खोज पत्रकारिता के हो ? कसरी गर्ने ?

चितवन/नेपालका वरिष्ठ खोज पत्रकार मोहन मैनालीबाट चितवनका पत्रकारहरुलाई खोज पत्रकारिता तालिम दिइएको छ । शेयरकास्ट इनिसियटिभ नेपालको आयोजना एवम् नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा गत आइतबार र सोमबार भएको दुईदिने तालिममा खासगरी स्थानीय सरकारका विषयवस्तु खोजेर लेख्ने कुरामा पत्रकारहरुलाई प्रशिक्षित गरिएको थियो ।
पालिकाहरुले हेरिदिनुपर्ने महत्वपूर्ण विषय शिक्षा पनि भएको भन्दै प्रशिक्षक मैनालीले सबैभन्दा पहिले पत्रकारहरुले स्कूले शिक्षाको अवस्था खोजी–खोजी लेख्नुपर्ने बताए । ‘बाटो, बिजुली केही वर्ष पर्ख भन्दा केही बिग्रँदैन तर स्कूले शिक्षा एक वर्ष पर्खिंदा मान्छेको जिन्दगी डुब्ने’ बताउँदै उनले स्कूले शिक्षाको लागि स्कूलभवन, डेस्कबेन्च, बोर्ड, खेल्ने चउर सबै महत्वपूर्ण हुने बताए । यसैगरी, सरसफाइ, कुपोषण, रोग तथा महामारी पनि खोज पत्रकारिताका लागि महत्वको विषय हुने उनले बुझाएका थिए ।
नागरिकलाई जिम्मेवार बनाउनु, कुसंस्कार त्याग्ने अभियान, व्यक्तिगत घटना दर्ता, कृषि, पर्यटन, जडीबुटी, सडकका विषय लगायत पछाडि परेकालाई प्राथमिकता दिएर कलम चलाउनुपर्नेमा पनि उनले जोड दिए ।
सञ्चार माध्यम र स्थानीय सरकारबारे प्रस्ट्याउँदै प्रशिक्षार्थीहरुलाई उनले भने, ‘स्थानीय सरकारमा बस्ने महिला, पुरुषले गरेका राम्रा–नराम्रा कुराहरुको रिपोर्टिङ गर्ने, अल्पसंख्यक लगायत सबै मानिसका चाहना के हुन् ? त्यो देखाउने । असामाजिक तत्व र असामाजिक व्यक्तिका काममा प्रकाश पार्ने, शिक्षा सुधारका लागि समुदाय, राज्य र देशलाई कन्भिन्स गर्ने ।’ मिडियाको भूमिकाबारे बुझाउँदै उनले भने, ‘जानकारी दिने, शिक्षा दिने, आनन्द दिने, अजेन्डा निर्धारण गर्ने, केही महत्वपूर्ण विषयतिर समाजलाई डोहो¥याउने ।’
गलत काम कसरी भयो ? त्यसमा को–को जिम्मेवार छन्, कस–कसलाई असर परेको छ ? यस्तो हुन नदिनका लागि के–के काम गर्नुपर्छ ? खोज पत्रकारले यस्ता कुराहरु खोज्नुपर्ने उनले बताए । उनले खोज पत्रकार र दैनिक गरिने पत्रकारिताका फरक पनि बताएका थिए । खोज पत्रकारले महत्वपूर्ण र लुकाउन खोजेको विषय छनौट गरेर आफैंले अनुसन्धान गर्नुपर्ने उनले प्रस्ट्याए । लुकाइराखेका कुरामात्र होइन समाजले ध्यान दिनुपर्ने तर नदिइराखेको सामाजिक विषयमा पनि खोज पत्रकारिता हुनसक्ने मैनालीले बताए ।
‘पत्रकार जहिलेपनि पहरेदारको भूमिकामा रहनुपर्छ’, उनले भने, ‘यसले सार्वजनिक संस्था र तिनमा बसेका मानिसलाई जवाफदेही बनाउँछ ।’ गलत नीति बदल्ने, खराब काम गर्नेलाई कामबाट बदल्ने, उपेक्षित विषयमा ध्यानाकर्षण गर्ने, लुकेका महत्वपूर्ण विषयलाई सार्वजनिक छलफलमा ल्याउने भूमिका खोज पत्रकारको रहने मैनालीले स्पष्ट पारे ।
‘खोज पत्रकार हुन दृढ संकल्पित हुनुपर्छ, होसियार हुनुपर्छ, धैर्यवान र निष्पक्ष हुनुपर्छ । खोज पत्रकारिताले सिर्जनशील हुने मौका पाइन्छ । अन्यायको पर्दाफास गर्न सकिन्छ । नाम कमाइन्छ’, उनले भने, ‘खोज पत्रकारिताको विषय छनौट गर्दा काम जसरी हुनुपथ्र्याे, त्यसरी भएको छ, छैन ? काम कसरी हुनुपर्ने हो ? कसरी भयो ? त्यो हेर्ने । यसका लागि समाचार, अध्ययन, अनुसन्धानका रिपोर्ट, विज्ञापनहरु पढ्ने, विभिन्न क्षेत्रका मानिससँग कुरा गर्ने र आफ्नै आँखाले हेर्ने । समस्या कति ठूलो हो ? कति गम्भीर छ ? प्रमाण जुटाउन सकिन्छ, सकिँदैन ? त्यो पनि सोचविचार गर्ने । चाहिने कुराको सूची बनाउने’, उनले थपे, ‘अनि नियम मिचिएको तथ्य पनि खोजेर उल्लेख गर्ने । ’
खोजमूलक सामग्री तयार गर्न तथ्य–तथ्याङ्क, स–साना कथा, दृश्य, आधिकारिक र मन छुने खालका भनाइ, इतिहास र पृष्ठभूमि, पक्ष–विपक्षका तर्क, विश्लेषण, फोटो, भिडियो, नक्सा पनि समावेश गर्नुपर्ने कुरा उनले प्रशिक्षार्थीहरुलाई छर्लड्ड पारेका थिए । कहाँ खोज्ने ? भन्नेबारे लिखित सामग्री, मानिस, अवलोकन, दृश्य वर्णनका कुराहरु उनले उल्लेख गरे । अवलोकनमा अवस्थिति, रङ्ग–आकार, दिशा, कसैको काम र त्यसको परिणाम, अनौठा कुराहरु पनि ख्याल गरेर समाचार लेख्दा गर्दा राम्रो हुने जानकारी उनले दिए । प्रशिक्षार्थीको रुपमा तालिममा चितवनका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
– अजय गोर्खाली

प्रकाशित :२०७८ पुष २०, मंगलवार २०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry