विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन ।

Advertisement 1

नास्टको आज भएको ४५औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान–प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

यस क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिए ।

Advertisement 2

मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ–नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाजोपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उनले भने, “प्रतिष्ठानले केही समय अगाडि मात्र नेपालको स्याटेलाइटलाई अन्तरिक्षमा पुर्‍याउन गरेको सफल प्रयासका लागि यस कार्यमा संलग्न सबै वैज्ञानिक तथा प्राविधिकहरूलाई बधाई दिन चाहन्छु । विगत दुई वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक उपकरण र प्रविधि विकास गर्न नवप्रवर्तकहरूलाई सहयोग गर्दै आइसोलेसन बुथ निर्माण गरी नेपाल सरकारका सबै सुरक्षा निकाय, विभिन्न स्वास्थ्य सङ्घसंस्था र स्थानीय निकायहरूलाई उपलब्ध गराउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु ।”

Advertisement 3

नास्टले नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न तथा प्रयोगमा आएका सिलिन्डरको परीक्षण गर्न गरेको प्रयासको उनले उच्च मूल्याङ्कन गर्न चाहन्छु भने ।

प्रधानमन्त्री देउवाले जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सबै युवा वैज्ञानिक र विज्ञ प्राविधिकहरूलाई थप लगनशील र जागरुक भई मुलुकको विकास र समृद्धिको लागि उपयोगी हुने नयाँ खोज र अनुसन्धानमा लाग्नका लागि अभिप्रेरित गरे ।

“विज्ञान शिक्षकहरूलाई प्रशिक्षण, सूचना पहुँच केन्द्रको स्थापना, मूर्धन्य वैज्ञानिक/प्राविधिकहरूलाई पुरस्कृत गर्ने तथा अनुसन्धानकर्मी संस्थाहरूलाई सहयोग गर्नेलगायतका कार्यक्रम पनि प्रतिष्ठानबाट सञ्चालन भएका छन् । यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा थप विस्तार गर्दै जान आवश्यक छ भन्ने मलाई लागेको छ”, प्रधानमन्त्री देउवाले भने।

प्रतिष्ठानले गत आर्थिक वर्षमा सम्पादन गरेका काम–कारबाहीहरूको विस्तृत समीक्षा गरी सम्पादन हुन नसकेका कार्यहरूलाई नयाँ सोच र रणनीतिका साथ चालु आर्थिक वर्षभित्रै यथाशीघ्र सम्पादन गर्न मार्गनिर्देश गर्ने अपेक्षा उनले व्यक्त गरे । प्रतिष्ठानलाई कार्य सम्पादन गर्ने सन्दर्भमा भोग्नुपरेका चुनौती र समस्या सम्बन्धमा पनि रचनात्मक छलफल गरी आगामी दिनमा ती समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक उपायहरू पहिल्याउन पनि बैठक सहयोगी हुनेमा प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

प्रकाशित :२०७८ फाल्गुन ६, शुक्रबार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry