राजनीतिमा किन भिड?
राज्यको विकासको लागि सर्वोत्कृष्ट मानिएको नीति राजनीतिमा लाग्न किन मरिहत्ते हुने गर्छ? देश र जनताको सेवा गर्ने काम पुण्यात्मक काम हो। यो नाफा मुखी काम हैन र यो पेशा ब्यबसाय पनि हैन र यो विशुद्ध सामाजिक सेवा हो र यसमा लाग्नेहरू जनताका सेवक हुन। के नेपालको राजनीतिमा लाग्नेहरू यही अवधारणाबाट प्रेरित छन्?
यो दौडधूप र भिडभाड त्यसैका लागि हो? पदमा जान यसरी मरीहत्ते गर्ने काम त्यसैका लागि हो? तर यसको उत्तर खोज्ने हो भने केवल नकारात्मक रहन्छ। किन यस्तो पवित्र कामको उद्देश्य अपवित्र हुन पुग्यो? अनि यसरी गरिएको राजनीति देश र जनताको विकासमा केन्द्रित भएको पाईएको छ? अवश्य छैन। एक चोटी पदमा पुगे पछि त्यो पदबाट अवकाश लिन नचाहने, निर्वाचनमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर धांधली गरेर भए पनि परिणाम आफ्नो पक्षमा पार्न उद्दत हुने,राजनीतिक पदमा अपराधी, कालो बजारीलाई नियुक्त गर्ने, चन्दाको नाममा अवैध धनलाई पार्टीमा प्रवेश गराउने जस्ता कार्य गरेर राजनीतिलाई प्रदूषणमय बनाउने, जीबीकोपार्जन र अकूत सम्पतिको माध्यम राजनीतिलाई बनाउने प्रबृत्तिका मान्छे यो क्षेत्रमा लागे पछि राजनीति बिकृत र प्रदूषणयुक्त हुन पुग्यो। ईमान्दार र समाजसेवी कार्यकर्ता पाखा लाग्नु पर्ने अबस्था बनेको परिप्रेक्ष्यमा किन हानथाप हुदैछ यो क्षेत्रमा!
यो क्षेत्रमा लाग्नेहरू उपर जनताले देखाउने नैराश्य र घृणाले राजनीतिको स्वरूप कस्तो हुदैछ सहजै कल्पना गर्न सकिन्छ। यस क्षेत्रमा लाग्नेहरूबाट नै यस किसिमको अनुभूति ब्यक्त गरिरहदा यिनीहरूले आफूलाई सुधार्न पर्ने हो कि हैन? अनि राजनीति गर्छु भन्नेको भिड कता झुम्मिदै छ? यस्तो भिड राजनीतिक सिद्धान्त, दर्शन र विचार तिर भन्दा सत्ता र शक्ति तिर लाग्ने गरेको पाईएकोले पनि यसले राजनीतिक वातावरणको चित्र स्पष्ट देखिन्छ। यसरी विग्रेको राजनीतिक माहोलले राजनीतिको मर्म र भावनालाई बोक्न सकेको पाईदैन।तै पनि यो क्षेत्रमा किन भिड छ? यसको जवाफ स्पष्ट छ कि मुलुकमा बेरोजगारी छ, मेहनत र परिश्रम गरेर रोजगारी पाउन यूवाहरूमा रूची छैन, गरीबी दिनानुदिन बढ्दै छ, लगानीका अवसरहरू सीमित हुदैछन्, गुणस्तरीय शिक्षा दिन सरकार सक्षम छैन, निजी क्षेत्रबाट प्रदान गरिने सेवाहरूमा राज्यको मध्यम वर्गको पहुच छैन, शिक्षा, स्वास्थ्य र सुरक्षा सर्वसाधारणको पहुचबाट दिन दिनै टाढा हुदैछ। यस्तो परिस्थितिको निर्माण हुनुको कारण वर्षेनी श्रम बजारमा आउने युवा शक्ति या त विदेश पलायन हुन्छन् या त नेताको झोला बोक्न जान्छन्।
फेरि नेपालको राजनीतिक गन्तब्य स्पष्ट पार्न राजनीतिक दलहरू चुकेका छन्। देशको साधन र श्रोतलाई देश विकासमा सदुपयोग गर्ने माध्यम र राजनीतिक गन्तब्यमा नेपालका राजनीतिक दलहरूमा ईमान्दारिता देख्न पाईएन। यी दलहरूले आफ्नो देश र परिवेशलाई हेरेर राजनीति गर्नु पर्नेमा बाहिरको हावाबाट प्रभावित हुन पुगेका कारण नेपालको राजनीति मौसमी हुन पुग्यो र नयां पुस्ताहरूलाई पनि आ-आफ्ना अनुयायी बनाउन तल्लीन नेताहरूले सबै यूवाहरूलाई विद्यालय तहबाटै आफ्नो पछाडि लामबद्ध गराउन थाले। यही कारण हो नेपालको राजनीतिमा अनावश्यक भिड लाग्ने वातावरण बनेको। यो वातावरणले राजनीति प्रति जनताको वितृष्णा बढाउन मद्दत गरेको मात्र हैन यो क्षेत्र अपराधीकरणको केन्द्र नै बन्न पुगेको छ। सज्जन र ईमान्दार मानिसले रहन र बस्न मिल्ने क्षेत्र यो बन्दै छैन।
यसरी मन र शरीर फरक भएका मानिसको बर्चस्व यो क्षेत्रमा हुने बेला सम्म गरिने राजनीतिले देश र जनताको लागि सकारात्मक फल दिदैन। त्यसैले अबको राजनीति त्यस्तो राजनेताको हातमा सुम्पिनु पर्छ जसले राजनीतिको सहज गन्तब्य पहिल्याओस् र देशको प्राकृतिक र मानवीय श्रोतको सफल परिचालन गरेर देशबाट बेरोजगारी हटाउन सकोस् र वर्षेनी विदेश पलायन हुने युवाको प्रवाह रोक्न सकोस्। यो काम गर्न हामी जति ढिला गर्छौ उति नै हामी खाडलमा भास्सिदै जान्छौ। अबको हाम्रो राजनीति भिडतन्त्रमा हैन गुणतन्त्रमा बदल्नु पर्छ र राजनीतिलाई देश र जनताको सेवा गर्ने एक मात्र माध्यममा बदल्न सक्नु पर्छ।
प्रकाशित :२०७८ मंसिर २७, सोमबार ०७:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%