जो जमिन र कविताको लम्बाई सँगै नाप्छन्

लोकराज रुम्दाली
Advertisement 1
जागिर सर्भे अधिकृत । कार्यालय नेपाल विद्युत प्राधिकरण । नाम युवराज शर्मा । रुचि कविता कोर्ने । साहित्यिक नाम आविष्कार कला । सबैले भन्ने, भन्न रुचाउने पनि आविष्कार कला । सबैलाई लाग्छ, ‘नाममै दम छ ।’ घोडेजात्राको अघिल्लो दिन बिहीबार उनै आविष्कार कलासँग चियागफ भयो ।
‘जमिनको लम्बाई नाप्न सजिलो कि कविताको लम्बाई नाप्न ?’ भेटमा उनीसँग राखिएको पहिलो प्रश्न यहीँ थियो । अग्लो कद, लिखुरे ज्यानका आविष्कारले प्रश्नको जवाफ दिए, ‘पेशा, अध्ययन र प्रयोगात्मक क्षेत्र भनेको जग्गाको लम्बाई नाप्ने नै हो । यसकारण यो त सजिलो हुनै पर्यो । अब कविताको लम्बाई नाप्नेचाहीँ बाल्यकालदेखिकै रुचि हो । त्यसैले पेशा र रुचिको क्षेत्र भन्न रुचाउँछु ।’
आविष्कार कला हालको प्युठान, मल्लरानी गाउँपालिका–३ मा २०४३ सालमा जन्मिए । ४ सन्तानमध्ये उनी जेठा । उनीअघिका दुई दिदी र पछिका एक जना भाइ छन् । २०६६ सालमा निजामति सेवामा प्रवेश गरेका उनी अहिले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौंमा कार्यरत छन् । २०७४ सालमा प्राधिरकणमा आएका उनले यसभन्दा अघि नापी विभागअन्तर्गत कार्यालयमा ८ वर्ष रहेर काम गरे । सेवाकै शिलशिलामा आविष्कार सर्भेयरका रुपमा तानसेन नगरपालिका (पाल्पा), बुटवल, नवलपरासीमा पनि पुगे ।
सर्भेयरको जागिर आफैँमा खतरा हो । कतिखेर के हुन्छ केहीँ पत्तो हुँदैन । जग्गा, नापजाँच गर्न वनजंगल, खोलानाला, भीर पाखा जता पनि जानैपर्ने । यी सबै खतरा त एक ठाउँमा छँदैछन्, यी खतराभन्दा ज्यादा यात्राका क्रममा देखेका जनजीवनको विजोग देख्छन् आविष्कार कला । र, साथ लिन्छन् कलम र नोट कापीको । अनि थाल्छन् कविताका शब्द, लयको लम्बाइ नाप्न । लिजर टाइमलाई सदुपयोग गरौँ भन्ने भन्दा पनि देशको जल्दाबल्दा घटनालाई शब्दमार्फत उठान गर्नैपर्छ भन्ने लाग्छ उनलाई ।
कित्ता नापीको काममा विभिन्न भेगमा पुग्दा उनको जनतासँग प्रत्यक्ष भेटघाट हुन्छ । अत्यन्तै कठीनको काम, विकास निर्माणको पहिलो खुड्किलो भनेर चिनिने सर्भे गर्न कहिले वनजंगल, खोला, डाँडाकाँडा त कहिले भीरपाखामा पनि जानुपर्ने तितो अनुभव छ । यद्यपि, कठीनको काम र यात्रापछि पनि उनी आफ्नो रुचिमा अडिग छन् ।
उनी भन्छन्, ‘प्राविधिक भएर विभिन्न भेगमा पुग्दा त्यहाँका बासिन्दा, मौलिक कला, संस्कृति, भाषा, भेषभुषा, रहनसहनले मन छुन्छ । ती क्षेत्रमा प्राविधिक रुपमा खटेर काम गर्दा जति कठीन छ त्योभन्दा ज्यादा कठीन त्यहाँको जनजीवन देख्छु । जुना नापोले नाप्न सकिँदैन, गहिरिएरै डुबुल्की मार्नुपर्छ ।’
Advertisement 2
पश्चिमका आविष्कार कलासँग पूर्वमा सर्भे गर्न जाँदा एक खाले फिलिङ्स आएको थियो कि पश्चिमभन्दा पूर्वमा अलि विकास होला ! तर, ताप्लेजुङ पुगेका उनले पनि त्यहाँ पनि विकासको हालत उस्तै पाए । तैपनि काममा त खट्नु नै थियो । यसरी पूर्वका स्थानीय मानिसहरुसँग मिसिएर काम गर्दा उनलाई हाक्पारे भाकाले तान्यो । र, लेखे गीति कविता । उक्त पूर्वेली लोकभाकाको गीत चाँडै बजारमा आउँदैछ ।
Advertisement 3
विशेषगरी गीति लयमा कविता लेख्ने उनको पछिल्लो नयाँ गीति कविता हो, ‘यही माटोमा ।’ हालसम्म उनका ४ वटा गीतहरु बजारमा आइसकेका छन् । ‘सीमाना अतिक्रमण भयो खबरदार,’ ‘सगरमाथा गर्वको छाती’ लगायत थुपै्र कृतिहरु प्नि बजारमा आइसकेका छन् । जुन कृतिले उनको परिचयमा इट्टा थपिदिएको छ ।
