संगठनमा भावनात्मक व्यवस्थापन

कुनै पनि व्यक्तिलाई मन भित्र भएका भावनाहरूबाट अलग गर्न सकिदैन । सङ्गठनमा कुनै पनि व्यक्ति एक्लै आउदैन, व्यक्तिसङ्गै उसका भावनाहरु पनि आउछन् । कुनै पनि कर्मचारीको भावनात्मक अवस्थाले सङ्गठन भित्र सृजना हुने वातावरण तथा कार्य सम्पादनको स्तर र प्रभावकारितालाई निर्धारण गर्ने भएकोले एक असल व्यवस्थापनले कर्मचारीको भावनात्मक अवस्थाको पनि व्यवस्थापन गर्न जान्नु पर्छ । कुनै पनि कर्मचारीको शरिर मात्र स्वस्थ्य भएर हुदैन मन पनि स्वस्थ्य हुनु महत्वपुर्ण हुन्छ ।
मनको अवस्था अनुसार व्यक्तिले बाहिर प्रवाह गर्ने उर्जा नै भावना हो । मनको अवस्था व्यक्तिको दैनिक जीवन यापनको शैली र सोचाई उपज हो । आशापुर्ण सोचाई र स्वच्छ जीवन शैलीले व्यक्तिको मनमा सकारात्क भावनाको विकाश गर्दछ भने अस्वस्थ्य जीवनशैली र निराशापुर्ण सोचाईले व्यक्तिमा नकारात्मक भावनाको विकाश गर्दछ । सकारात्मक भावना भएका कर्मचारीले संगठनमा उत्साहजनक वातावरणको सृजना गर्दछन् । जसले एउटा समुहकै कार्यसम्पादनको स्तरलाई उठाउछ भने नकारात्मक भावना भएका व्यक्तिले विशाक्त वातावरणको सृजना गर्दछन् जसले व्यक्तिको मात्र नभई समुहकै कार्य सम्पादनको स्तरलाई तल खसाल्छ । मानिसको मन भित्र हुने भावनालाई मुख्यत दुई भागमा विभाजन गर्न सकिन्छ, सकारात्मक र नकारात्मक । सकारात्मक भावनाका तीन अवस्था हुन्छन् । जसलाई तलको चित्रबाट अझ स्पष्ट पार्न सकिन्छ ।

Advertisement 1

१. खुसीः
यो कुनै पनि कर्मचारी भित्र नकारात्मक भावना निकै कम भएको अवस्था हो । यस्ता कर्मचारीका मुहार हसिला र व्यवहार रसिला हुन्छन् । जहा जान्छन्, मधुर वातावरण सृजना गर्दछन् । यस्ता कर्मचारीहरु सधै काम गर्न तत्परता देखाईरहन्छन् । यीनीहरुको व्यक्तिगत स्तरमा पनि कार्यसम्पादनको स्तर निकै राम्रो हुन्छ । कार्यगतस्तरमा यस्ता कर्मचारीहरु उपयुक्त हुन्छन् । यस अवस्थामा कर्मचारीको परिस्थिति या व्यक्ति प्रति गुनासो गर्ने बानी नै हुदैन । संगठनमा यीनीहरुको अन्य कर्मचारीहरुसङ्ग सम्बन्ध राम्रो हुन्छ ।
२. प्रेम र करुणाः
लामो समय देखि नकारात्मक भावनाबाट टाढा रही खुसी र सन्तुष्टी अनुभव गरिरहेका कर्मचारीको मनमा प्रेम र करुणा जस्ता भावनाको विकाश भएको हुन्छ । यीनीहरुमा कसले के गर्यो भन्दा पनि किन गर्यो भनेर हेर्न सक्ने क्षमता हुन्छ । प्रेम र करुणाको भावना समेत भएका व्यक्तिहरुले सकारात्मक साथै नकारात्मक भावना भएका व्यक्तिहरुलाई पनि समुहमा समेटेर काम गर्न सक्ने क्षमता राख्दछन् । यस्ता कर्मचारीको समिपमा आउने नकारात्मक भावनायुक्त व्यक्तिहरुमा पनि बिस्तारै परिवर्तन देखिन थाल्छ । विशेषगरी व्यवस्थापन स्तरमा यस्ता व्यक्तिले निकै राम्रो काम गर्न सक्दछन् ।
३. स्थिर अवस्थाः
लामो समयसम्म खुसी रहने तथा हृदयमा प्रेम र करुणा बोकेका व्यक्तिहरुमा बिस्तारै ज्ञानको विकाश हुन्छ । यस्ता व्यक्तिहरु बाहिरबाट खुसी देखिन्छन् । हृदय प्रेम र करुणाले भरिएको हुन्छ र भित्रबाट स्थिर हुन्छन् । जस्तोसुकै चुनौती र समस्याहरुले यीनीहरुलाई हल्लाउन सक्दैन । जस्तोसुकै दबाबको अवस्थामा पनि यीनीहरुले विवेकको प्रयोग गर्दछन् । यो स्तरको भावना भएका व्यक्तिहरु कम हुन्छन् । यस्ता व्यक्तिहरु संगठनको निर्णय स्तरमा उपयुक्त हुन्छन् । यस्ता व्यक्तिहरु नेतृत्वमा भएका संगठनले देखिने गरी प्रगती गर्दछ ।
सकारात्मक भावना जस्तै नकारात्मक भावनाको तीन वटा अवस्था हुन्छन् । जसलाई तलको चित्रबाट अझ स्पष्ट पार्न सकिन्छ ।

