नेकपा एमालेको भविष्य

नेकपा एमालेले आफूलाई वहुदलीय जनवाद मान्ने राजनीतिक दल भनेर चिनाएको छ। राजनीति जनाउने शब्दको अगाडि जन उपसर्ग थप गर्ने वाम पन्थी दलहरूको फेशन नै हो। प्रजा भन्ने शब्द संग यिनीहरूलाई एलर्जी हुन्छ। यो शब्दलाई राजतन्त्र संग जोडेर हेरिने प्रवृत्ति हुदा यिनीहरूको शब्दकोषमा प्रजा शब्दलाई सकारात्मक मानिदैन। मोही माग्न परे पछि ढंग्रो किन लुकाउने भनेर होला विश्वमा कम्युनिजमको प्रभाव घट्दै गएको परिप्रेक्ष्यमा आफ्नो बचावटको लागि ९० को दशक संगै एमालेले आफूलाई बहुदलीय प्रतिस्पर्धामा उतारेर प्रजातान्त्रिक मार्ग अवलम्वन गर्न खोजेको हो। यसरी एमालेले आफूलाई जबर्जस्त प्रजातन्त्रको कित्तामा उभ्याउने कोशिश गरेको पाईन्छ।
Advertisement 1
तर यहां के कुरा हेक्का राख्न जरूरी छ भने यसले आफूलाई विश्वको आखामा एउटा प्रजातान्त्रिक शक्ति हो भनेर देखाउने तर कम्युनिजमका विशेषतालाई भने पालना गरिरहने दुई धारे नीति लिएको छ। किनभने कम्युनिष्ट मुलुकबाट प्रशिक्षक बोलाएर नेता तथा कार्यकर्ताहरूलाई साम्यवादको प्रशिक्षणमा सहभागी गराउने, निरन्तर रूपमा पार्टीको अध्यक्षता गरी रहने, आफू संग विमति रहने सबैलाई कारवाही गर्ने, पार्टी संगठनमा भय र त्रासको वातावरण बनाउने, जंगेले बेले पछि बोल्यो बोल्यो भन्ने उखान चरीतार्थ हुने गरी पार्टीका अध्यक्षले हुंकार गर्ने जस्ता अधिनायकवादी शैली यो पार्टीका अध्यक्षाट देखाएको पाईन्छ। यो पार्टीका अध्यक्ष र आफूलाई खाटी कम्युनिष्ट हुं भन्ने पार्टीका अध्यक्ष बीच खासै फरक भएको पाईदैन भने एमालेलाई कसरी लोकतान्त्रिक पार्टी हो भनेर मान्न सकिन्छ?
यो पार्टीका अध्यक्षले आफूलाई सर्बेसर्बा बनाएका कारण यो विषयमा कुनै बेला अदालत नै प्रवेश गर्नु परेको उदाहरण छ। त्यस्तै अध्यक्षका एकाधिकारका कारण विगतमा यो पार्टीमा विग्रह आएका उदाहरण पनि छन्, आफू संग प्रतिस्पर्धामा आएकालाई पाखा लगाएका त कति छन् छन्। यसैले आफू नांगै हुदा सम्म पनि यसका अध्यक्षले अरूलाई नंग्याउन बांकि राख्दैनन् कि भन्ने आशंका बलियो भएको छ।
Advertisement 2
नेपालको राजनीतिक प्रणाली बहुदलीय प्रजातान्त्रमा आधारित छ। त्यसैले प्रजातन्त्रमा आस्था राख्ने पार्टीहरू चुनावी प्रतिस्पर्धामा गएर मतदाताको प्रतिनिधित्व गरून भन्ने चाहना नेपालको संविधानले गरेको छ। तर यो भावनाको विपरित चुनावमा जादा प्रजातान्त्रिक भएको नाटक गर्ने र चुनाव जिते पछि प्रजातान्त्रिक ब्यबहार नदेखाउने जस्तो दोहोरो माप दण्ड अपनाउने यो पार्टीको प्रवृत्तिलाई कसरी हेर्ने हो? यहां पार्टी भन्नु र पार्टीका अध्यक्ष भन्नु एउटै अर्थमा बुझ्नु पर्ने हुन्छ।
के एमालेको दर्शनले साम्यवादको गन्तब्य छोडेको हो? यदि छोडेको हो भने पार्टीले आफ्नो नामको अगाडि नेकपा भन्ने शब्द किन जोडेको छ? यदि नेकपा भन्ने शब्द छोड्न नचाहेको हो भने आफूलाई प्रजातान्त्रिक कित्ताबाट किन अलग गर्न नसकेको हो? राजनीतिमा किन दोहोरो मापदण्ड अपनाउदै छ एमाले नामको पार्टीले?
Advertisement 3
वर्तमान विश्वको अर्थतन्त्र खुला बजारमा आधारित छ, र यो निजी क्षेत्रको लगानीमा आधारित छ तर कम्युनिजमको टोपी पहिरेको एमाले, निजी क्षेत्रको हैन सरकारको भूमिकालाई प्रश्रय दिदै अगाडि बढेको छ। निजी क्षेत्रको लगानीको लागि ढोका खोल्न दवाव दिदै गर्दा सो क्षेत्रलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नीतिहरू बनाएर निजी क्षेत्रलाई दुरूत्साहन गर्दैछ एमाले। आफूलाई जनवादको नाममा प्रजातान्त्रिक दलको पर्याय ठान्ने एमालेले नेपालको अर्थतन्त्रमा विश्वको लगानी भित्र्याउन र निजी क्षेत्रको लगानीलाई सहज बनाउन कन्जुस्याई गरेको पाईन्छ।
यसरी भविष्यको एमालेको चाला न हांस न बकुल्लाको जस्तो हुने निश्चित छ। एमालेले भोलीका दिनमा कम्युनिजमको धंगधंगी छोडेर एउटा प्रजातान्त्रिक पार्टीको रूपमा आफूलाई उभ्याउन उसले गरेका हालका गतिविधि र कृयाकलापको समीक्षा गरेर नयां शीराबाट अगाडि बढ्नुको बिकल्प देखिदैन।