लमजुङका बैंकर्सको अनुकरणीय काम, दिए रगत र दाम

अञ्जनकुमार हिमाली।
भनिन्छ नि, रक्तदान महादान। रक्तदानभन्दा ठूलो दान केही छैन। यही पुण्यकर्मलाई आत्मसात गर्दै बैंकर्स क्लब लमजुङले रसुवा–भोटेकोशीको महाविनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
Advertisement 1
विश्वकर्मा पूजाको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत ३० जना कर्मचारीले रक्तदान गरेका छन्। रक्तदान गरिएको रगत प्रदेश अस्पताल लमजुङमा स्टोर गरिएको छ। बैंकर्स क्लब लमजुङका उपाध्यक्ष तथा गरिमा विकास बैंक लमजुङका प्रबन्धक सुरेश थापाका अनुसार बैंकका कर्मचारीले नियमानुसार तलबबाटै रकम कटाएर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्नुका साथै व्यक्तिगत रूपमा ५ देखि १० हजारका दरले समेत सहयोग गरेका छन्। क्लबको तर्फबाट समेत थप रकम जम्मा गर्ने योजना रहेको उनले बताए।
“विपद्को बेला रगतको अभाव हुन नदिन हामीले रक्तदान गरेका हौं, तर अस्पतालमा पर्याप्त ब्लड स्टोरको व्यवस्था नहुँदा इच्छा हुँदाहुँदै पनि धेरैले रक्तदान गर्न पाउनुभएन,“ थापाले भने। कार्यक्रममा बैंकर्स क्लब लमजुङका अध्यक्ष एवं हिमालयन बैंकका प्रबन्धक नवराज ढकाल, सचिव भरत नेपाली लगायत क्लबका सदस्यहरूको सहभागिता थियो। रक्तदाताहरूलाई प्रदेश अस्पताल लमजुङका प्रमुख डा. शिशिर देवकोटाले प्रमाणपत्र प्रदान गरेका थिए।








