हामीले निजामती दिवस किन मनाउने ?

हरेक वर्ष झैँ यस पाली पनि भाद्र २२ गते निजामती सेवा दिवस मनाइयो । निजामती सेवालाई प्रशासन सञ्चालनको मेरुदण्डको रुपमा लिइन्छ । वि.सं. २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । वि.सं. २०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यको नेतृत्वमा गठित प्रशासकीय योजना आयोगले दिएको प्रतिवेदन बमोजिम सोही वर्षको भाद्र २२ गते प्रथम निजामती सेवा ऐन, २०१३ लागु भएको थियो । यसै दिनको सम्झनामा २०६१ सालदेखि निजामती सेवा दिवसका रुपमा मनाउन थालिएको हो । यसै दिन ८६ हजारको हाराहारीमा रहेका कर्मचारीमध्ये १ जनालाई सर्वोत्कृष्ट र ४० जनालाई उत्कृष्ट कर्मचारी घोषणा गरी पुरष्कृत गर्ने चलन रहेको थियो । पूर्व परिक्षा नियन्त्रक सूर्यप्रसाद गौतम र पूर्व अर्थ सचिव शान्तराज सुवेदीसम्मले ग्रहण गरेको ठुलो धनराशीको यो पुरस्कार वि.सं. २०७४ सालदेखि कसैलाई पनि दिइएको छैन ।
Advertisement 1
गत असार ३१ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कार्यालयहरुमा परिपत्र गर्दै गत भाद्र २२ गतेको निजामती सेवा दिवसमा पुरष्कृत गर्नका लागि निजामती सेवा नियमावली २०५० को नियम ११६ को उपनियम २ बमोजिम उत्कृष्ट कर्मचारीको सिफारिस गर्न भनेको थियो ।
मापदण्ड र कार्यक्षमतामा प्रश्नचिन्ह ?
Advertisement 2
निजामती सेवामा पुरस्कार तथा प्रोत्साहनको ठुलो महत्व हुन्छ । तर निजामती सेवा जनता माझ लोकप्रीय र सन्तेषजनक नभएका कारणले आज पनि उत्तिकै बदनामीको बिल्ला भीर्न बाध्य छ । सेवाग्राहीको सकारात्मक हेराइको प्रतिक्षामा रहेको यो सेवा अहिले पनि भ्रष्टाचारको अड्डा, छिटो छरितो र झन्झटरहित सेवा दिने भन्दन काम अड्काउने, शक्तिको पूजारी बन्ने जस्ता आरोपको भागीदार बन्दै आएको छ । निजामती कर्मचारीले गर्ने काम के हो ? कसले के कार्य गर्नुपर्ने ? काम नगर्नेलाई के गर्ने ? कसरी कार्य सम्पादन मुल्यांकन गर्ने ? जस्ता पक्षको बहर र समिक्षा हुन छोडेको परिस्थितिमा आज उत्कृष्ट र योग्य कर्मचारी छनौट गर्ने काम बालुवामा पानी हाले सरह मात्र भएको छ ।
