बालबालिकालाई विद्यालयमा दैनिक १ गिलास दूध वितरण

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ।

Advertisement 1

बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक १÷१ गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए।

मङ्गला गाउँपालिकाका ५ वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष ३ सय ७७ जना बालवालिका छन। दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु. १५ का दरले अनुदान उपलब्ध गराउँछ। उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२÷०८३ मा रु. ११ लाख ५० हजार बजेट बिनियोजन गरेको छ।

Advertisement 2

४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन्। १ वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ। तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि शुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।

बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको उनले बताए। गत वर्ष यस कार्यक्रमबाट ३ सय ७३ जना बालबालिका लाभान्वित भएका थिए। विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ।

Advertisement 3

विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन्। स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको छ।

प्रकाशित :२०८२ मंसिर ४, बिहीबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry