ब्युरोक्रेसीलाई यसरी बर्बाद बनाइयो

बचनमा जतिसुकै लोकतन्त्रको सरस्वती बसे पनि ब्यवहारमा चाहिँ हरेक सत्ताले एसम्यानलाई कसरी काखी च्याप्छ ? ०४८ को परिवर्तनपछिका प्रधानमन्त्रीहरु कोही न कोही यस मामिलामा चुकेकै छन् । बान्की हेरौं :
Advertisement 1
बलरामसिंह मल्ल रिटायर्डको मुखमा पुगिसकेका थिए । उनीभन्दा पहिले कानून सचिव तीर्थमान शाक्य घर जाने भए । ती दुईको अवकाश एकाध महिनाभित्र हुँदै थियो । शाक्यलाई जसरी पनि मुख्यसचिव बनाउन ओमकार श्रेष्ठ, रामकृष्ण ताम्राकार र अमिता कपालीहरुबाट लबिङ्ग शुरु भयो,फलतः मल्ललाई जर्मनीको लागि राजदूत बनाइयो भने शाक्यले मुख्यसचिव बन्ने मौका पाए । पदमप्रसाद पोखरेल हेरेको हे¥यै ।
सरकारले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्यो,रोलक्रम मिचेर ।बैरागीलाई प्रक्रिया मिचेरै मु्ख्यसचिव बनाइएको थियो । लोकदर्शन रेग्मीले कार्यकाल पूरा गरेर मुख्यसचिवबाट राजीनामा दिएको भए वैरागी सो पदमा पुग्न सक्ने नै थिएनन। तर रेग्मीले कार्यकाल पूरा हुन करिब २० दिनअघि नै मुख्यसचिवबाट राजीनामा गरी वैरागीलाई सो पदमा पुग्ने बाटो खुला गरिदियो सरकारले ।
Advertisement 2
रेग्मीले पूरा कार्यकाल काम गरेका भए अघिल्लो कात्तिक ६ मा मात्र अवकाश पाउँथे। परराष्ट्र मन्त्रालयका सचिव वैरागीले असोज २२ मा सेवाबाट अनिवार्य अवकाश पाउँथे। तर वैरागीलाई मुख्यसचिव बनाउन त्यसअगावै रेग्मीलाई राजीनामा गर्न लगाइयो। उनलाई बेलायतको राजदूत बनाउने आश्वासन दिएर राजीनामा गर्न लगाएको हो। निजामती सेवा ऐनमा कार्यकाल पूरा हुनुअघि बहालवाला मुख्यसचिवले राजीनामा दिनुपर्ने व्यवस्था छैन। यसअघि एकजना बहालवाला मुख्यसचिवले कार्यकाल पूरा हुनअघि राजीनामा दिएका थिए। २०७३ सालमा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले कार्यकाल पूरा हुन १५ दिनअघि राजीनामा दिएका थिए। उनको त्यो राजीनामा पनि व्यक्तिगत स्वार्थमा आएको थियो।
रेग्मीले पूरा कार्यकाल काम गरेका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकले मुख्यसचिव बन्ने अवसर पाउँथे। सरकारले प्रक्रिया मिचेर आफू अनुकुलको व्यक्तिलाई मुख्यसचिव नियुक्त गर्नाले कर्मचारी प्रशासनमा थप चाकरी र चाप्लुसी बढ्न थालेको प्रशासनविद्हरु टिप्पणी गर्दछन् ।
परराष्ट्र सेवामा नै रहँदा अधिकांश समय विदेशमै बिताएका व्यक्ति हुन बैरागीसँग मुलुकभित्रको समग्र कर्मचारी प्रशासन बुझेको अनुभव छैन । परराष्ट्र मन्त्रालयको र विदेशी नियोगमा मात्र जागिरे जीवनमा झण्डै ३ दशक समय बिताएका बैरागीले प्रशासन र प्राविधिक सेवाका एकाधबाहेक कर्मचारी नै चिन्दैन थिए । उनी सुरुदेखि नै परराष्ट्र सेवाका कर्मचारी भएकोले उनीसँग फराकिलो ढङ्गले काम गरेको अनुभव छैन । प्रशासन, प्राविधिक, जिल्ला, तल्लो तहमा बसेको, प्रशासन सेवाजस्तो फराकिलो हिसाबले काम उनले गरेका छैनन्, जसले गर्दा स्थानीय तथा प्रदेशलगायत निकायका जनप्रतिनिधिहरूसँगको सम्बन्ध धेरै छैन भन्दथें उनलाई नजिकबाट चिन्नेजान्नेहरु । यस्तै वैरागी निर्णय क्षमतामा पनि कमजोर मानिन्छन् ।
Advertisement 3
पछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि पालोमा बसेका गृहसचिव चण्डी श्रेष्ठलाई लोप्पा खुवाएर धेरै जुनियर लोकमानसिंह कार्कीलाई मुख्यसचिव बनाइयो । तर, त्यसबेला कार्कीभन्दा माथिका कुनै पनि वरिष्ठ सचिवले खनालले र रेग्मीले झैँ राजिनामा दिएर बाहिरिने आँट गरेनन् । त्यसबखत रोलक्रममा अर्थसचिव भानु आचार्य पनि थिए । पृथ्वीनारायण शाहले आफ्ना प्रिय बिराज बखतीलाई पाखा लगाएर जनचाहनाअनुरुप कालु पाण्डेलाई सेनापति बनाएका थिए भने मुमा बडामहारानी रत्नको बचन हार्न नसक्दा ज्ञानेन्द्रले चण्डीलाई थला पारी लोकमानलाई च्यापे ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि मुख्यसचिवको ‘गेम प्लान’ रचेका थिए तर, त्यो सफल हुन सकेन । उनले त्यसबेलाका मुख्यसचिव लीलामणि पौडेललाई हटाएर अर्को व्यक्तिलाई मुख्यसचिव बनाउन धेरै कोशिस गरे । पौडेललाई राजिनामा दिएर राजदूतमा जान पटक पटक दबाब दिएका थिए तर उनले प्रधानमन्त्री कोइरालालाई एकपटक ‘म तोकिएको कार्यकाल पूरा गर्छु । राजिनामा दिन्नँ । बाँकी के गर्नुपर्छ गर्नुस्’ भनिएपछि उनलाई हटाउने प्रयत्न त्यत्तिकै तुहियोे ।
हुन त ०६३ सालको ब्याचबाट २७ मध्ये ७ नम्बरका पौडेललाई मुख्यसचिव बनाएका प्रधानमन्त्री बाबुराम भट्टराईले पनि रोलक्रमको पालना गरेका थिएनन् । त्यतिबेला पहिलो नम्बरमा शंकर कोइराला र सुशील जंगबहादुर राणाहरू थिए । लीलामणिलाई टिपिएपछि माथिका ६ जनाले एकै चोटी राजीनामा दिए ।
सुशीलले जयमुकुन्द खनाललाई पन्छाएर विश्वप्रकाश पण्डितलाई तान्न खोजेका थिए । रणनीतिअनुसार श्रीधर गौतमलाई नेपाल ट्रष्ट काण्डको बिल्ला भिराएर डामिएको थियो । खनाललाई एमालेतिर झुकाव राखेको आरोप लगाउँदै पण्डितलाई बनाउन खोज्दा वामदेव गौतमलगायतका मन्त्रीहरूबाट विरोध भयो । उता जनक जोशीहरुलाई माधव घिमिरेलाई ल्याएर हिस्स पारियो ।
डा. सोमलाल सुवेदी जसरी मुख्यसचिव बने बहिर्गमन पनि त्यसैगरी भयो । लोकदर्शन रेग्मीलाई जसरी पनि मुख्यसचिव बनाउनुपर्ने दबाबमा सरकार परेपछि सुवेदीलाई राजिनामा दिन लगाएर मनिलास्थित एसियाली विकास बैंकको सहसचिव जाने पदमा पठाइयो । त्यसका लागि सुवेदीको राजिनामा लामो समयसम्म स्वीकृत गरिएन, जसका कारण बीचमा रहेका धनबहादुर तामाङ्ग पालो कुर्दाकुर्दै घर गए । त्यसपछि केही महिनाको लागि राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाएर रेग्मीको बाटो खुलेको हो ।
यी सबै घटनाक्रमलाई हेर्दा ब्युरोक्रेसीमा आफू अनुकूल मुख्यसचिव बनाउने, एउटालाई राजिनामा दिन लगाएर अर्कोलाई नियुक्त गर्ने, राजदूतको ललिपप देखाएर मुख्यसचिव खुस्काउने काम अहिले मात्रै होइन प्रायः सबै प्रधानमन्त्रीले गरेको देखिन्छ ।
कर्मचारीको पदस्थापनमा पनि उसको विशेषज्ञता र इमान्दारितालाई ध्यानमा राख्नुपर्नेमा अहिले त्यो सेलाउँदै गएको छ । यी सबै घटनाक्रम र उथलपुथलले कर्मचारीहरू बिस्तारै ‘एस पर्सन’ बन्दै गएका छन् । निजामतीलाई सशक्त बनाउनको लागि मनोबल दह्रो र उच्च राख्नुपर्नेमा अहिले त्यसको ठीक विपरित भएको छ ।
सचिवहरूलाई निर्भिक ढंगले आफ्नो कुरो राख्न पाउने वातावरण बनाइदिएको भए सम्भवतः यति, ओम्नी,बतासलगायतका लगायतका समूहसँग जोडिएका प्रकरणमा मन्त्रीलाई पहिल्यैं सजग गराउने अवस्था आउँथ्यो । तर, मन्त्रीको अगाडि सचिवहरूले लत्तो छाडिदिँदा सरकारी निर्णय खरानीमा परिणत भएको बताइन्छ । निर्णय प्रक्रियामा सचिवहरूलाई राय बझाउन दिएको भए सम्भवतः धेरै प्रशासनिक निर्णयमा कमजोरी हुन सक्दैनथ्यो ।