भर्खरको मात्र श्रम तथा रोजगार कार्यालय, विराटनगरका प्रमुख प्रेम सञ्जेलले मन्त्रालयले मागे बमोजिमको पुरष्कृत गर्न योग्य कर्मचारी आफ्नो कार्यालयमा कोही पनि नरहेको भनेर पत्र लेखेको विषय चर्चा परिचर्चाको खबर बन्यो । यस्तो अवस्थामा साच्चै राम्रो काम गरेर निजामती पुरस्कार कसैले प्राप्त गर्दा पनि विश्वास गर्न गाह्रो भएको छ । सेवाग्राहीबाट त कर्मचारी त्यसै पनि असन्तुष्ट छन् स्वयं सहकर्मी पनि समकक्षीले पुरस्कार पाउँदा दुखी छन् ।
Advertisement 3
यत्रो ठुलो संगठन संरचनामा उत्कृष्ट कर्मचारी छनौट गर्न त्यसै पनि समस्या छ । चाकडी, चाप्लुसीले गर्दा तेरो र मेरो कर्मचारीको भावना ज्युँका त्युँ छ । अझ विभिन्न कर्मचारी संगठनको दवाब उत्तिकै रहन्छ । तर यसो भनिरहँदा ८६ हजार कर्मचारी भएको संगठन भित्र एउटा योग्य र उत्कृष्ट कर्मचारीको खडेरी परेको हो त ? गम्भिर प्रश्न उठ्नु स्वभाविक नै हो । अनि पुरस्कार र प्रोत्साहन जस्तो महत्वपूर्ण कामलाई निरन्तरता दिनु पनि जरुरी छ । तर बिना मापदण्ड र पारदर्शिता बिना पुरस्कार बितरण गर्ने कार्य रोकिनु पनि पर्दछ ।
कर्मचारीतन्त्र भित्रको विभेद
संघीयता अघिसम्मको निजामती सेवामा त माथि उल्लेखित विसंगतीको हालीमुहाली थियो भने देश संघीय मोडलमा गइसकेको आजको परिस्थितिमा कर्मचारीतन्त्र पनि संघ, प्रदेश र स्थानीय सेवा गरी तीन तहको कार्यसम्पादन गरीरहेका छन् । त्यसमा पनि हिजो समायोजन ऐन पछि समायोजित कर्मचारी प्रचलित राज्य व्यवस्थाका तीनै तहमा कार्यरत छन् । अब हिजोको जस्तो मापदण्ड र व्यवहारले के राज्यका सबै अंगमा कार्यरत कर्मचारी सन्तुष्ट रहन सक्लान् त ? गतसाल लोक सेवा आयोगबाट परिक्षा उतिर्ण गरी स्थानीय तहमा काम गरिरहेका ९ हजार भन्दा बढी कर्मचारी निजामती सेवा दिवसका दिन गरिने पुरस्कार र प्रोत्साहनको अपनत्व ग्रहण गर्न सक्लान् त ? यसै सन्दर्भमा स्थानीय तहमा नियुक्त भएका केही कर्मचारीहरुले विरोधको आवाज पनि उठाउन थालेका छन् । एउटै संवैधानिक निकायबाट उस्तै मापदण्डको परिक्षा पास गरेर स्थानीय सेवा प्रवेश गरेका हजारौँ राष्ट्रसेवक कर्मचारीलाई निजामती सेवाको परिभाषाले नसमेटेको गुनासो आइरहेको अवस्थामा निजामती सेवा दिवसको अर्थ र महत्व कतिको सान्दर्भिक होला त ? यो अवस्थामा राज्य र अग्रज राष्ट्रसेवकबाट सद्भावपूर्ण भाव राखेर सबै कर्मचारीहरुको पेशा र कार्य सम्पादनलाई सम्मानित र समान स्तर कायम गर्न सोच्ने बेला आएको छ । निजामती सेवा दिवसमा स्थानीय तहमा कार्यरत कर्मचारी साथीहरूले के गर्ने ?
# निजामती शब्द मार्फत नसमेटिदा निजामती अस्पतालमा सेवा पाउनबाट बन्चित भएको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा बिना तालिम स्थानीय तहमा धकेलिएको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा छैठौं, सातौं र आठौं तह शाखा अधिकृत हो भनेर आफै भन्ने मन्त्रालयले गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भएतापनि निमित्तको दर्जा दिएर पठाएको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा सम्पत्ति विवरण, कासमू आदि सबैमा विभेद खेप्नुपरेको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा सरुवामा नेता महोदयहरुबाट प्रमाणित गरेर दोहोरो सहमति लिनुपरेको र पनि महिनौं बित्दासम्म पनि सरुवा हुन नसकेको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा तल्लो दर्जाका कर्मचारी सरह अपहेलित भएर बस्नुपरेको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा सेवा अवधी जोड्ने, अन्तरसेवामा ७/१० बर्ष पर्खिनु पर्ने जस्तो विभेदकारी draft देख्नु परेको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा उमेर हदबाट समेत विभेद गरिएको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा मन्त्रालयले छैठौंबाट सेवा प्रवेश गराउने निर्णय गरेतापनि प्रदेशहरुले शुरुको छैठौलाई सातौ नबनाइकनै सातौंको विभेदकारी विज्ञापन गरिएको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा मृत्युवरण गरेका हाम्रा साथीहरूले कुनै पनि सेवा सुविधा (निजामती सरह) नपाएको अवस्था ।
# निजामती शब्द मार्फत नसमेटिदा हामी स्थानीय तहमा कार्यरत कर्मचारी साथीहरू आधिकारिक ट्रेड युनियन (CBA) मा भाग लिनबाट बन्चित भएको अवस्था ।
निजामती शब्द मार्फत नसमेटिदा यी यावत् कुराहरु मार्फत विभेद गरिएको अवस्थामा,,,,, के हामी निजामती सेवा दिवस मनाउन सक्छौं त? जसले हामीलाई चिन्दैन/गन्दैन/विभेदको आँखाले हेर्छ त्यसको दिवस हामीले किन र के का लागि मनाउने ?
कर्मचारीलाई मात्र आरोप कहिले सम्म ?
कर्मचारी प्रशासनका पिता म्याक्स वेबरले कर्मचारीलाई श्वास फेर्ने यन्त्रको रुपमा व्याख्या गरेका छन् । यदी एउटा कर्मचारीले मेसिन जस्तै काम गर्नु पर्छ भन्ने मान्यता हो भने उसको लागि उत्प्रेरणाको स्रोत खै त ? कर्मचारीलाई लादेर, चाकडी चाप्लुसीका भरमा यत्रो ठुलो संगठन चल्छ भन्ने सोचको अन्त्य हुनै पर्छ । अनि मात्र सुशासनको मन्त्र र गाउँ गाउँमा सिंहदरबारको नाराले पूर्णता पाउँछ । राष्ट्रसेवकमा पारदर्शिता, स्वच्छता र सेवाग्राहीप्रति इमान्दारिताको प्रतिबद्धता सदैव हुनु पर्दछ । यदि कोही यसको बर्खिलाप जान्छ भने त्यो कर्मचारीको कमजोरी हो । तर सिंहदरबार वरपर बस्ने सिमित कर्मचारीको मात्र हालीमुहाली कर्मचारीतन्त्रमा हुने जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने स्थानीय सेवा तथा दुर दराजमा काम गर्ने कर्मचारीको मनोबल उठाउने काम गर्न नसकिएमा पक्कै पनि श्वास फेर्ने मेसिनमा पक्षघात .हुन सक्छ ।
निष्कर्ष
निजामती सेवा दिवसले समाजमा सार्वजनिक सेवा प्रतिको सम्मान बढाउन र बेरोजगार युवाहरुलाई राष्ट्रसेवा प्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यस दिवसले सम्पूर्ण राष्ट्रसेवकलाई समान रुपले सम्बोधन गर्न सक्नु पर्छ । कर्मचारीको कार्य सम्पादन र योगदान बारे जनतालाई सुसूचित गर्न तथा आगामी दिनमा अझ शसक्त ढंगले आफ्नो कर्तव्य र सेवालाई सुदृढ बनाउन उत्प्ररित गर्न सक्नुपर्दछ । तब मात्र यो दिवसले सार्थकता पाउनेछ । कोही काखा र कोही पाखा हुने गरी यो दिवस फेरी मनाउन नपरोस् । सबैमा शुभकामना ।
(लेखक – स्थानीय तह कर्मचारी हकहित मन्च नेपालका केन्दिृय सदस्य हुनु हुन्छ ।)