काकीसँगको अवैद्य सम्बन्धले निम्तायो काल
अञ्जनकुमार हिमाली
हैन हजुर हैन मेरो कुनै दोष छैन । म आफ्नै श्रीमती लाई कसरी मार्न सक्छु ? श्रीमती मारिएको पीडा एकातिर अर्को तिर प्रहरी प्रशासनको हत्याराको आरोपले विक्षिप्त लमजुङ सुन्दरबजार नगरपालिका– ४ चारघरे दुराडाँडाका ध्रुव भुजेलमाथि प्रहरीले डण्डा चलाएपछि एउटा निर्दोष कसरी अपराधी करार हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हुन् सक्छ ।
अनुसन्धानको क्रममा प्रहरीले कन्चटमा पेस्तोल राखे । लौ भन कसरी मारिस को को मिलेर मारिस् ? ध्रुब डराए मर्न भन्दा बौलाउन निको भने झै ध्रुवले आफु एक्लैले मारेको बताए । पीडा सहन नसकी मैले नभएको कुरा स्वीकार गरेँ । ध्रुवले भने । ठूलै युद्द जितेझै प्रहरी ध्रुबलाई लिएर पुन घटनास्थलमा पुग्दा उनले भने अनुसार घटना प्रकृतिको छेउछन्द केही मिलेन । गाउँलेहरुलाई पनि यो घटना लोग्ने ध्रुबले गराएको भन्नेमा रत्ति विश्वाश थिएन । स्वास्नीले जाँड खाएर लोग्नेलाई पिट्दा समेत ध्रुब चुपचाप सहिबस्थे । स्वास्नीको पिटाइले उनको हात समेत भाँचिएको थियो तर एक लापेटा समेत नलगाएका उनले श्रीमती कसरी मार्न सक्छन् ? डिएसपी गंगा बहादुर थापालाई लाग्यो यो मान्छे निर्दोष छ अनि अनुसन्धानको पाटो अन्तै मोडियो।
Advertisement 1
घटनाको फेहरिस्त
वैदेशिक रोजगारीमै भएका बखत श्रीमती लक्ष्मी भुजेल तीन छोराछोरीलाई छाडेर पोइला हिँडिन् । विदेशमा हुँदा कमाएको श्रीसम्पतिको कुनै लेखोजोखो भएन । मन विरक्तिएर बसेका ध्रुबसंग संयोगले भेट भयो नवलपरासी गैंडाकोटकी धनमाया मगरसंग । उमेरले ३० पनि नकटेकी घनमाया लोग्ने पीडित । लोग्ने छोडेर बसेकी । उनै मगरलाई चालीस पार गरीसकेका ध्रुबले बिहे गरे । बाउले कान्छी आमा भित्र्याए देखिनै ध्रुवका छोराहरु हजुरबाआमासँग बस्न थाले । ध्रुव निकै मेहनती स्थानीय सुरवी गाई फर्ममा साँझ बिहान सरसफाईको काम गर्थेँ। धनमाया घरकै लुते धन्दामा व्यस्त । ध्रुव गत १ गते बिहान पनि श्रीमतीलाई ओछ्यानमै छाडेर सदा झैं साढे पाँच बजेतिर गाई फर्मको काममा हिडे । गाई फर्मको काम सकीवरी गाउँका दिननाथ न्यौपानेको घरमा दाइँ हाल्ने काममा लागे ।
ध्रुबका भाइ राजकुमार र जेठो छोरा नारायण दाइँका लागि गोरु लिन जाँदा घरको, पिंढीदेखि आँगनसम्म आलो रगतका टाटा देखें । राजकुमारले भाउजुलाई बोलाउँदा चाइँचुइँ केही आवाज आएन । भित्र छिरे भाउजु थिइनन् । दायाँ बायाँ कतै नदेखेपछि बरपर खोज्ने क्रममा रगतको डोब पछ्याउँदै जाँदा, आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको टंकी भित्र धनमाया मृत अवस्थामा फेला परिन् । राजकुमारले दाइँमा भएका आफ्ना दाइ सहित गाउँलेलाई खबर सुनाए पछि एकछिन सन्नाटा छायो ध्रुव हस्याङ फस्याङ गर्दै घर आइपुगें । सगै सुतेकी श्रीमती एकाबिहानै मृत अबस्थामा भन्ने खबरले ध्रुव छाँगाबाट खसे झै भए तर प्रहरीले पहिलो प्रहार उनैलाई गर्यो । शंका गर्नु अस्वभाविक पनि थिएन ।
