विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर। विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। श्री माध्यमिक विद्यालय कञ्चनबारीको संयोजनमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीबीच दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको हो।
Advertisement 1
प्रतियोगिताको पहिलो दिन विराटनगर महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा गराइएको थियो। यस चरणमा २६ वटा सामुदायिक विद्यालय सहभागी भएका थिए। प्रारम्भिक प्रतिस्पर्धाबाट उत्कृष्ट छ विद्यालय अन्तिम चरणका लागि छनोट भएका थिए।
प्रारम्भिक चरणको मूल्याङ्कनअनुसार पोखरिया माध्यमिक विद्यालय प्रथम, गोग्राहा माध्यमिक विद्यालय द्वितीय र जनता बालआधारभूत विद्यालय तृतीय भएका हुन्। त्यस्तै सत्यनारायण आधारभूत विद्यालय, मदननगर आधारभूत विद्यालय र आयोजक विद्यालय श्री माध्यमिक विद्यालय कञ्चनबारी पनि दोस्रो चरणमा प्रवेश गरेका थिए।
Advertisement 2
प्रतियोगिताको दोस्रो दिन संस्थागत विद्यालयतर्फबाट छनोट भई आएका छ र सामुदायिक विद्यालयतर्फबाट आएका छ विद्यालयबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो। अन्तिम नतिजाअनुसार मदननगर आधारभूत विद्यालय प्रथम, जनता बालआधारभूत विद्यालय विराटनगर–१४ द्वितीय, कान्तिपुर माध्यमिक विद्यालय तृतीय तथा पोलस्टार बोर्डिङ स्कुल चौँथो भएका छन्।
विजेता विद्यालयलाई क्रमशः रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु ३ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। पछिल्ला ३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगिता लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन, विद्यार्थीमा अन्तरनिहित प्रतिभाको पहिचान तथा सामुदायिक र संस्थागत विद्यालयबीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।
Advertisement 3
प्रतियोगितामा ३५० भन्दा बढी विद्यार्थीले विभिन्न जातजातिका लोकनृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नुभएको थियो भने सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले विजेता विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।















