भ्रष्टाचारमा अल्मलिएको देश

चाणक्यले भ्रष्टाचारलाई रोग मात्र भनेनन् , सोख पनि हो भनेका थिए । उनले भनेका थिए,’भ्रष्टाचारले प्रवृति विगार्छ,सानो चोरले नै पछि ठूलो चोरी गर्न थाल्छ। ठूला चोरी र भ्रष्टाचार हुन नदिनलाई साना चोरहरुलाई दण्डित गर्नुपर्छ र प्रवृति बिग्रन दिनु हुँदैन ‘। शुरुदेखि नै शासनमा सदाचार कायम गर्नुपर्छ भन्ने उनको भनाइ थियो । साना चोरी र भ्रष्टाचारको प्रतिनिधित्व शासनमा नेतृत्वले गर्न थालेपछि यसले भयानक रुप लिन्छ र चोरी र भ्रष्टाचार संस्थागत हुन्छ भन्ने उनको मान्यता थियो ।भ्रष्टाचार नियन्त्रण गर्ने एउटै उपाय नैतिकता र सदाचार नै हो भन्नेमा चाणक्यको जोड थियो ।
Advertisement 1
बाह्रौ शताब्दीपछि जनताको अधिकार, मानवअधिकार, जनप्रतिनिधिहरु र जनतालाई सर्वोच्च मान्ने धारणा सगै क्रमशः शासन दुषित हुँदै गयो । पन्ध्रौं र सोह्रौं शताब्दीमा राजतन्त्रहरु संस्थागत हुन थाले र निरङ्कुश राजतन्त्रले जनताको शोषण गर्न थाल्यो । जनताले राजालाई भगवानको अवतार र अविछिन्न शासक मान्न थाले। जसले गर्दा शासकहरु व्यभिचारमा चुर्लुम्म डुबे। यसैको पृष्ठभूमिमा १९ औं शताब्दीसम्म विश्वमा प्रजातन्त्रको लहर आयो। यसले अनेक प्रकारका प्रतिनिधित्व प्रणाली र निर्वाचन पद्धतिको विकास गर्यो ।र, शासकहरुको निरंकुशतामा भ्रष्टाचार संस्थागत हुँदै गयो ।
चाहे त्यो उपनिवेश, साम्राज्यवाद, वा पुँजीवाद वा साम्यवादको संस्थागत विकासका नाममा होस, शासकहरु भ्रष्टाचारबाट शुद्ध रहन सकेनन। उन्नाइसौं शताब्दीको प्रजातान्त्रिक शासनमा शासकले शासनलाई भजाउने प्रवृत्ति, बीसौं र एक्काइसौं शताब्दीको विश्वव्यापीकरणले भ्रष्टाचारी र चोरी गर्नेलाई मानवअधिकारको रुपमा व्यक्तिगत अधिकारको संरक्षण गर्दा ठूल्ठूला भ्रष्टाचार र चोरीहरूको संरक्षण हुन थाल्यो ।अहिले पनि हुँदैछ। यसैको विकृतिबाट बच्न चीन तथा मुस्लिम राष्ट्रहरुले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने र भ्रष्टाचार शून्य सहनशीलताको नीति लिएका छन् ।थुप्रै देशहरुमा भ्रष्टाचारीलाई फाँसीको सजाय दिइन्छ। मृत्युदण्ड दिइन्छ तर अझै पनि मानवअधिकार र प्रजातन्त्रवादीहरुले व्यक्तिगत अधिकार र कानुनको शासनको संरक्षणको रुपमा यसलाई स्वीकार्दैनन् ।
Advertisement 2
२० औं शताब्दीको पूर्वार्धसम्म चोरी र भ्रष्टाचारलाई महाअपराध मानिन्थ्यो । समाजमा चोरको इज्जत थिएन। राणाशासनमा चोरलाई डाँडा कटाउथे र समाजले हेला गर्थ्यो।त्यसैले मानिस चोरी गर्न डराउँथ्यो। सबै धर्मशास्त्रमा चोर ,भ्रष्टाचारीलाई पातकीको रुपमा हेरिन्छ। समाजमा चोरी गर्नेले कुनै प्रतिष्ठाका पाउँदैनथ्यो । त्यतिखेर कानुनभन्दा आदेश कडा थियो । जङ्गबहादुरले भ्रष्टाचारीलाई चारजना साक्षी राखेर काटिदिए हुन्छ भनेका थिए।
