प्रेरणादायी संघर्ष :-सहोदर दिदी बहिनी एकसाथ यसरी बने शाखा अधिकृत
निजामती सेवाभित्र अनेकन संघर्ष र सफलताका प्रेरणादायी कथाहरु पढ्न पाइन्छ । त्यसमा पनि एकाघरका सातै सन्तान सरकारी जागिरे भएका,दाजु र बहिनी र सचिवको ओहदामा कार्यरत रहेका,दाजु भाई नै सचिव,श्रीमान श्रीमती नै प्रमुख जिल्ला अधिकारी बनेर जिल्लाको कमाण्ड गरिसकेका खबरहरु यस अघि सार्वजनिक भइसकेका छन् ।
यस पटक अलि फरक पारिवारिक कथा सार्वजनिक भएको छ,एकाघरका दिदीबहिनीले एकै पटक शाखा अधिकृतमा नाम निकालेर ।
Advertisement 1
लामो समयदेखि रोकिएको शाखा अधिकृतको नतिजा हालै मात्र सार्वजनिक गरेको छ,लोकसेवा आयोगले । सर्वाेच्च अदालतले रोकिएका अधिकृत तहका नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै लोकसेवा आयोगले ४८५ जना शाखा अधिकृतको नतिजा सार्वजनिक गर्यो । जहाँ स्याङ्जा जिल्लाबाट मात्र ३४ जनाले शाखा अधिकृतमा नाम निकाल्न सफल भए भने कञ्चनपुर जिल्लाबाट मात्र १० जनाले नाम निकाल्न सफल भएका थिए ।
अधिकृतमा सिफारिस भएकाहरुको नियुक्ति पत्र र पदस्थापन गर्ने क्रममा सोही जिल्लाका एकाघरमा दिदी बहिनीले अधिकृतमा नाम निकाल्न सफल भएको भेटियो ।
उनीहरु हुन पार्वती र बसन्ती भट्ट ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका यी दिदी बहिनीले एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएपछि अहिले चर्चामा छन् । पहिलो प्रयासमै नाम निकाल्न सफल भएका २६ वर्षीया पार्वती भट्ट र २५ वर्षिया वसन्ती भट्टले एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन् । अहिले उनीहरु दिदी बहिनी नै संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिएको छ । मन्त्रालयले दिने तालिम सकिएपछि अर्को ठाउँमा पदस्थापन हुनेछ ।
Advertisement 2
सामान्य पारिवारिक पृष्टभूमिका यी दिदी बहिनी साँहिली र कान्छी छोरी हुन । पार्वती साइली र वसन्ती कान्छी । उनीहरुका जेठी दिदी जयन्ती माध्यमिक तहको शिक्षक,माइली दिदी विष्ना शिक्षक सेवा आयोग तयारी गरिरहेकी छिन् ।
दुई दाजुहरुमध्ये जेठो जीवन अधिकारकर्मी र पुष्प अमेरिकामा छन् ।
Advertisement 3
पार्वती १९ वर्षकै उमेरमा खरिदार सरह सहायक महिला विकास निरीक्षकका रुपमा निजामती सेवामा प्रवेश गरेकी हुन । उनको पदस्थापन भयो कञ्चनपुर महिला तथा बालबालिका कार्यालयमा । कर्मचारी समायोजन हुँदा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा । दुई बर्ष अघि स्थानीय तहको सुब्बा सरह विविधतर्फ ५ औँ सहायकस्तर महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वती बेलौरी नगरपालिकामा कार्यरत थिइन ।
यस्तै बसन्तीले ०७६ मा स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालेर बेलौरी नगरपालिकामा वडा सचिवको जिम्मेवारी पाइन ।
संयोग, दुवै दिदीबहिनीको पदस्थापन कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा भएको थियो । उनीहरु दिदी बहिनी दुबैले सँगसँगै शाखा अधिकृतको तयारी थाले र सफलता पनि पाए ।