविधाकोे अभावमा मात्र मानसिक रोगी हुनपुग्छ भन्ने पुर्वस्थापित मान्यताको बारेमा पुनर्बिचार गर्नु पर्ने अवस्थाको सृजना भएको छ । प्रत्येक ४ जना मध्ये १ जना जीवनको कुनै पनि एक अवस्थामा मानसिक रोगबाट ग्रस्त हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । त्यसैगरी आगामी बर्षहरुमा सबै भन्दा बढी संख्यामा मानिसहरु ग्रसित भएको रोगको बरियतामा डिप्रेसन दोश्रो स्थानमा हुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनको रहेको छ । तथ्यांकले विकशित हुदै गएको मानव सभ्यताको मानचित्रमा मानसिक समस्याको स्थान निकै चुनौतीपुर्ण रहेको इंकित गर्दछ । विज्ञान र प्रविधिले गरेकोे विकासले दैनिक काममा कम श्रम र समय खर्चनु पर्ने भई जीवनयापन विगतको तुलनामा निकै सहजतापुर्ण भए तापनि केही मानिसहरु मानसिक पिडाको संघारमा पुगेको यर्थातलाई नकार्न सक्ने स्थिति छैन । सबै किसिमका भौतिक सुविधा उपलब्ध भएका मानिसहरु पनि मानसिक पिडाको शिकार हुनुका केही कारणहरु छन् ।
हरेक व्यक्तिको जीवनमा रहेको अनवरत प्रयास सहज जीवनयापनका लागि नै हो । जब मानिसले जीवनमा भौतिक उपलब्धी हासिल गर्दै जान्छ, त्यसको सिधा प्रभाव दैनिक तालिकामा पर्न जान्छ र दैनिक कार्यबाट श्रम र समयको बचत हुन जान्छ । विभिन्न अध्ययनहरुले मानविय मनोविज्ञान सकारात्मक भन्दा वढी नकारात्मक कुरा तर्फ आर्कषित हुने गरेको प्रवृत्ति देखाएको छ । तसर्थ सुविधा सम्पन्न भई फारो भएको श्रम र समयलाई सृजनशिल कार्यमा लगाइएन भने उक्त उर्जा त्यस्तै बिग्रेका भत्केका कुरातिर लाग्दछ । अनि मानिस नजानु पर्ने ठाउमा जान्छ, खान नहुने कुरा खान्छ, नबोल्नु पर्ने कुरा बोल्छ अनि नसोच्नु नपर्ने कुरा विचार्न थाल्छ । यस्तै यस्तै किसिमका कर्मले मानिसलाई असन्तुलित बनाई मानसिक पिडातिर लिएर जान्छ । तसर्थ देहाय बमोजिमको सम्यक शैलीको अनुसरण गरेर समग्र व्यक्तित्वको विकास गर्न सकिन्छ ।
Advertisement 1
क) उर्जा र समयको व्यवस्थापन
सामान्यतया देखिने गरेका यस्ता समस्याहरु मानसिक रोग भन्दा पनि स्वयम् भित्र सृजित उर्जाको उचित व्यवस्थापन गर्न नसक्दा जीवन प्रतिको दृष्टिकोण नै नकारात्मक हुन गई सृजना भएको जटिलता हुन् । यस्ता जटिलताले व्यक्तिगत देखि सामाजिक जीवनसम्म पनि नकारात्मक प्रभाव पार्ने हुन्छ । आफै भित्र सृजित उर्जाको जटिलताबाट मुक्त हुन उर्जाको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको लागि सर्वप्रथम हाम्रो शरिरमा उर्जाको सृजना र दोहनको विज्ञान बुझ्नु पर्ने हुन्छ । हामीलाई उर्जा तिन माध्यमबाट प्राप्त हुन्छन् खाना, श्वासप्रश्वास र आराम । त्यसैगरी उर्जा विभिन्न कृत्यहरुमा खर्च हुन्छन् । सम्भव भएसम्म उर्जाको उत्सर्जन र खपतको हिसाबलाई बराबर बनाउन कोशिश गर्नु पर्छ । उर्जा व्यवस्थापनका लागि निम्न बमोजिम गर्न सकिन्छ ।
१) दैनिक जीवनमा क्यालोरी आवश्यकता व्यक्तिको उमेर, उसले गर्ने शारिरीक श्रम अनुसार फरक फरक हुने भएतापनि सामान्यतया एक वयस्क व्यक्तिको निम्ति दैनिक २४०० क्यालोरी आवश्यक हुन्छ । तसर्थ हामीले खानाबाट कति क्लोरी लिइरहेका छौ र त्यति क्यालोरी लिनु आवश्यक छ कि छैन सचेत भएर भोजन ग्रहण गर्नु पर्दछ ।
२) आरामको माध्यमबाट पनि हामीले उर्जा प्राप्त गरिरहेका हुन्छौ । निद्रा प्राकृतिक हिलिङ्ग प्रणाली पनि हो । एक स्वास्थ्य वयस्कलाई ६ घण्टाको पुर्ण निद्राको आवश्यकता पर्दछ । तर निद्रा स्तरिय हुनुपर्छ, राम्ररी निदाउन सकिएन भने १० घण्टा पल्टदा पनि आराम पुग्दैन तसर्थ सकेसम्म निद्रा लागेपछि मात्र बिछ्यौनामा जाने र निद्राले छोड्ना साथ बिछ्यौना छाड्ने बानी स्वस्थ्यकर हुन्छ ।