पोखराका प्रहरीले कुकुर लिएर घट्नास्थलमा पुगे । मृतक महिलाको घाँटीमा पछ्यौरा कसिएको एउटा आँखा फुटेको नाकमा गम्भीर चोट लागेको । धनमाया राम्री अधबैँसे । ध्रुव भेसोटोमी गरी बसेका । धनमायासंग ठिटाहरु हासीमजा गरेपनि ध्रुबले खासै चियोचर्चो नगर्ने । तर धनमायाले पेट बोकेको कुरा भित्र भित्रै चलेको थियो । गाउँलेहरूले मुख फोर्न पनि सकेका थिएनन् । धनमाया पेट को नासो को टुंगो नलाग्दै हत्या भयो ।
स्वास्नीको हत्यारा भनेर ध्रुव भुजेललाई दोषी करार गर्न खोजिँदै गर्दा घटनास्थलमा आँफै पुगेका डिएसपी गंगा थापाको कानमा एउटा सूचना प्राप्त भएपछि, सशस्त्र प्रहरीमा भर्तिको लागि अन्तरवार्ता दिन पुगेका सागर भुजेल पोखराबाट समातिए । भुजेल ध्रुवको भतिजो । आउजाउ बाक्लै । कहिले काँही उतै खानेबस्ने । २० वर्षको ठिटो । काकीसंग मायाजाल फस्यो । अल्लारे ठिटोले नाता सम्बन्ध केही सोचेन । धनमाया र उसको अवैध उठबसको कर्तुत स्वरूप गर्भ रहनगयो । गर्भपतन गराउन पनि नखोजेको हैन तर गाउँमा सम्भव भएन । गर्भ रहेको चाल पाएदेखि नै उसले योजना बुन्यो । हत्यानै समस्याको समाधान ठान्यो । अनि सो दिन जाँतोले हान्यो ।
कसरी भयो त घटना ?
हाडनाता करणी बच्चा जन्मिने तनाव । पाप पलायो। काका बिहानै हिडे पछि सागर काकीको बेड तिर लाग्यो । धनमाया मस्त निन्द्रामा । ठण्डी को समय । साथमा थियो उसको साथी विकाश भुजेल । नाताले ध्रुवको भान्जो । धनमाया पछ्यौराले मुख छोपेर मस्त निदाएकी । यही मौका छोपी उनैको पछ्यौराले घाँटी कस्यो। अनि विकाशले पिढीको जाँतो ल्याएर टाउकामा प्रहार गरे । विकासलाई बाहिर हेर्न लगाए भने आफूले शवलाई पुरानो गोवरग्याँसको टंकीको ढक्कन खोली त्यसमा राखेर ढक्कन बन्द गरे । रगत पखाल्ने भन्दा भन्दै उज्यालो भयो गाउँले चाल पाउने ठानी सागर त्यही दिन पोखरा हिड्यो । सागरलाई आफु पक्राउ पर्नेमा कुनै शंका थिएन । प्रहरीले काकाकै ढाड मस्काउनेमा ढुक्क थियो । प्रहरीले ध्रुबलाई थिलाथिलाएको थियो नै । विकास भने रगतको दाग पखाली घरमै बस्यो। सत्यलाई जति सुकै छोप्न खोजेपनि एकदिन त पत्ता लाग्थ्यो नै । अपराधीहरू जति चलाख बन्न खोजेपनि ‘घटना घटाएको ३६ घण्टा नबित्दै हत्याराको टुंगो लाग्यो । ३ गते पक्राउ परेका उनीहरुलाई सोही दिन अदालतमा पेश गरी थप अनुसन्धानका लागि १५ दिनको म्याद थमाएको छ । १२ को पढाइ सकेर सशस्त्र प्रहरीमा भर्ती नहुन खोजेको केटो अन्तत ज्यान मुद्दामा जेलको हावा खाने भएको छ ।