एउटै विद्यालयमा पढेका तीन पालिकाको प्रमुख प्रशासकीय अधिकृत
संयोग पनि कस्तो भने,एउटै विद्यालयमा पढेका तीन जना अहिले आफ्नै गृह जिल्लाको तीन वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । म्याग्दी जिल्लाको मङ्गला, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु एउटै गाउँपालिकाको हुन । एउटै विद्यालयमा अध्ययन गरेका । उनीहरु तिनै जना बेनी नगरपालिका–६ अर्थुङ्गेमा जन्मिएका हुन । अहिले मङ्गला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मनोहर ढुङ्गाना कार्यरत छन् भने रघुगङ्गाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् अमृत सुवेदी र धवलागिरि गाउँपालिका हाक्दैछन्, पूर्णबहादुर खत्रीले ।
Advertisement 1
६ वटा स्थानीय तह रहेको म्याग्दीमा तीन स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत एउटै गाउँ र एउटै विद्यालयमा पढेका म्याग्देली नै बनेका छन् । मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना २०७३, रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी २०७४ र धवलागिरिका प्रमुख प्रशासकीय अधिकृत खत्री २०७८ मा शाखा अधिकृतमा नाम निकालेका हुन । रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले २०६९ सालमा खरिदारबाट निजामती सेवामा पाइला राखेका थिए उनी नासु हुँदै अधिकृतका रुपमा कार्यरत छन् । यस्तै मङ्गलाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले २०६८ सालमा न्याय सेवातर्फ खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए ।उनी पनि सुब्बा हुँदै अधिकृतका रुपमा कार्यरत छन् ।
यता धवलागिरिका खत्री २०७२ सालमा नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका थिए । तीनैजना अधिकृतले अर्थुङ्गेकै जामुनाखर्क माविबाट विद्यालय तहको पठनपाठन गरेका थिए ।मुनाखर्क मावि नमुना विद्यालयमा छनौट भएको विद्यालय हो । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले जमुनाखर्क माविसहितका विद्यालयलाई नमुना विद्यालय छनौंट गरेको थियो ।
जामुनाखर्कमै अध्ययन गरेका नगेन्द्र सुवेदी अहिले थासाङ गाउँपालिका हाक्दै छन् भने यसोदा सुवेदी पर्वतको फलेवास नगरपालिकामा शाखा अधिकृतको जिम्मेवारीमा छिन् । यस्तै शान्ति सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृतका रुपमा कार्यरत छिन् ।