मानसिक स्वास्थ्यको क्षेत्रमा डाक्टर भन्तानाको देन

अजय गोर्खाली/ चितवन

प्रायः हरेक कर्म वा पेशामा आ आफ्नै विधा हुन्छन् । यस्तै डाक्टरी सेवा वा भनौं पेशाको पनि अलग अलग विधा छन्, जसमध्ये एउटा हो मानसिक स्वास्थ्य । यसै क्षेत्रमा कार्यरत चितवनका एक बहुचर्चित डाक्टर हुन्, गिरीराज भन्तना । आईओएम महाराजगञ्जबाट मनोचिकित्सा अध्ययन गरेका डा. भन्तानाले भरतपुरको मेडिकल कलेज, सरकारी अस्पताल देखि लिएर थुप्रै प्राइभेट अस्पतालमा काम गरिसकेर पछिल्लो समय आफैंले रिहाबिलिटेशन सेन्टर सञ्चालनमा ल्याएका छन् । विभिन्न अस्पतालहरुमा गरी आफूले अहिलेसम्म हजारौंहजार बिरामीको उपचार गरिसकेको उनको जनाउ छ ।
हल्का प्रकृतिका मनोरोगी मात्र नभई जटिल भन्दा जटिल किसिमका मानसिक रोगीहरु पनि उपचार पश्चात् निको भई परिवार एवम् समाजमा सामान्य जीवनयापन गर्दै रहेको उनले बताए । अरु र आफूलाई समेत नचिन्ने मनोरोगी, जसलाई हामी पागलै  भन्छौं,त्यस्ता बिरामीलाई समेत पुनस्र्थापित गर्न सकिने डाक्टर बताउँछन् । औषधोपचारपछि पारिवारिक जीवनमा फर्किएर धेरैले राम्रो काम गरिरहेको उनले सुनाए । कोही विदेश गएर काम गर्दैछन्, कोही कृषि, पर्यटन, सांगितिक आदि क्षेत्र सम्हाल्दै छन् । जेहोस्, कोही के मा त कोही केमा इन्भल्व भएर परिवारलाई खुशी दिइरहेका छन् । तर ती बिरामीहरुको पनि आफ्नो गोपनीयता हुने कारण कसैको नाम, ठेगाना भने बताउन चाहेनन् ।
यसैक्रममा, मानसिक रोग एवम् लागु तथा मादक पदार्थको दुव्र्यसनले पारेको नकारात्मक प्रभाव र परिणामस्वरुप परिवार र समाजमा पर्ने असरलाई न्यूनीकरण गर्दै यस्तो समस्यामा रहेका व्यक्तिहरुको प्रभावकारी उपचार गरी सामान्य जीवनमा पुनस्र्थापित गर्ने तथा निजहरुलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरु दिई रोजगारीसमेत उपलब्ध गराउने उद्देश्यले आफूहरुले गत २०७४ आश्विनमा खैरहनी नगरपालिका ११, गैंडाहामा ब्युटिफुल माइण्ड रिहाबिलिटेशन सेन्टर सञ्चालनमा ल्याएको जानकारी उनले दिए । मानसिक स्वास्थ्यमा विशिष्टता हासिल गरेका विशेषज्ञ चिकित्सक लगायत सामाजिक रुपान्तरणमा लागेका अभियन्ताहरु, प्राज्ञिक व्यक्तिहरु, व्यवसायी एवम् अन्य विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका व्यक्तिहरुको साझा प्रयासमा अत्यन्त शान्त, रमणीय र बिरामीमैत्री वातावरणमा स्थापित यस रिहाबिलिटेशन सेन्टरमा मात्रै अहिलेसम्म दुई सय जना भन्दा बढीको उपचार भइसकेको रेकर्ड छ । अझै २०/२५ जना उपचाररत छन् ।


