भारतबाट प्राप्त एम्बुलेन्स निजी नियन्त्रणमा राखेर चलाएको पूर्व वडा अध्यक्षलाई आरोप

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको अभिलेखमा नचढाई निजी नियन्त्रणमा राखेर सञ्चालन गरेको आरोपमा धनुषाको विदेह नगरपालिकाका पूर्व वडा अध्यक्ष विजयकुमार यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगका अनुसार विदेह नगरपालिका–६ का तत्कालीन वडा अध्यक्ष यादवले भारतीय राजदूतावाससँग भएको सम्झौताअनुसार वडावासीलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखी सञ्चालन गरेका थिए।
अनुसन्धानका क्रममा एम्बुलेन्स सञ्चालनसम्बन्धी लगबुक, सेवा विवरण, उठाइएको भाडा, इन्धन खर्च तथा आम्दानी–खर्चको कुनै अभिलेख नराखिएको तथा प्राप्त आम्दानी सरकारी कोषमा दाखिला नगरेको पाइएको अख्तियारले जनाएको छ।
Advertisement 2
आयोगका अनुसार उक्त एम्बुलेन्स चार वर्ष छ महिनाको अवधिमा सञ्चालन गरी नेपाल रेडक्रस सोसाइटी, धनुषाले तोकेको एम्बुलेन्स सेवा दररेटका आधारमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानिनोक्सानी भएको पुष्टि भएको छ।
अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट उन्मुक्ति पाउने उद्देश्यले यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको देखिएकाले उक्त रकम घटाएर ११ लाख २७ हजार ६५३ रुपैयाँ बिगो असुल गर्न माग गरिएको आयोगले जनाएको छ।
Advertisement 3
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल, बिगो बराबर जरिवाना तथा कैद सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
137P8s







