नबिल बैंकबाट खातावालको पैसा गायब :-न्यूरोडपछि बालाजु शाखामा अर्को अपचलन
मुलुककै एकमात्र अर्बपति विनोद चौधरीको परिवारको मुख्य लगानी रहेको नबिल बैंक पछिल्लो समय वित्तीय अपराध गर्न अग्रपक्तिंमा देखिएको छ । बैंकका उच्च पदस्थ कर्मचारीको मिलेमतोमा पोखरा न्यूरोड शाखा,बालाजु शाखा र दमक शाखाबाट खाता होल्डरको पैसा निकालिएको घटना सेलाउन नपाउँदै बैंकको काठमाडौंस्थित अर्काे शाखाबाट ग्राहकको पैसा गायब बनाइएपछि पीडित न्याय खोज्दै प्रहरी प्रशासनसम्म पुगेका छन् ।
Advertisement 1
नबिल बैंकका एक पछि अर्काे शाखाबाट ग्राहकको पैसा गायब हुने घटनाक्रम बढ्दै गएको छ । केही समय अघि पोखरा स्थित न्युरोड शाखाबाट ग्राहकको करोडौँ निक्षेप कर्मचारीहरुले अपचलन गरेको घटना घट्यो । बैंककै उच्च तहकै कर्मचारीले विगत ६ वर्षअघि देखि ग्राहकबाट लिएको पैसा आफैंले प्रयोग गर्ने र ग्राहकलाई नक्कली भौचर र कागजातहरू दिने गरेको भेटिएको हो । यस घटनामा संलग्न कर्मचारीले चेकसमेत व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको घटना केही अघि सार्वजनिक भएको थियो । ती कर्मचारीले करिब ४० करोडभन्दा माथिको रकम हिनामिना गरेको अनुमान गरिएको छ ।
न्यूरोड शाखाबाट ग्राहकको रकम अपचलन भएको घटना सेलाउन नपाउँदै फेरि बालाजुशाखाबाट ग्राहकको रकम गायब बनाइएको घटना सार्वजनिक भएको छ ।नबिल बैंकको खाताबाट नुवाकोटको एक महिलाको पैसा हराएको छ । एटिएम कार्ड र मोबाइल बैंकिङ समेत प्रयोग नगर्ने ती महिलाको पैसा बैंकको खाताबाट गायब बनाइएको हो । पीडित महिलाले २०८० असार ६ गते आफ्नो खाताबाट पैसा झिक्न जाँदा बल्ल पैसा चोरी भएको थाहा पाएकी थिइन । ग्राहकले २०७९ मङ्सिर २१ गते जम्मा गरेको पचास हजार रुपैयाँ गायब बनाइएको भेटिएपछि ती खाता होल्डरले बैंकमा गुनासो गर्न पुगिन तर सुनुवाई नभए पनि उनी हालै उजुरी बोकेर बालाजुस्थित प्रहरी कार्यलयमा उजुरी दर्ता गरेका छन् । इकर्मचारी डटकमले बालाजु वृत्तका प्रहरीसँग यस बिषयमा जिज्ञासा राख्दा नबिल बैंकको खाता होल्डरको खाताबाटै बाट पैसा गायब भएको विषयमा जाहेरी परेकाले अहिले अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन् ।
Advertisement 2
यस अघि नबिल बैंककै पोखरा शाखाबाट ग्राहकको खाताबाट ४० करोड गायब भएको थियो । बैंकका पोखरा न्युरोड शाखामा उच्च तहकै कर्मचारीले पछिल्लो ६ वर्षदेखि ग्राहकबाट लिएको पैसा आफैँले प्रयोग गरि ग्राहकलाई नक्कली भौचर दिइएको भेटिएको थियो ।
यस अघि बैंकको दमक शाखाबाट शाखाका कर्मचारीले अरुको जग्गा धितो राखेर तथा कमसल धितो राखेर कर्जा प्रवाह गरेको घटना समेत सार्वजनिक भएको थियो । दमक शाखाका कर्मचारी, मूल्यांकनकर्ता लगायतका व्यक्तिको मिलेमतोमा एउटा गिरोहलाई नै जग्गा तथा कमसल धितो राखेर ऋण दिइएको थियो । जसबाट बैंकलाई करोडौंको नोक्सानी भएको थियो । बैंकले यस अघि झैं अहिले बालाजु र पोखरा न्यरुोड शाखाको घटना भित्रभित्रै सामसुम पार्न चलखेल गरिरहेको जनाइएको छ ।