राणाशासनमा भ्रष्टाचारी चोरी र व्यभिचारीलाई कडा कारबाही थियो ।मानिस भोकै बस्थ्यो तर चोरी ,भ्रष्टाचार गर्न डराउँथ्यो। समाजले भ्रष्टाचारीको इज्जत गर्दैनथ्यो । राणाकालमा भ्रष्टचार भन्दा पनि सम्पत्ति नै उनीहरूको थियो। पारिवारिक सम्पत्तिको रुपमा राज्यकोषको प्रयोग गरिन्थ्यो। जनता शोषित थिए । राणा परिवार भित्रको कसैलाई षड्यन्त्र गर्नुपरेमा चोरी वा भ्रष्टाचारको अभियोग लगाएर डाँडा खटाइन्थ्यो । सरकारी सम्पतिको दोहन गर्ने प्रवृति शासकहरुमा थियो ।यस्तै आज पनि जस्ताको तस्तै देखिन्छ। २००७ सालपछि अहिलेसम्म राजनीतिले स्थायीत्व लिन सकेन। पञ्चायतकालमा दरबार बलियो थियो। थोरै शासकहरूले भ्रष्टाचार गर्थे। जो जनतलो पत्तो जनताले पाउँदैनथे। सूचना कमजोर थियो ।
Advertisement 3
०४७ सालपछि भुइँ नेताहरूलाइ जनताले विश्वास गरे । अहिलेसम्म आइपुग्दा यिनै भुई नेताहरु शासक बन्दैछन् ।जसरी राणाहरुले राज्यको सम्पति लाई ब्याक्तिगत ठाने,अहिले सबै दल र पार्टीका नेताहरू र नेतृत्वको हालत त्यस्तै छ। ०४७ सालपछि नै नीजिकरणको लहरले राजनीतिमा भ्रष्टाचार संस्थागत भयो ।सरकारी सम्पत्ति बेचियो। यो क्षेत्र उदारीकरणको लागि तयार थिएन तर उदारीकरण नीतिले निजीक्षेत्रलाई विश्वास गर्दै गयो। आज पनि गर्दैछ। पछि राजनीतिक नियुक्ति, लाभका पदमा नियुक्ति, सार्वजनिक पदमा नियुक्ति ,सरुवा, बढुवा ,ठेक्का, नवीकरण, खरिद प्रक्रियामा प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्व भ्रष्टाचारमा मुछिदै गए ।
संविधानबाट स्थापित अख्तियार ,महालेखापरीक्षक जस्ता निकायहरू सुशासनको हिसाबले, संस्थागत हुन सकेनन्। संवैधानिक निकायको नियुक्तिहरु तटस्थ हुन सकेनन्। पार्टीको समर्थक नभइ यस्ता अङ्गमा नियुक्ति हुन गाह्रो हुँदैछ। यसले समग्र शक्ति सन्तुलनमा असर गरेको छ । राजनीति पूर्वाग्रह साध्ने राणाकालिन प्रवृति देखा पर्दैछन्। यसले भ्रष्टाचार गर्ने र नगर्ने छुट्याउन सकिएन।
भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाप्रति जनताको विश्वास मर्दै गएको छ। भ्रष्टाचार गर्नेलाई उन्मुक्ति पाउने र राजनीति आधारमा उन्मुक्ति दिँने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण हुन सक्दैन । राजनीति हस्तक्षेप अदालतसम्म पुगेकै छ ।अदालत ,प्रहरी, प्रशासन कुनै पनि यसबाट अछुतो रहन सकेन ।आज कुनै पनि नेतृत्व गर्ने सरकार भ्रष्टाचारबाट मुक्त छैन । हामी पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, अफ्रिका आदि देशहरुमा ठूला भ्रष्टाचारका काण्डहरु सुन्छौं।
