काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

काभ्रेपलाञ्चोक। जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ। जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

Advertisement 1

जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा नगरपालिकामा १३ र पाँचखाल नगरपालिकामा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमित फेला परेका उनले बताए। पाँचखालमा एक, नमोबुद्ध नगरपालिकामा एक र मण्डनदेउपुर नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।

धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।

Advertisement 2

अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। मनसुनको समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण थप फैलिन नदिन सचेतना र सरसफाइमा सचेतना फैलाइएको सूचना अधिकारी श्रेष्ठले बताए।

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ। ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायत लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित :२०८३ आश्विन २, शुक्रबार १२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry