ओलीको रोजाईमा दाई,देउवाको रोजाईमा भाई
एउटै सरकारी कार्यालयमा कहिले दाईलाई हाकिम अनि कहिले भाईलाई हाकिम बनाइन्छ । कारण के होला ?
Advertisement 1
निजामती सेवा भित्र काविल प्रशासकको कमि भएर भनौं,त्यो पनि होइन् । एकाघरको दाजु भाईलाई पालैपालो सम्पत्ति शुद्धिकरण विभागजस्तो संवेदनशील् ठाउँको हाकिम बनाइएसँगै अहिले कर्मचारी वृत्तबाट उठ्न थालेको प्रश्न हो यो ।
केपी ओलीका पालामा दाईले चलाएको सरकारी कार्यालयमा अहिले भाईलाई लगिएको छ । यो यही विभाग हो जहाँ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यस अघि अर्थ मन्त्रालय मातहत रहेको विभाग आफू मातहत ल्याएर त्यहाँको हाकिमको रुपमा रुपनारायण भट्टराईलाई पठाइएको थियो ।
Advertisement 2
तर पाँच महिनामै उनलाई त्यहाँबाट खेदेर उपराष्ट्रपति कार्यालयमा पठाइयो । रुपनारायण ५८ बर्ष उमेर हद लागेर घर जानु तीन महिना अघिमात्र सरुवामा परे । जबकी निजामती सेवामा अवकाशको थोरै समय बाँकी रहँदा यसरी सरुवा गरिदैंन । रुपनारायण त्यहाँबाट सरुवा गरी ओली सरकारले गजेन्द्र ठाकुरलाई हाकिम बनाएर पठाइएको कार्यालय हो त्यो ।
देउवा सरकारले ठाकुरलाई त्यहाँबाट तानेर प्रेम भट्टराईलाई पठाएको छ । भट्टराई यस अघि भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनी अख्तियार,ललितपुर महानगरपालिका हुँदै महेश बस्नेतको जोडबलमा भक्तपुरको सिडिओ बनेका थिए । दुई साता अघि भक्तपुरबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको थियो । हालैमात्र प्रधानमन्त्री देउवाले सम्पत्ति शुद्धिकरण विभागको कमाण्डर बनाएर खटाएको हुन् । उनी यस अघिका हाकिम रुपनारायणको माइलो भाई हुन् ।