पर्वतका नागरिक स्वास्थ्य बिमामा आबद्ध

पर्वत,ः स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको कूल जनसङख्याको ३५ दशमलव ५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका ७ वटा पालिकाका ४६ हजार ३ सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् ।
स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार ५ सय ७० परिवारका ४६ हजार ३ सय ९६ जना नागरिकले स्वास्थ्य बिमा गरेर उपचार सेवा लिँदै आएका छन् ।
कार्यालयका संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका ७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार ५ सय ६६ जनाले स्वास्थ्य बिमा गराएका छन् । सबैभन्दा कम महाशिला गाउँपालिकाका १ हजार ८ सय ३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा रहेका उनले जानकारी दिएकि छिन् ।
फलेबास नगरपालिकाका ६ हजार ८ सय ५९, मोदी गाउँपालिकामा ६ हजार ८ सय १, जलजला गाउँपलिकामा ८ हजार ४ सय ४४ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
गुरुङका अनुसार विहादी गाउँपालिकामा २ हजार २ सय २२ र पैयुँ गाउँपालिकामा ३ हजार ७ सय १ जनाले बिमा गरेका हुन् । वि.सं २०८० असोज १ गतेदेखि गत भदौ मसान्तसम्म १० हजार ३ सय ७९ जना बिमामा आबद्ध भएका छन् ।
वि.सं २०८० भदौ मसान्तसम्म ३६ हजार १७ जना नागरिक आबद्ध भएका थिए । स्वास्थ्य बिमाका लागि जिल्लाका ६१ वटा वडामा प्रतिनिधि खटाइएको भन्दै दर्ता अधिकारी गुरुङ सबै नागरिकलाई बिमातर्फ आकर्षित गर्न नसकिएको बताएकि छिन । उनका अनुसार जिल्लाको कूल जनसङ्ख्या मध्ये ८४ हजार ४ सय ९१ जना बिमाको पहुँचभन्दा बाहिर छन् ।
नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचीत गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाका क्षेत्रमा काम गर्ने कर्मचारीहरु बताउँछन् । वडाहरूमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिमको अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितहरुले (उपचार सेवा र औषधि) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति नहुनु, वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगी नियमित बिमकसँग नपुग्नुले समस्या भइरहेको कर्मचारीको भनाइ छ ।
अधिकांश नागरिक बसाइँसराइ गरेर अन्यत्र गइरहेको, गाउँमा शिक्षित नागरिक र युवापुस्ता नभएकाले पनि बिमा जिल्लाको जनसङ्ख्याअनुसार बिमा गराउने नागरिकको सङ्ख्या बढ्न नसकेको दर्ता सहयोगी आशङ्का श्रेष्ठले बताइन ।
जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको छ । सामान्य बिरामी हुँदा पनि अस्पताल आएर उपचार गराउन थालेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । उपचार गर्न र सिफारिस बनाउनका लागि दैनिक सयौँ बिरामी अस्पताल आउने गरेको उनले बताए ।