अध्ययन र लेखनमै रमाउने आविष्कारको पछिल्लो नजर जताततै बनेका ‘भ्यूटावर’ मा गएर ठोक्कियो । सामाजिक सञ्जाल, मिडिया जताततै टावरै टावरै । अनि लेखे ‘भ्यूटावर’ शिर्षक नै दिएर कविता । सर्भे अधिृकत आविष्कारलाई भ्यूटावर बनाउनुको कुनै औचित्य देख्दैनन् । भन्छन्, ‘अनावश्यक बजेट खर्च गरेर बनाइएका भ्यू टावरको अर्थ के ? विकासको चरणमा हिँडिरहेको नेपालको पहिलो प्राथमिकता त स्वास्थ्य, शिक्षा, यातायात नपुगको ठाउँमा पर्याप्त पुर्याउनु हो नि । भ्यूटावर त कुनै थुम्को, डाँडालाई पनि लिन सकिन्छ । अर्थात कृत्रिम भ्यूटावर नै बनाउन जरुरी छैन ।’
सर्भेयर भएको नाताले भ्यूटावर किन ? कस्का लागि ? के का लागि ? यस्ता थुप्रै प्रश्न उनीसँग छन् । तर, अहिले राजनीतिक वृत्तमा भ्यूटावर नै उद्घाटन गरेर चुनावी एजेन्डा बनाइएको छ । आविष्कार कलाको भाषामा भन्ने हो भने भ्यूटावर त प्राकृतिक थुम्काबाटै देख्न सकिन्छ, कृत्रिम भ्यूटावर बनाउन जरुरी छैन । यहीँ भ्यूटावरलाई विम्व बनाएर आविष्कारले एउटा सुन्दर कविता कोरेका छन् ।
१० देखि ५ बजेसम्म काममा व्यस्त रहने आविष्कारको नसामा यो समयभित्र सर्भेयरको रगत, पसिना बग्छ । त्यसपछि साहित्यको । साहित्यमा रम्ने समयको व्यवस्थापन कसरी गरिन्छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘हरेक समय फिल्डमै हुन्छु । फिल्डमा खट्दा विभिन्न ठाउँमा गइन्छ/पुगिन्छ, जाँदा/पुग्दा सानो चक्षुले देखेका सानसाना कुराले दिमागमा हिर्काउछ । अनि नोटमा उतार्छु । बसेरै लेख्छु भनेर समय छुट्याएको छैन ।’
यहीँ सन्दर्भमा आविष्कारसँग एउटा रोचक प्रसंग छ । नयाँबानेश्वरबाट माइतीघर निर आउँदा झण्डा फरफराएको देखे अनि फुर्यो कविताको शिर्षक – ‘खबरदार विस्तारवाद’ । आन्दोलन भइरहेको माइतीघरमा रोकिएर ४ लाइन कविता कोरे । भद्रकाली आउनै लाग्दा कविता लगभग पूरा भइसकेको थियो । अफिस आइसकेपछि त कविताको भाव, लय, अर्थ सबै तयार भयो । उनीसँग ३० मिनेटभन्दा कम समयमै हिँड्दा हिँड्दै कविताको रचना गरेको ताजा याद पनि छ । उनी भन्छन्, ‘कुन घटना, दृश्य र अवस्थाले कतिखेर हिट गर्छ थाहै हुँदैन ।’
अहिले प्राधिकरणका कार्यरत कर्मचारीहरुमध्ये साहित्यमा रुचि राख्नेहरुका लागि भाव पोख्ने एउटा विद्युतकर्मी साहित्यिक समाज नामक संस्था पनि छ । संस्थाद्वारा ‘अमर ज्योति साहित्यिक त्रैमासिक पत्रिका प्रकाशित हुन्छ । उक्त संस्थाको सदस्य छन् आविष्कार कला । हाल साहित्यिक समाजमा २९२ जना साधारण सदस्य रहेका छन् । २०५६ मा स्थापना भएको यस साहित्यिक समाजको मूल ध्येय साहित्य क्षेत्रमा रुचि राख्ने कर्मचारीका रुचि र प्रतिभालाई मलजल गर्नु नै हो । संस्थाले निकाल्ने पत्रिकाको संरक्षकमा प्राधिकरणका कार्यकारी निर्देशक (हाल कुलमान घिसिङ) छन् ।
आविष्कार कला एउटा नदी हुन् जस्लाई छेकेर, बाँध हालेर न छेक्न सकिन्छ न सम्भव नै छ । रुचि छ, भने पेशाले मात्र रोक्दैन भन्ने उनी उदाहरण हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा कथन छ– जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि ।
यो पूरानो कथन आविष्कार कलाको हकमा पूरै फेरिन्छ । उनका हकमा लागू हुन्छ– जहाँ पुग्दैनन् ‘रे’, त्यहाँ पुग्छन् सर्भेयर । ‘रे’ को अर्थ प्रकाशको किरण पुञ्ज । रे बनेर उनीजस्ता सर्भेयर झाडी, सुरुङ जहाँ पनि पुग्दछन् । तर, आविष्कार कला भने सर्भेयरसँगै ‘रे’ बनेर गहिराईमा डुबुल्की मार्न पुग्छन् । त्यसो त आविष्कारले सर्भे काव्य नै बजारमा ल्याउन लागेका छन् । यात्रामा अथक उनी सर्भेयरसँगै सधैँभर ‘रे’ बनेर बगिरहने बताउछन् ।
०००