दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं। कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने जनाएको हो।
Advertisement 1
प्रतियोगिताको औपचारिक उद्घाटन हुनुअगावै खेल सञ्चालन हुने भएको राखेपले जनाएको छ। खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुनेछ। प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीले सहभागिता रहने छ। दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन्। प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन्। जसमा सुर्खेतमा २३ खेल आयोजना हुनेछन् भने नेपालगञ्ज, बर्दिया र सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन्।
Advertisement 2
प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्। राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ। जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु ८ हजार पाउनेछन्।
त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु ८ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन्। त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ। प्रतियोगिताको समापन भने मङ्सिर २७ गते सोही स्थानमा हुनेछ।