३) श्वासप्रश्वासको माध्यमबाट पनि हामीलाई उर्जा प्राप्त हुन्छ । पहिलो कुरो त श्वास लिने वातावरणमा प्रदुषण कम होस् । त्यसैगरी श्वास लिदा र छोड्दा छोटो र हल्का होइन की बरु सकेसम्म लामोे र गहिरो हुनुपर्छ । यस्तो प्रकारको श्वासप्रश्वासले शारिरीक रुपमा स्वास्थ्य र मानसिक रुपमा स्थिर रहन सहयोग गर्दछ । तसर्थ, याद भएसम्म घरमा, कार्यालयमा, पार्कमा जहा रहदा पनि गहिरो र लामो श्वासप्रश्वास लिनु पर्दछ ।
Advertisement 2
ख) समयको व्यवस्थापन
सन्तुलित जीवनका लागि समय पनि व्यवस्थापन पनि उतिकै महत्वपुर्ण छ । समय तालिका बनाएर त्यसको अनुसरण गर्नु, समयको व्यवस्थापन गर्ने सबैभन्दा उत्तम तरिका हो । सन्तुलित दैनिक तालिकाको निम्ति पहिले २४ घण्टालाई तीन भाग लगाउनुहोस् । पहिलो ८ घण्टा मध्ये ६ घण्टा स्तरीय निद्राको निम्ति तथा १ घण्टा शारिरीक व्ययाम तथा १ घण्टा ध्यानसाधना वा योगको निम्ति छुट्याउनुहोस् । दोश्रो ८ घण्टा पेशागत कामको निम्ति छुट्याउनुहोस । तेश्रो ८ घण्टा मध्ये ५ घण्टा घरायसी काम तथा १ घण्टा दैनिक घरका अन्य सदस्यसंग कुराकानी गर्न र २ घण्टा आफ्नो रुचीको काम गर्नको निम्ति छुट्याउनुहोस् । यसरी तयार गरेको तालिकाको अनुसरण गर्र्दा अनावश्यक कृत्यमा संलग्न हुने सम्भावना रहदैन भने आवश्यक कृत्यहरु पनि छुट्दैन्न । कपारिवारिक सम्बन्ध र वातावरण दुबै मधुर हुदै जान्छ । साथसाथै शारिरीक र मानसिक स्वास्थ्य त बलियो हुने नै भयो ।
ग) आजमा बाच्नुहोस्
नितान्त अहिलेमा बाच्नुहोस्, जीवन जीउने एउटै तरिका यही हो । हिजो मरिसकेको छ त्यसलाई त्याग्नुहोस् किनकी त्यो आज न त सुख दिन आउछ सक्छ न त दुख दिन । भोली पक्कै अन्यौलपुर्ण छ तर त्यसको त्रासबाट मुक्त हुनुहोस् किनकी भोलीको भवन आजको जगमा तयार हुने हो । जग नै त्रासमा हाल्नु भयो भने भोली खुट्टा कामेको भवनको तयार हुनेछ । तसर्थ विगतबाट मुक्त हुनुहोस्, भविष्य प्रति सकारात्मक हुनुहोस् । भोली जब आउने छ, आज भएर आउने छ । पुरा ध्यान आजमा लगाउनुहोस् । जहा हिजो र भोलीको विषाक्त जाल हुदैन त्यहा कुनै पनि किसिमको अस्थिरता र असन्तुलनले स्थान पाउदैन ।
घ) दृष्टिकोण सकारात्मक राख्नुहोस्
आफु मात्र सकारात्मक भएर पुग्दैन । हामीले दैनिक जीवनमा सकारात्मक दृष्टिकोण नभएका मानिसहरुसंग पनि अन्तरकृया गरिरहनु पर्दछ । घटना परिघटना पनि सधै सकारात्मक हुदैनन् । जसले हाम्रो आन्तरीक शान्तिलाई खलबलाइ दिन्छन् । तसर्थ मनलाई सकारात्मक राखिरहन नियमित टोनिक लिइरहनु पर्दछ । यस कृत्यलाई दैनिकीमै समायोजन गर्न सकिन्छ । जस्तै दैनिकी सुरु गर्नु अघि प्रार्थना गर्ने । उत्प्रेरणा दिने खालका किताबहरु नियमित पढ्ने । सम्भव भएसम्म जीवन प्रति सकारात्मक दृष्टिकोण राख्ने साथीहरुको सर्कल बनाउने र सम्पर्कमा रहने । यसैगरी मानवता प्रवद्धन गर्ने संघमा आबद्ध हुने । सुविधाजनक ढंगले आफु भन्दा कमजोरलाई मदत गर्ने । यस्ता कार्यले जीवन मुल्य थप्छ ।
कुनै पनि व्यक्ति विकाशको पछि लागिरहदा, मानसिक तन्दुरुस्ती ओझलमा परेको छ । मानसिक स्वास्थ्यसंग सम्झौता गरी आएको विकाश दिगो हुदैन । यस्तो एकोहोरो बढोत्तरीको मूल्य व्यक्ति र समाज दुबैले चुकाउनु पर्ने हुन्छ । त्यसकारण मानसिक अवस्थाकोे हिफजत गर्नु नै विवेकसिल कदम हो । व्यक्तिभित्र सृजित उर्जालाई सृजनात्मक काम लगाउन सक्ने गरी अवलम्बन भएको जीवनशैली, मानसिक र शारिरीक स्वास्थ्य केन्द्रमा राखी अनुसरण गरेको जीवन तालिका र उचित जीवनकलाले मानिसलाई मानसिक समस्याबाट मात्र बचाउदैन, समग्र विकाश तर्फ अग्रसर गराउछ । तसर्थ, हरेक व्यक्तिले म कस्तो जीवनशैली अबलम्बन गर्छु, म भित्र असन्तुलनको जोखिम कति छ, मेरो समग्र विकाशको लागि के के सुधार हुन सक्छन्, आत्मसमिक्षा गर्नुपर्छ ।