प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने

काठमाडौं। यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते हुने भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको हो।
Advertisement 1
उक्त प्रतियोगिताअन्तर्गत ४२ दशमलव १९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन आयोजना हुने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः रु ३ लाख, रु २ लाख र रु १ लाख नगद पुरस्कार प्रदान गरिनेछ।
हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः रु १ लाख, रु ७५ हजार र रु ५० हजार प्रदान गरिने तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजङ्ग राणाले जानकारी दिए।
Advertisement 2
सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकास प्राप्त तथा सेवारत सकलदर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दूरीको दौड प्रतियोगिता पनि आयोजना हुनेछ।
सोही दिन आयोजना हुने ५ किमी दूरीको वाकाथनमा प्रमुख अतिथि र आमन्त्रित उच्च पदस्थ व्यक्तिको सहभागिता हुने केन्द्रका सेनानी गगनबहादुर महतराले जानकारी दिए। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित ५ किमी दूरीको दौडसमेत सञ्चालन हुनेछ। १० किमी र ५ किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः रु १० हजार, रु ७ हजार र रु ५ हजार नगद प्रदान गरिने छ।
Advertisement 3
विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएकामा यस वर्ष यस ११औँ संस्करणको प्रतियोगितामा आयोजना हुनेछ। विभिन्न ५ विधामा करिब २ हजार ५०० धावकको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ। यसवर्ष महाशिवरात्रि तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ।