आज हामी पनि यस्तैमा अभ्यस्त भइसकेका छौं। अब भ्रष्टचार नगरि बाँच्न सक्दैन, पैसा खर्च नगरी सेवा प्राप्त हुन सक्दैन, काम हुनलाई आफ्नो मान्छे चाहिन्छ। पहुँच नहुनेको काम छैन। ठूलाठूला विकास निर्माणमा कमिसन नभई काम हुँदैन। उद्योगधन्दा व्यवसायमा दर्तादेखि नवीकरणसम्म खर्च गर्नुपर्छ भन्ने जनतामा धारणा नै बनिसकेको छ। समाजको प्राय सबै वर्ग इमान्दारिता, नैतिकता, सदाचार भन्दा पनि छिटो पैसा कसरी कमाइन्छ भन्ने मानसिकताले ग्रसित छ।
शासनको उत्पत्तिदेखि नै राज्य भित्रको स्रोत र सम्पत्ति दोहन गर्ने प्रवृति थियो र यो आज पनि छ। भ्रष्टाचार किन हुन्छ ? यसको कुनै वस्तुपरक जवाफ छैन । भ्रष्टाचार बाध्य भएर गरिँदैन यो प्रवृत्ति हो। भोको मान्छेले चोर्छ तर इमान्दार छ भने भ्रष्टाचार गर्दैन। भ्रष्टाचार भोक मेटाउन होइन, अघाउन गरिन्छ ।अझ अघाएकाहरुले बढी भ्रष्टाचार गर्छन्। यस अर्थमा भ्रष्टाचार गर्ने निर्दोष हुँदैन।
भ्रष्टाचार राजनीति उपज मात्र होइन ।समाजवादी ,पुँजीवादी सबै देशमा भ्रष्टाचार छ । यो कर्मचारीतन्त्रको खराबीले मात्र हुने पनि होइन ।धेरै देशका कर्मचारीतन्त्र स्वच्छ छन्। उत्तरदायी छन्। भ्रष्टाचार प्रवृत्तिले ल्याउने संस्कार हो। राजनीति अस्थिरता, खर्चिलो चुनाव प्रणाली ,अपारदर्शिता, राजनीतिमा नैतिकताको कमि, अनुत्तरदायी कर्मचारीतन्त्र ,जनताको कमजोर सचेतना, बिकास मूल्यांकन गर्ने कमजोर आधार, दण्डहिनता, गैरजिम्मेबारीपन, अनियन्त्रित बजार, विश्वव्यापीकरणका लाभलाई ग्रहण गर्न नसक्नु, कमजोर निजी क्षेत्र सबै भ्रष्टाचारका कारण हुन। हाम्रो देशमा यिनै विषयबाट शासन प्रणाली ग्रसित छ।
हामीले गर्नुपर्ने काम थुप्रै छन् ।।गरिबी धेरै छ। गरिबीमाथि बेरोजगारी थपिएको छ। अशिक्षाले समाज आक्रान्त छ।एक्काइसौं शताब्दीमा विश्व कहाँ पुगिसक्यो ? हामीकहाँका लाखौं युवाहरु रोजगारीको सिलसिलामा विदेशिएका छन्। भौतिक पूर्वाधार कमजोर छ ।सुशासन कमजोर छ ।शासनप्रति जनताको विश्वास छैन । भ्रष्टाचार , सार्वजनिक सम्पत्ति दोहनमा हाम्रा समाचार रंगिएका छन् ।
हामीले जानुपर्ने बाटो बिराएका छौ। राजनीतिक थुप्रै परिवर्तनले हामीलाई सबक सिकाएको छैन। अर्को राजनीति परिवर्तन हामी खोज्दैछौं ।आर्थिक क्रान्ति गर्नुपर्नेमा हामी भ्रष्टाचारमा अल्मलिएका छौं। राजनीतिक गुट, उपगुटमा अल्मलिएका छौं। यसरी हामी एक्काइसौं शताब्दीको चुनौतीलाई सामना गर्न सक्दैनौं । विश्व समाजबाट हामी अलग हुदैछौं। हामीलाई विश्वले हेर्ने दृष्टिकोण फरक हुँदैछ । राष्ट्रियता कमजोर हुँदैछ। यस्तो अवस्थामा अब पनि भ्रष्टाचारमा अलमलियौ भने हाम्रो कुनै गुनासो रहँदैन। अब सुशासन सम्बृदि र एक्काइसौं शताब्दीको चुनौती सामना गर्नसक्ने क्षमता सबै राजनीति प्रशासनिक र शासक वर्गमा हुनु जरुरी भइसकेको छ।
(लेखक दाहाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवका रुपमा कार्यरत हुनुहुन्छ ।)