हाम्रा जनप्रतिनिधि :- नागरिकता किर्ते गर्नेदेखि डिभी परेर अमेरिका भासिनेसम्म !
दैलोको सिंहदरबारका मानिएको स्थानीय तहमा जनप्रतिनिधि कस्ता छानिएछन् भने कोही नागरिकता कीर्तेमा डामिएर जेलमा सडिरहेका, कोही डिभी भरेर अमेरिकातिर पुगेर डलर सोहोरिरहेका त केही कोरियातिर भासिएका त कोही अख्तियारबाट डामिएका ।
यस्तै कारण पछिल्लो एक बर्षको अवधिमा मुलुकका ७५३ स्थानीय तहमध्ये ४५ तह जनप्रतिनिधिविहिन । ४५ मध्ये कोही नागरिकता कीर्ते अभियोगमा डामिएर,कोही अख्तिायरको फन्दामा परेर त कोही डिभि परेर अमेरिका भासिएका छन् । कोही वडा अध्यक्षको जागिर हापेर वैदेशिक रोजगारीका लागि कोरिया पसेका छन् । एक जनाले राजीनामा ठोकका छन् भने अधिकांश मृत्यु भएका छन् ।
जस्तो खाँदबारी नगरपालिका ५ का वडा अध्यक्ष वम बहादुर घले वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पसेपछि वडाअध्यक्ष विहिन बन्न पुगेको छ । दुई बर्षदेखि सो स्थानीय तह अध्यक्षविहिन छ । उस्तै हालत छ मकवानपुरको भीफेदी गाउँपालिका ८ मा । त्यहाँका वडाअध्यक्ष जगतमा घिसिग डिभी परेर अमेरिका भासिए । उनले गत बर्ष भदौं १ मा पदबाट राजीनामा दिए पनि स्वीकृत भएको छैन् । तर उनी अमेरिका पसेर डलर सोहरिरहेका छन् ।
Advertisement 1
यस्तै तनहुँस्थित भानु नगरपालिका ५ का वडा अध्यक्ष प्रकाश मल्ल नागरिकता कीर्तेको अभियोगमा जेलको चिसो हावा खाइरहेका छन् । गत साउन २२ देखि सो तह पनि जनप्रतिनिधिबिहिन छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका ७ का वडाअध्यक्ष धर्मराज यादव र सम्मरीमाई गाउँपालिका ५ का वडाअध्यक्ष श्रवण कुमार यादव अख्तियारद्धारा निलम्बनमा परेसँगै ती दुई स्थानीय तह वडा अध्यक्षविहिन छन् । यी बाहेकका अधिकांश स्थानीय तह रिक्त हुनुको कारण जनप्रतिनिधिको मृत्यु हो । फिदिम नगरपालिका ५ का वडा अध्यक्ष लिलाराज तुम्बापोको प्राण गएपछि ०७६ चैत्र २१ देखि सो स्थानीय तह रिक्त छ । यस्तै बिर्तामोड नगरपालिका ७ का वडाअध्यक्ष गंगा बहादुर भट्टराई ०७६ मंसिरदेखि,संखुवासभाको चैनपुर नगरपालिका २ का वडा अध्यक्ष काजी शेर्पा ०७६ कार्तिकमा बितेसँगै सो स्थान पनि रिक्त छ । यसरी प्रदेश एकमा ९ स्थानीय तह रिक्त छ ।
प्रदेश २ मा सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका ५ नम्बर वडा,त्यस्तै रुपनी गाउँपालिका ६ र सुरुग्वा नगरपालिका १ जनप्रतिनिधिबिहिन छ । यस्तै धनुषाको मिथिला नगरपालिका ७,महोत्तरीको भगाहाँ नगरपालिका ८,रौतहटको ईशनाथ गाउँपालिका ५,राजदेवी नगरपालिका २,बाराको कलैया उपमहानगरपालिका ५,पर्साको कालिकामाई गाउँपालिका १ सहित ९ वटा स्थानीय तह रिक्त छ ।
यस्तै बाग्मती प्रदेशमा ४ स्थानीय तह जनप्रतिनिधिबिहिन छन् । मकवानपुरको भीमफेदी गाउँपालिका ८ का जगतमान घिसिंग अमेरिकातिर भासिएका हुन् भने मनहरी गाउँपालिका ३ र चितवनको भरतपुर महानगरपालिका २० र राप्ती नगरपालिका ११ रिक्त छन् । गण्डकी प्रदेशका भानु नगरपालिका ५ र बाग्लुंगको बेरग गाउँपालिका ३ गरी २ स्थानीय तह जनप्रतिनिधिबिहिन छ । यस्तै लुम्बिनी मा ११, कर्णाली मा ४ र सूदुरपश्चिम मा ७ स्थानीय तह जनप्रतिनिधि विहिन अवस्थामा चलिरहेको छ ।
संविधानले जनप्रतिनिधिहरुको कार्यकाल एक बर्ष वा सोभन्दा बढी हुँदा नै मृत्यु भएमा वा केही कारण रिक्त भएमा पुन उपनिर्वाचन हुने व्यवस्था गरेको छ । धारा २१६मा नगरपालिकाको प्रमुख अथवा उपप्रमुखको कार्यकाल सकिनु एक बर्ष वा अगावै मृत्यु भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षको हकमा पनि संविधानको उपधार ९ ले बोलेको छ ।
कतिपय स्थानीय तह जनप्रतिनिधिविहिन दुई बर्ष व्यतित भइसकेको छ ।
Advertisement 2
निर्वाचन आयोगले उपनिर्वाचन गर्ने प्रयाश किन गरिरहेको छैन त ? प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग सोधनी हुँदा भने, रिक्त स्थानीय तहहरु वैकल्पिक व्यवस्थाले (उपमेयर वा उपप्रमुख लगायतबाटै) काम चलिरहेको,ती स्थानीय तहहरुमा काम नरोकिएका कारण उप निर्वाचनको खाँचो भएन, निर्वाचनप्रति उनीहरुलाई रुची भएको खण्डमा आयोग तयारी अवस्थामै रहेको थपलियाले सुनाए । यस अघि अघिल्लो बर्ष १४ मंसिरमा उपनिर्वाचन भएको थियो । त्यतिबेला विभिन्न कारणले रिक्त ३ प्रदेशसभा सदस्य,१ प्रतिनिधिसभा,१ नगरपालिका प्रमुख, १ गाउँपालिका अध्यक्ष,२ जना गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्षका लागि निर्वाचन भएको थियो । अहिले पनि निर्वाचन गर्न सकिन्छ तर ताप्केमात्र तातेर भएन् बीँड तात्दैन ।
०००