कार्यालय भवनमा आफ्नो दावा गर्दै कर्मचारी संगठनले गुहारे प्रधानमन्त्री
एमाले विभाजनको असर उस्को भातृ संगठन एमालेमा पनि परेको छ । अहिले एमाले निकट नेपाल निजामती कर्मचारी संगठन दुई खेमामा बाडिएको छ । माधव नेपाल खेमाले पूर्व महासचिव रेवन्त गौतमलाई अध्यक्ष बनाएर पठाएको छ भने केपी ओली निकट पूर्व अध्यक्ष केदार देवकोटाहरुको अर्काे गुट सक्रिय भएको छ ।
यसरी अहिले नेपालकै जेठो र ठूलो कर्मचारीहरुको संगठन दुई चिरा भएसँगै उस्को भौतिक सम्पत्तिलाई लिएर लफडा निम्तिएको छ । अहिले दुवै पक्षले कर्मचारीको आधिकारिक समूह आफू भएको दाबी गर्दै कार्यालय कब्जा गर्न खोजेपछि उत्पन्न तनाव चर्किंदै जाँदा अहिले संगठनको कार्यालय प्रहरीको नियन्त्रणमा छ ।
Advertisement 1
बबरमहलमा रहेको पार्टीको भवनमा अहिले दुबै खेमाको दावा छ । सो भवन २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले कर्मचारीका चार वटा संगठनलाई चार चार रोपनीका दरले जग्गा उपलब्ध गराएको थियो । सोही जग्गामा उनीहरुले आ आफ्ना कार्यालय सन्चालन गरिरहेका छन् ।
यता नेपाल निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत सबैजसो जिल्लाबाट ज्ञापनपत्र बुझाइएको बताइएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, काठमाडौंको एउटा टोलीले किर्ते र जालसाजी गर्नेलाई कारबाही गर्न एवम् संगठनको कार्यालयमा प्रहरी प्रशासनले लगाएको ताला खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
कार्यसमितिका अध्यक्ष अशोक पोखरेलको नेतृत्वमा गएको टोलीले बबरमहलस्थित सिडियो कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।