मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि
विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।
Advertisement 1
उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
Advertisement 2
अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर बिशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरी टिमलाई अग्रता दिलाए । युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।
प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए । उनले ११ हजार पाए ।