समयसापेक्ष व्यापार विस्तारमा साल्ट ट्रेडिङ, लोकप्रिय बन्दै इन्डक्सन

काठमाडौं। सन् २०१५ मा भारतले नेपालमा इन्धन निर्यात बन्द गरिदियो। नेपालको संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले करिब ६ महिना लामो नाकाबन्दी गरेको थियो। नाकाबन्दीले नेपालमा खाना पकाउने ग्यासको हाहाकार निम्त्यो। सँगसँगै पेट्रोल तथा डिजेललगायत अत्यावश्य वस्तुको आपूर्तिमा चरम संकट उत्पन्न भयो। उक्त संकट नै नेपालमा विद्युतीय उपकरण प्रयोगका लागि अवसर बनिदियो। त्यसै समयमा नेपालीका भान्सामा विद्युती (इन्डक्सन) चुलोले पनि प्रवेश पाएको हो।

Advertisement 1

खासगरी भारतीय नाकाबन्दी झेलिरहेका नेपालीलाई केही हदसम्म राहत होस् भनेर चीन सरकारले अनुदानमा इन्डक्सन चुलो उपलब्ध गरायो। त्यसको बिक्री वितरण खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत गर्ने निधो गरियो। चीन सरकारले अनुदानमा दिए पनि ढुवानीलगायतमा खर्च हुँदा नेपाल सरकारले उक्त चुलो बिक्री गर्न मूल्य नै निर्धारण गर्यो। सरकारले सुरुमा इन्डक्सन चुलोको मूल्य ११ हजार रुपैयाँ तोकेको थियो। उक्त मूल्यमा इन्डक्सन चुलोको बिक्री वितरण खासै भएन। सरकारले विभिन्न कारण देखाएर इन्डक्सन चुलोको मूल्य पटकपटक घटाउँदै गयो।

पछिल्लो समय सन् २०२० मा कोरोना महामारी फैलिँदा त्यसको असरले फेरि एकपटक नेपालमा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या आयो। त्यो समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा रहेका चिनियाँ अनुदानको चुलोमा उपभोक्ताको निकै आकर्षण देखिन थाल्यो। चुलोको मूल्य नै घटाएपछि उपभोक्ता पनि खरिदमा आकर्षित भए र इन्डक्सन चुलोको प्रयोग बढ्यो। अर्थात् विद्युत् पनि निरन्तर र भरपर्दो नहुने समयमा इन्डक्सन चुलो ग्यास आपूर्तिमा अवरोध हुँदाको विकल्प थियो।

Advertisement 2

पछिल्लो समय अवस्था बदलिएको छ। विद्युत् आपूर्तिमा भएको सुधारसँगै अधिकांश व्यक्ति आफ्नो भान्सा ‘स्मार्ट’ बनाउन अग्रसर छन्। त्यसैको प्रभाव भन्नुपर्छ, पछिल्लो समय गृहिणीले इन्डक्सन चुलो निकै रुचाउने गरेका छन्। ‘इन्डक्सन चुलो एकदम सजिलो लागिरहेको छ। खाना पनि एकदमै छिटो पाक्ने,’ थापाथली बस्ने गृहिणी सीता थापा मगर भन्छिन्, ‘खासगरी भाँडा माझ्न निकै सजिलो हुन्छ।’ पछिल्लो समय विद्युत् आपूर्तिमा पनि सहजता छ। विगतको जस्तो घण्टौं लोडसेडिङ हुने अवस्था छैन।

विद्युत् आपूर्ति सहज बनेसँगै विद्युतीय चुलोको प्रयोग बढ्दै जानु स्वाभाविक हो। नेपाल सरकारले पनि २ वर्षअघिदेखि नै ‘एक घर, एक विद्युतीय चुलो’को अवधारणा अघि सारेको छ। जसको मुख्य उद्देश्य नेपालमै उत्पादित विद्युत्को खपत आन्तरिक बजारमै बढाउनु हो। साथै खाना पकाउने ग्यासको आयात प्रतिस्थापन पनि हो। भान्सामा इन्डक्सन चुलोको प्रयोगले गृहिणीको स्थास्थ्यमा पनि सुधार आउँछ। ग्यासमा खाना पकाउँदा त्यसबाट कार्बन उत्सर्जन हुन्छ। इन्डक्सन चुलोबाट कार्बन उत्सर्जन हुँदैन। त्यसले गृहिणीको स्वास्थ्यमा फाइदा हुने नै भयो।

Advertisement 3

नेपालको विद्युत् विशुद्ध ‘ग्रीन एण्ड क्लिन’ भएकाले ग्यासले जस्तो नकारात्मक असर विद्युती चुलोबाट नपर्ने विज्ञहरु बताउँदै आएका छन्।

सरकारी पसलमै उपलब्ध

गृहिणीहरु विद्युती चुलोमा अभ्यस्त हुन थालेपछि पछिल्लो समय सरकारले नै विद्युतीय चुलो उपलब्ध गराउन थालेको छ। सरकारी लगानी समेत रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले इन्डक्सन चुलो उपलब्ध गराउँदै आएको छ। साल्ट ट्रेडिङले इन्डक्सनसँगै त्यसमा लाग्ने भाँडा पनि उपलब्ध गराइरहेको छ। जसमा चुलोसँगै कुकर, कराई, फ्राइप्यान, ससप्यान रहेका छन्।

उसो त बजारमा पनि इन्डक्सनलगायत विद्युतीय चुलो नपाइने हैनन्। तर, साल्ट ट्रेडिङ कर्पोरेसन सरकारी संस्था भएकाले बाहिरी बजारको तुलनामा सस्तो पर्ने साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झा बताउँछन्। उनका अनुसार साल्ट ट्रेडिङले इन्डक्सन चुलो छुट्टै पनि बिक्री गर्दै आएको छ। त्यसमा लाग्ने भाँडासमेत खरिद गर्दा ग्राहकलाई फाइदा पुग्ने साल्ट ट्रेडिङका अधिकारीहरु बताउँछन्। ‘भाँडाको सेट छुट्टै किन्न पाइन्छ। अलगअलग भाँडा किन्न पाइँदैन,’ झा भन्छन्, ‘सिंगल चुलो मात्रै पनि किन्न पाइन्छ।’

साल्ट ट्रेडिङ लिमिटेडले २ हजार वाट क्षमताको उक्त चुलोमा उपभोक्ताको आकर्षण निकै देखिएको बताएको छ। गत असोजबाट बिक्री थालिएको चुलोप्रति बजारबाट पाएको प्रतिक्रियाले साल्ट ट्रेडिङलाई थप हौसला मिलेको अधिकारीहरु बताउँछन्।

चुलोको विशेषता

साल्ट ट्रेडिङले बेचिरहेको चुलो ‘मल्टिपल मोड’मा चलाउन मिल्छ। अर्थात् चुलोमा तापक्रम सेट गरेर खाना पकाउन, पानी तताउन वा दुध उमाल्न सकिन्छ। ‘यसको सबैभन्दा धेरै फाइदा चाँही दूध तताइराख्नुपर्ने परिवारलाई हुन्छ,’ झा भन्छन्, ‘तापक्रम सेट गर्दा दूध उम्लेर पोखिने सम्भावना हुँदैन। दूध तातिसकेपछि चुलो आफैं बन्द भइहाल्छ।’

पछिल्लो समय सरकारले ‘मेक इन नेपाल, मेडइन नेपाल’को नीति अघि सारेको छ। इन्डक्सन चुलोको प्रयोग गर्दा नेपालमै उत्पादित बिजुली नेपालमै खपत हुने भएपछि सरकारी नीतिलाई यसको सहयोग पुग्ने नै भयो। समग्रमा मुलुकलाई हुने फाइदा यतिमा मात्रै सीमित छैन। अत्यधिक मात्रामा आयात हुने एलपी ग्यासको खपत घट्छ। खपत घट्दा स्वभाविक रुपमा ग्यासको आयात पनि घट्छ। जसले विदेशी मुद्रा खर्च हुनबाट जोगाउँछ।

ग्यासको तुलनामा इन्डक्सन चुलो सुरक्षित र सस्तो रहेको त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डाक्टर जगन्नाथ श्रेष्ठ बताउँछन्। उनले पूल्चोक कलेजमा एक परीक्षण नै गरेर ग्यासभन्दा विद्युती चुलोमा खाना पकाउँदा सस्तो र सुरक्षित हुने प्रमाणित गरेका थिए। उनको परीक्षणको निष्कर्ष विद्युतीय चुलोको प्रयोगले एकदिनमा ४२ हजार ग्यास सिलिन्डर विस्थापित हुने रहेको थियो। गृहिणी सीताका अनुसार खाना पकाउँदा ग्यासभन्दा इन्डक्सन चुलोमा ३५ देखि ४५ प्रतिशत सस्तो पर्छ।

इन्डक्सन चुलो बिक्री गरिरहेको साल्ट ट्रेडिङ कमपनीले पनि ग्यासको तुलनामा इन्डक्सन चुलो करिब ४० प्रतिशत सस्तो पर्ने दाबी गरेको छ। कम्पनीले इन्डक्सन चुलो सेट बिक्रीका लागि एउटा कम्पनीसँग सम्झौता नै गरिएको बताएको छ। हाल चुलोसहित उक्त ‘भान्सा सेट’कै मूल्य साढे ९ हजार रुपैयाँ पर्छ। त्यस्तै चुलोको मात्रै मूल्य ४ हजार रुपैयाँ पर्ने कम्पनीका अधिकारीहरु बताउँछन्। यसअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मल, चिनी, खोनेतेल, ग्यास, मैदा, सुजी, चामल दाल र हाते कागजको आपूर्ति गर्दै आएको थियो। अहिले समय सापेक्ष व्यापार विस्तार गर्ने नीतिअनुसार साल्ट ट्रेडिङ कर्पोरेसन इन्डक्सन चुलो बिक्रीतर्फ लागेको हो।

कम्पनीको उक्त काम सरकारी संस्थानले समयसापेक्ष व्यापार गरी बजारमा कसरी हस्तक्षेप गर्नुपर्छ भन्ने उदाहरण बनेको उपभोक्ताकर्मीहरु बताउँछन्। बजारमा थरिथरि मूल्यमा बिक्री भइरहेको उस्तै वस्तुको मूल्यबारे उपभोक्तामा चेतना जगाउन पनि साल्ट ट्रेडिङको उक्त कामले निकै सघाएको छ। पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सरकारी संस्थानले समयसापेक्ष व्यापारका क्षेत्र फराकिलो बनाउनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित :२०८१ माघ १३, आईतवार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry