अर्वपति खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका अर्वपति खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने नाममा सेवाग्राहीसँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । बस्नेतलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा फागुन १२ गते नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएबापत् बस्नेतले सेवाग्राहीसँग घुस रकम लिएका थिए ।
Advertisement 1
घुस रिसवत रकम माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक बार्गेनिङ गरी घुस रिसवतवापतको रकम लिएको पुष्टि हुन आएको हुँदा निज लक्ष्मण बस्नेतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भएअनुसारको कसुर गरेकोले बस्नेतविरुद्ध १ लाख ३५ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
बस्नेत भूमि ब्यवस्थापन तथा अभिलेख विभागमा अर्बपति खरिदारका रुपमा चर्चित छन् । लामो समयदेखि बस्नेत लगातार मुद्दा फाँटमा बसी गैरकानूनी जग्गा दर्ता गरी करोडौं करोड घुस संकलन गरिसकेको कर्मचारीहरु बताउँछन । उनले धोवीखोलाको नदी उकासका सार्वजनिक जग्गाहरू पनि घुस लिएर दर्ता गरेको आरोप लाग्दै आएको छ । यस अघि नै बस्नेतविरुद्ध अख्तियारमा भ्रष्टाचार गरी आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । तर, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले उनीबाट ठूलै रकम लाभ लिएर तामेलीमा हालेका थिए । मालपोतका खरिदार बस्नेतले अस्वभाविक सम्पत्ति आर्जन गरेको भनी अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि अहिले घुससहित रंगेहात पक्राउ परेका उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
Advertisement 2
बस्नेतले यस अघि धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानूनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप छ ।
खरिदार बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले २०७३ भदौ अन्तिममा हुलाक कार्यालयमा सरुवा गरे पनि उनले २०७३ पुससम्म रमाना लिएनन् । र, माघमा तत्कालीन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीलाई घुस दिएर पुनः चावहिलमै दरबन्दी कायम गराउन सफल भएका थिए । यसरी पदीय दुरुपयोग गर्ने बस्नेत अहिले पनि चावहिल मालपोतमै असुलीमा ब्यस्त छन् ।