राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सव सम्पन्न भएको छ। अर्थमन्त्री विष्णुप्रसद पौडेलको प्रमुख आतिथ्यतामा बिहीबार कार्यक्रम गरिएको हो। सो क्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाबमा रहे पनि पछिल्लो समय सुधार हुँदै गएको बताए। अहिलेको बढ्दो तरलतालाई बैंकले उत्पादन र रोजगारी सिर्जनामा लगाउन आग्रह गर्दै उनले औसत कार्यभन्दा असाधारण कार्य गर्नुपर्ने बताए।

Advertisement 1

एनले राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकलाई उछिन्ने गरी काम गर्नुपर्ने बताए। मन्त्री पौडेलले बैंकको ६०औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका ‘उपहार २०८१’ विमोचन गरे। बैंकको ६०औं वार्षिककोसवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन पनि गरे।

त्यस्तै अर्थमन्त्री पौडेलले सोही कार्यक्रममार्फत कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको पनि डिजिलट माध्यमबाट उद्घाटन गरे। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न आरोहअवरोह पार गर्दै आएको यो बैंकको अहिलेको अवस्था गर्व गर्नलायक भएको बताए। यो बैंकको पुँजीको विकासको लागि आउने प्रस्तावप्रति राष्ट्र बैंक उदार रहेको उनले बताए।

Advertisement 2

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले नेपाल सरकारले प्राथमिकता प्राप्त क्षेत्र भनी घोषणा गरेका क्षेत्रहरु जस्तै कृषि, ऊर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैंक निरन्तर लागि परेको बताए। उनले यस बैंकले सुन खरिद बिक्री गर्ने कार्य समेत सुरु गरेको बताए। बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको उनले बताए।

Advertisement 3

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पुस २९ गते १९औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको जानकारी गराए।

२०८१ पुस मसान्तमा बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब, कुल कर्जा सापट २ खर्ब ८४ अर्ब, चुक्तापुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती ५ खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब रुपैयाँ पुगेको छ। उनले २०८१ पुस मसान्तमा बैंकको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको बताए।

यसै आर्थिक वर्षबाट बैंकले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जाजस्ता नयाँ कर्जाहरुमार्फत आफ्नो सेवा थप विस्तार गर्ने उनको भनाइ थियो।

प्रकाशित :२०८१ माघ १०, बिहीबार १७:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry