पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल

छिन्चु। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
Advertisement 1
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए। उनले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
“विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन, यसले रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणमा योगदान दिनुपर्छ”, उनले भने।
Advertisement 2
मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने धारणा राखे। प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पु¥याउन सकिने उनको भनाइ छ।
मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयलाई कर्णालीको शैक्षिक गौरवका रूपमा चित्रित गर्दै स्थापनायता अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उनले प्रशंसा गरे।
Advertisement 3
दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै मन्त्री पोखरेलले शिक्षा राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गरे। “आज प्राप्त गरेको ज्ञान र सीप व्यक्तिगत सफलताका लागि मात्र होइन, समाज र देशको विकासका लागि पनि उपयोगी हुनुपर्छ”, उनले बताए।
विकास र समृद्धिको यात्रामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उनले युवापुस्ताले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट गरिबी, बेरोजगारी, स्वास्थ्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधतासम्बन्धी समस्याको समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
उनले गुणस्तरीय शिक्षा र सृजनशील सोचका माध्यमबाट युवा पुस्ताले देशको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सक्ने बताएका छन्।








