जिल्ला कारागारमा एक वर्षदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

सङ्खुवासभा। जिल्ला कारागार सङ्खुवासभामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ। अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएकाले स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको जिल्ला कारागार खाँदबारीका सूचना अधिकारी जीवराज राईले बताए।
Advertisement 1
कारागारमा विसं २०८२ साउनदेखि स्वास्थ्यकर्मी नहुदाँ कैदीबन्दीको उपचार तथा औषधि व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाइ छ। स्वास्थ्यकर्मीको दरबन्दी भए पनि सरुवा भएर अन्यत्र गएपछि करिब १४ महिनादेखि जनशक्ति अभाव भएको उनले बताए।
लोकसेवा आयोगमा माग गरेको भए पनि हालसम्म दरबन्दीअनुसार स्वास्थ्यकर्मी नपठाएको कारागारका सूचना अधिकारी राईले बताए। दरबन्दीका स्वास्थ्यकर्मी सरुवा भएर गएपछि उपचारमा समस्या भएको हो। चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको छ।
Advertisement 2
दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नहुँदा बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नाका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ। कारागारमा १५ जनाले नियमित औषधि सेवन गर्दै आएका छन्।
खाँदबारी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
Advertisement 3
जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ। ‘घ’ श्रेणीको जिल्ला कारागारमा ५५ जना क्षमता भए पनि १५३ कैदीबन्दी राखिएको छ। यहाँ १४५ पुरुष, आठ महिला र एक जना आश्रित बालबालिका रहेका कारागारका सूचना अधिकारी राईले जानकारी दिए।
कारागार ३.५ रोपनी क्षेत्रफल फैलिएको छ। बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ। क्षमताभन्दा बढी कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्ने पनि समस्या हुने गरेको कैदीबन्दीको भनाइ छ। कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि माथिल्लो सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ भएको छैन।









