गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनमा सरेको छ।

Advertisement 1

बैंकको नयाँ केन्द्रीय कार्यालयको २०८३ भदौ ३ गते बुधबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गरेका हुन्। नयाँ कार्यालय सञ्चालनमा आएसँगै यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सरेको हो।

गरिमा विकास बैंकले २०६४ कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। बैंकले २०६७ वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारिएको थियो।

Advertisement 2

नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनको अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजासमेत गरिएको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलसँगै धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, विभिन्न नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकहरूको उपस्थिति थियो।

Advertisement 3

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौं आइपुगेको र आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्राको अर्को अध्याय सुरु भएको बताए।

उनले बैंकको व्यावसायिक सफलतामा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत सुशासनलाई समेत सफलताको आधारका रूपमा प्रस्तुत गरे।

त्यस्तै, बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासनसँगै प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त रूपमा अघि बढाउने बताए।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry