सिंहदरबार बाहिरैबाट आउन थाल्यो सरुवाको लिष्ट : १२ सहसचिवको सरुवा दरबन्दी नै नभएको ठाउँमा
शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रशासन संयन्त्रमा चरम हस्तक्षेप गरेको भेटिएको छ ।
गत साल असार अन्तिममा प्रधानमन्त्रीको कुर्सीमा पुगेका देउवाले अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित १८ वटा मन्त्रालय कमाण्ड गरिरहेका छन् । प्रधानमन्त्री बनेको झण्डै दुई महिना पछि सरकारले ८५ सहसचिवको सरुवा गर्दा इन्ट्रेस्ट ग्रुपको स्वार्थ अनुकुल सहसचिवहरुको सरुवा गरिएको र सो सरुवाको सूची सिंहदरबार बाहिरैबाट बनेर आएको भेटिएको छ ।
Advertisement 1
देउवा नेतृत्वको सरकारले भदौं अन्तिममा एकै पटक ८५ सहसचिवको सरुवा गर्यो । यही साता थप ६ सहसचिवको सरुवा भए । यस्तै चार दर्जन हाराहारी उपसचिवको समेत सरुवा भइसकेको छ ।
यसरी कर्मचारी सरुवा तथा बढुवाको सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढ्न थालेको छ ।जस्ले गर्दा प्रशासन संयन्त्रमा भद्रगोल देखिएको जानकारहरु बताउँछन् ।
Advertisement 2
सामान्यतः सचिव र सहसचिव सरुवाको चाँजोपाजो आवश्यकताका आधारमा मुख्य सचिवले सामान्य प्रशासनका सचिवसँग समन्वय गरी गर्नुपर्ने कानुनी प्रावधान भए पनि पछिल्लो समय सचिव सहसचिव सरुवाको सूची बाहिरै बनेर प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा आउने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।त्यहाँ कार्यरत एक सहसचिवका अनुसार,सामान्यतः मुख्य सचिव, सामान्य सचिव र विभिन्न मन्त्रालयका सचिवहरूको समन्वयमा प्रशासन चल्नुपर्ने हो तर अहिले प्रशासन अन्यन्त्रैबाट चलिरहेको छ । राजनीतिक नेतृत्वबाट उच्च दबाब आउने क्रम बढेपछि मुख्य सचिव र सामान्य सचिव निरीह जस्तै बन्न पुगेको ती कर्मचारीको भनाई छ ।
राजनीतिक व्यक्ति तथा समूहको रुचिमा सचिव सहसचिवको सरुवा हुने क्रम बढ्न थालेसँगै असल र राम्रा प्रशासकको मनोबल खस्कन थालेको छ ।यसरी बाहिरैबाट सरुवाको सूची बनेर आउँदा त्यसमा त्रुटी नै त्रुटी भेटिने सिलसिला शुरु भएको छ । जस्तो भदौं अन्तिम साता ८५ सहसचिव चलाइँदा एक दर्जन सहसचिवको सरुवा त दरबन्दी नै नभएको ठाउँमा समेत खटाइएको भेटिएको छ ।
अहिले सरकारले त्यही त्रुटी सच्याउन लागिपरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ८५ सहसचिव सरुवा हुँदा झण्डै एक दर्जन सहसचिवको सरुवा त दरबन्दी नै नभएको ठाउँमा भएको र केही सहसचिवको सरुवामा प्राविधिक समस्यासमेत परेकाले त्यसलाई सच्याउन लागिएको हो ।