माथिल्ला तहका कर्मचारीले दिएको निर्देशन नमान्ने कर्मचारी तत्काल बर्खास्त

भोजपुरको रामप्रसादराई गाउँपालिकाले माथिल्ला तहका कर्मचारीले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि अहिले हलचल मच्चिएको छ । सो पालिकाको हिजो बसेको नवौं गाउँसभा अधिवेशनले विभिन्न १४ वटा निर्णय गरेको छ ।जसमध्ये निर्णय नम्बर १० मा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय भएको छ ।
Advertisement 1
सो निर्णयमा भनिएको छ,करार सम्झौता गर्दा स्पष्ट रुपमा कार्यविवरण र जिम्मेवारी तोकेर सम्झौता तथा नवीकरण गर्ने । कार्यविवरण र जिम्मेववारी पालना नगर्ने,प्रमुख प्रशासकीय अधिकृत र आफूभन्दा माथिका कर्मचारीले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने । साथैं करार सेवामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन स्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ मा भएको कानुनी व्यवस्था बमोजिम मात्र करार सेवामा कर्मचारी व्यवस्थापन गर्नेसमेत जनाएको छ ।
सो पालिकाले वेव साइडमा उल्लेख गरे अनुसार त्यहाँ २७ जना कर्मचारी कार्यरत रहेका छन् ।
माथिल्ला तहका कर्मचारीले अह्राएका नमान्ने करारका कर्मचारी मात्र हटाउने वा स्थायी पनि ? इकर्मचारीले प्रमुख प्रशासकीय अधिकृत बाबु नन्देन मेहतालाई यस बिषयमा जिज्ञासा राख्दा ‘उनले स्थायी कर्मचारीहरु स्थायीलाई ऐन अनुसारलाई हटाइने र करारका कर्मचारीको हकमा सम्झौतामै लेखिएको हुँदा सोही अनुसार हुने प्रतिक्रिया दिए । कर्मचारीहरुलाई माथिल्लो तहबाटै संरक्षण हुन्छ । काम लगाउन पनि सकिँदैन । त्यही कारण हामीले कर्मचारीलाई जबाफदेही बनाउन खोजेका हौं । संघीय सरकारले पठाएको मापदण्ड अनुसार गर्न खोजेका मात्र हौं,अरु केही होइन ।’