खाद्यान्न भण्डारणमा सर्वसाधारण आकर्षण

काठमाडौं। आधुनिक खाद्यान्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको देखिएको छ। सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइनेलगायत सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो।
Advertisement 1
नेपाल वेयरहाउजिङ कम्पनीले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सुनसरी, बक्राहका किसान तारानन्द यादवले कृषकले उत्पादन गरेको अनाज सुरक्षित रुपमा भण्डारण गर्ने सुविधा उपलब्ध भइसकेको जानकारी पाएपछि आफूले उत्पादन गरेको अन्न सुनसरीको गढीस्थित उक्त भण्डारण गृहमा राखेको बताए।
भण्डारण गरेको अन्न बढी मूल्य आउने बेलामा बिक्री गर्ने योजना रहेको पनि उनले बताए। सुनसरीको गढीस्थित भण्डारण गृह सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको अवसरमा कम्पनीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले उक्त भण्डारण गृहमा दाना उद्योग र सर्वसाधारण किसानले आफ्ना अनाज भण्डारण गरेको जानकारी दिए।
Advertisement 2
मैदा र तेल मिल तथा खाद्य प्रशोधन उद्योगहरुले पनि आधुनिक साइलो (सुरक्षित रुपमा अन्न भण्डारण गर्ने ट्यांकी) बारे जिज्ञासा राखेको उनको भनाइ छ।
अन्तरक्रिया कार्यक्रममा कम्पनीका महाप्रबन्धक समिरराज सत्यालले साइलोमा अनाज राख्ने तरिकाबारे जानकारी गराए। उनका अनुसार साइलोमा राख्नुअघि अनाजलाई सफा गरिन्छ। ‘अन्नमा हुनसक्ने धातु र अखाद्य वस्तु हटाएर मात्र साइलोमा राखिन्छ,’ उनले भने, ‘साइलोमा राखेको अन्न ९ नौ महिनासम्म ताजा बस्छ। कुहिने, किरा लाग्ने जस्ता समस्या हुँदैन।’


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                