प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कैलालीले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
युवा संघले विभिन्न ११ वटा माग राख्दै प्रमुख प्रशाकीय अधिकृतलाई मागपत्र समेत बुझाएको छ । युवा संघ नेपालले माग पुरा नभएसम्मका लागि आचार्यको कार्यकक्षमा तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष शिवराज चन्दले बताए ।
सवारी साधन मनोमानी ढंगले दुरुपयोग गरेको, नगर कार्यपालिकालाई बन्धकमा राखि समयमा नगर सभा नगरेको, कार्यालय प्रमुख आफ्नो हैसियतमा नबसेर नगरवासीलाई च्यालेन्जिङ शब्द प्रयोग गरी नगर कार्यपालिकालाई सामाजिक सञ्जालमा बदनाम गरेको लगायत आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
आचार्य सो नगरपालिकाबाट सुदूरपश्चिमस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएरका थिए । घोडाघोडी नगरपालिकामा लक्ष्मणबहादुर कठायत सरुवा भएर आएका थिए ।
कठायत सरुवा भएर कार्यालयमा हाजिर भइसक्दापनि आचार्यले सरुवाको रमाना लिन र सरकारी क्याटर छोड्न मानेका थिएनन् । लामो समय मन्त्रालय बसेर आर्थिक लेनदेनमा सरुवा भएको केही दिनभित्र पुनः घोडाघोडी नगरपालिकामा सरुवा भएर आएको बताइन्छ ।