डा. गिरीराज भन्तानाले आफ्नो तन, मन, धन नै यहाँ लगानी गरेका छन् । जयमंगलाको घर र पैतृक सम्पत्तिको रुपमा रहेको जग्गा समेत बेचेर ब्युटिफुल माइन्डका लागि लगानी खन्याएको उनले बताए । ३३ जनाको टिम भएपनि ८० प्रतिशत शेयर डा. भन्तानाकै रहेको बुझिन्छ । दिनचर्या पनि यहीँ गुजारेको छु, उनले भने, मानसिक स्वास्थ्य क्षेत्रको राम्रो उन्नति हुने आशमा अन्य प्रबुद्ध वर्गको पनि सहभागिता जोडिएको हो । उनी भन्छन्, हामी सबै जना जुट्यौं भने सफलता अवश्य मिल्छ । मानसिक समस्या बोकेर कोही पनि व्यक्ति परिवारको बोझ बन्नुपर्दैन । ऊ नै परिवारको सहारा बन्न सक्छ ।
यहीँ स्टाफको रुपमा कार्यरत अजय सेन्चुरी पहिले बिरामी थिए, लागुऔषधको कुलतमा फसेका । ‘डा. भन्तानाले आफूलाई नयाँ जीवन प्रदान गरेको’ सेन्चुरी बताउँछन् । भाग्यले यहाँ आइपुगें, उनले भने, ‘नत्र जीवन डामाडोल नै हुने थियो । आफ्नो एकजना डग एडिक्ट साथीको ओभरडोजका कारण मृत्यु भएको खबर हालै सुनेको र आफूलाई निकै दुःख लागेको’ अजयले बताए । यहाँका किचन हेड पनि पहिले मानसिक रोगी नै रहेछन्, अहिले मासिक २५ हजार पाउने गरी यहाँ कार्यरत छन् । त्यस्ता अरु पनि थुप्रै रहेछन्, उपचार सँगसँगै जागिर पनि गर्दै रहेका । लामो समय मानसिक समस्याबाट गुज्रिएकी सुशीला चन्द हमालले पनि ब्युटीफुल माइण्डका संस्थापक डा. गिरीराज भन्तानाले आफ्नो जीवनमा परिवर्तन ल्याइदिएको बताइन् । औषधिउपचार गरी निको पार्नुका साथै जीवनयापनका लागि व्यवसाय सञ्चालनमा समेत ब्युटीफुल माइण्डले सघाएको उनले सुनाइन् । सुशीला यहीँ नजिकै पसल चलाएर बस्छिन् ।


हुन त यहाँको उपचार खर्च केही महँगो देखिन्छ तर सोही अनुसार बिरामीले सेवा, सुविधा पनि राम्रै पाएका छन् । फेरि यो संस्थाले गरीब, विपन्न परिवारका बिरामीको निःशुल्क उपचार पनि गर्ने गरेको बुझिन्छ ।’१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्ने संस्थाको नीति नै रहेको र हालसम्म २०/२५ जनालाई सो सेवा प्रदान गरिसकिएको’ संस्थाका एमडी कृष्णबन्धु अधिकारीले जनाए ।

 

ब्युटीफुल माइन्डले मानसिक समस्या एउटा रोग हो, उपेक्षाको विषय होइन भन्ने सन्देश प्रवाह गर्दै यस्तो समस्या भएका व्यक्तिहरु उपचारपछि पूर्णरुपमा सामान्य र सक्षम हुन्छन् भन्ने सत्यलाई समाजमा स्थापित गराउने महत्वपूर्ण उद्देश्यलाई आत्मसात् गरेको एमडीको भनाइ छ । अब छिट्टै साइकियाटि अध्ययनको इन्ष्टिच्युट नै सञ्चालन गर्ने यहाँको ध्येय छ ।

बाहिरबाहिरै दुरुपयोग भएका फन्डहरु धेरै छन्

#ब्युटिफुल माइन्ड #गिरिराज भन्ताना

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार १७:३८

प्रतिक्रिया दिनुहोस्