स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला। जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन्। गुणस्तरीय स्याउ उत्पादन गर्न उनीहरु बगैँचा व्यवस्थापनमा लागेका हुन्।

Advertisement 1

विशेषगरी यो याममा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा किसान व्यस्त रहने गरेको तिला गाउँपालिका–१ का पदम बुढाले जानकारी दिए। जिल्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ। गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

बोटका फल टिपेलगत्तै यो समयमा काँटछाँट अत्यन्त महत्वपूर्ण मानिएको छ। प्रमुख अधिकारीले भने, “यतिबेला स्याउका बिरुवा सुषुप्त अवस्थामा हुने भएकाले काँटछाँट गर्न उपयुक्त हुन्छ।” यसै कारण अहिले किसानको बगैँचामै पुगेर स्याउका बगैँचा व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उनको भनाइ छ।

Advertisement 2

अहिले काँटछाँट, सिँचाइ र मलखादको मात्रा मिलाउन सके उत्पादन राम्रो हुन्छ। स्याउमा लाग्ने रोग नियन्त्रणका लागि नीलोतुथो र चुनाको प्रयोग गर्न यहाँका किसानलाई अहिले सिकाउने काम भइरहेको छ। कार्यालयले यहाँका आठवटै स्थानीय तहका ६० वडामध्ये ३० वडामा पुगेर बगैँचा व्यवस्थापनको तालिम स्याउ किसानलाई दिने तयारी रहेको प्रमुख अधिकारीले बताए।

स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ। स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन। यतिबेलाको समयमा स्याउको स्याहार नगरे गुणस्तर फल दिँदैन। रोगसमेत लाग्ने डर हुन्छ। जसका कारण समयमै स्याउ काँटछाँट गर्न लागेको तातोपानी गाउँपालिका–४ का प्रेम पाण्डेले जानकारी दिए।

Advertisement 3

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो। धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको गुनासो आएपछि यो वर्षदेखि किसानका बगैँचामै कृषि प्राविधिक खटाएर काम गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।
जिल्लामा ४ हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको छ। यसै वर्ष मात्रै १७ हजार ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। जुम्लाबाट मात्रै यस वर्ष रु ३१ करोड २९ लाख ८० हजारको स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

प्रकाशित :२०८२ माघ ९, शुक्रबार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम