पोखरासँगको रोमाञ्चक जितसँगै सुदूरपश्चिम रोयल्स प्लेअफमा
काठमाडौं। लिग चरणको आफ्नो एक खेल बाँकी हुँदै सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ। आइतबार दिउँसो भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराएर सुदूरपश्चिम प्लेअफमा प्रवेश गरेको हो।
Advertisement 1
जितका लागि १५४ रनको लक्ष्य दिएको पोखरालाई १४८ रनमै अलआउट गरेपछि सुदूरपश्चिमले ५ रनले जितेको हो। यस जितसँगै सुदूरपश्चिम रनरेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेर क्वालिफायर-१ खेल्ने गएइ प्लेअफमा पुगेको हो।
सुदूरपश्चिमको जितमा स्कट कुग्लाइनले ५ महत्वपूर्ण विकेट लिए। उनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्च गरेर ५ विकेट लिए। पोखराका लागि दिनेश खरेलले १२ बलमा १५, आन्द्रिस गौसले २१ ब्लमा ३६, रेमन रेफरले २८ बलमा ३३ तथा किरण ठगुन्नाले २८ बलमा ३२ रन बनाए।
Advertisement 2
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सोमबार लिग चरणको अन्तिम खेल सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने तालिका छ। प्ले अफमा जनकपुर बोल्ट्स, चितवन राइनोज पुगिसकेका छन्।
अंक तालिकाको शीर्ष स्थानमा हुने दुई टीमले क्वालिफायर १ खेल्नेछन्। त्यसपछिका तेस्रो र चौथो स्थानमा हुने टीमले इलिमिनेटर खेल्नेछन्।
Advertisement 3
कर्णाली र काठमाण्डु गुर्खाजको प्ले अफको टुंगो सोमबार लाग्नेछ। सुदूरपश्चिमसँग हुने सोमबारको खेलमा कर्णाली फराकिलो अन्तरले पराजित भएमा मात्रै काठमाण्डु प्ले अफमा पुग्नेछ।