१० वर्षपछि विश्वकप मैदानमा नेपाली क्रिकेट टिम, नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं। आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल आज मंगलबार नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो।

Advertisement 1

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागि हुँदैछ। नेपाल र नेदरल्याण्ड्स दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्। तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।

विश्वकपअन्तर्गत अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा आज राति हुने उक्त खेलमा नेपाल विजयी लक्ष्य हासिल गर्ने मनाेबलसहित मैदानमा उत्रँदैछ। त्यसो त नेदरल्यान्ड्स पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ।

Advertisement 2

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्ड्सविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए। नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको छ।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्सविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे।

Advertisement 3

विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन्।

अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन्। त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउने छन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउने छन्।

विश्वकपमा नेपाल र नेदरल्यान्ड्स समूह ‘डी’मा रहेका छन्। नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्। नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेदेखि हुनेछ। यसअघि समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ।

प्रकाशित :२०८१ जेष्ठ २२, मंगलवार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry