म्याग्दीमा सङ्घीय सरकारका ३ कार्यालय थपिए, विकास आयोजना कार्यान्वयन सहज हुने

म्याग्दी। म्याग्दीमा सङ्घीय सरकारअन्तर्गतका ३ वटा कार्यालय थपिने भएका छन्। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालय जिल्लामै स्थापना हुन लागेसँगै विकास आयोजना छनोट, समन्वय तथा कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ।
Advertisement 1
जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जलस्रोत तथा सिँचाइ आयोजना र स्थानीय पूर्वाधार विकास आयोजनाका कार्यालय जिल्लामा विस्तार गर्न लागिएको हो।
मन्त्रालयले तीन वटा कार्यालय विस्तार गर्ने निर्णयसहित आवश्यक सहजीकरणका लागि जिल्ला समन्वय समितिलाई पत्राचार गरेको खत्रीले जानकारी दिइन्। उनका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालय साविकको एकाइ रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई कार्यालयका लागि भवन खोजी भइरहेको छ।
Advertisement 2
३ जिल्लाभन्दा बढी क्षेत्रमा कार्यक्षेत्र
स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ रहनेछ। खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ जिल्लामा काम गर्नेछ। जलस्रोत तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहने जनाइएको छ।
Advertisement 3
यसअघि तीनवटै कार्यालय पोखरामा रहेका थिए। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२÷८३ मा पोखरामा गाभिएपछि बेनीमा एकाइ मात्र सञ्चालनमा थियो। जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाका कार्यालय भने बेनीमा थिएनन्।
स्थानीयस्तरबाटै आयोजना कार्यान्वयनको अपेक्षा
सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी तथा सिँचाइसँग सम्बन्धित महत्त्वपूर्ण आयोजना सञ्चालन गर्ने निकाय जिल्लामै स्थापना हुँदा योजना छनोटदेखि कार्यान्वयनसम्मको प्रक्रिया सहज हुने जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख खत्रीले बताइन्।
कार्यालय जिल्लामै हुँदा स्थानीय तहसँग समन्वय, आयोजना अनुगमन तथा निर्माणसम्बन्धी समस्या समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तीनवटै कार्यालय तिहारअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको जिल्ला समन्वय समितिले जनाएको छ। कार्यालय सञ्चालनमा आएपछि म्याग्दीसहित सम्बन्धित जिल्लामा सङ्घीय पूर्वाधार विकासका आयोजना कार्यान्वयनमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ।