Advertisement 2


१. रिसाउनेः
कुनै पनि कर्मचारी भित्र सकारात्मक भावना निकै कम भएको अवस्था हो । यो स्तरको नकारात्मक भावना भएको कर्मचारीले सामान्य अवस्थामा पनि रिसमउने झर्कने गरिरहन्छ । यस्ता कर्मचारीको मुहार नै मलिनो हुन्छ । यस अवस्थामा कर्मचारीले परिस्थिति या व्यक्ति प्रति गुनासो गरिरहन्छ । काम छल्न बाहनाहरु देखाईरहन्छन् । यस्ता कर्मचारीको व्यक्तिगत स्तरमा पनि कार्यसम्पादनको सन्तोषजनक हुदैन । अन्य कर्मचारीहरुसङ्ग सम्बन्ध बिग्रिएको हुन्छ । यस्ता कर्मचारीहरुसङ्ग अन्य कर्मचारीहरु टाढै बस्न खोज्दछन् ।
२.दुखी हुनेः
लामो समय देखि सकारात्मक भावनाबाट टाढा रही रिसाउने झर्कने गरिरहेका कर्मचारीको मनमा दुखी हुने भावनाको विकाश हुन्छ । सधै यीनीहरु दुखी देखिन्छन् । यस्ता कर्मचारीको मुहार नै अध्यारो हुन्छ । यीनीहरु सधै जसो फलानाले यसो गर्यो भनेर त्यसैमा अड्किएर बस्दछन् । यीनीहरु जहा जान्छन् वातावरण बिगार्छन् । यस्ता कर्मचारीको सामिप्यमा लामो समय बसेको अन्य कर्मचारीमा पनि नकारात्मक भावनाको विकाश हुन थाल्दछ । यस्ता कर्मचारीको व्यक्तिगत स्तरमा पनि कार्यसम्पादनको अलपत्र नै हुन्छ । समुहमा काम गर्न सक्दैनन् ।
हिन्सकः
लामो समय देखि सकारात्मक भावनाबाट टाढा रही रिसाईरहने, दुखि हुने अभ्यासमा रहेका कर्मचारीको मनमा अब हिन्सक भावना पनि आउन थाल्छ । यीनीहरुको सामान्य अवस्थामा पनि हिन्सक प्रस्तुती हुन्छ । सकेको ठाउमा हातपात नै गर्न खोज्दछन् भने नसकेको ठाउमा बोलीले हिन्सा गर्दछन् । यीनीहरु जहा जान्छन् वातावरण नै बिषाक्त बनाउदछन् । यस्ता कर्मचारीको व्यक्तिगत स्तरमा पनि कार्यसम्पादनको स्तर ऋणात्मक हुन्छ । यिनीहरु जुन समुहमा गयो त्यो समुह नै बिग्रन्छ ।
व्यवस्थापनः
समान्यतया कुनै पनि सङ्गठनमा शत प्रतिशत सकारात्मक भावना मात्र भएका कर्मचारीहरु कम हुन्छन् । त्यसैगरी शत प्रतिशत नकारात्मक भावना मात्र भएका कर्मचारीहरु पनि कम नै हुन्छन् । धेरै कर्मचारीहरुमा सकारात्मक भावना र नकारात्मक भावना संयोजन हुन्छ । एक कुशल व्यवस्थापकले पुर्ण रुपमा नकारात्मक भावना भएका कर्मचारीको संख्या न्युनिकरण गरी पुर्ण रुपमा सकारात्मक भावना भएका कर्मचारीको संख्या बढाउन प्रयास गर्ने हो जसका लागि देहाय बमोजिम गर्न सकिन्छ ।
१. रिसाउने झर्कने स्तरको नकारात्मक भावना भएका कर्मचारीलाई खुसी रहने कर्मचारीहरु सदस्य भएको तथा प्रेम र करुणाको स्तरमा भएका कर्मचारीले नेतृत्व लिएको समुहमा मिसाउनु पर्दछ । साथै सम्भव भएसम्म जीवन यापन सिप र सकारात्मक भावनाको विकाश हुने तालिममा सहभागी गराउनु पर्दछ । जसको परिणाम स्वरुप यीनीहरुमा बिस्तारै परिवर्तन आउछ । नकारात्मक भावनाको मात्रा घट्दै जान्छ । कार्य सम्पादनको स्तरमा सुधार हुनै जान्छ ।
२. बेला बखतमा रिसाउने झर्कने साथै सधै जसो दुखी हुने स्तरको नकारात्मक भावना भएका कर्मचारीलाई खुसी रहने कर्मचारीहरु सदस्य भएको तथा प्रेम र करुणाको स्तरमा भएका कर्मचारीले नेतृत्व लिएको समुहमा मिसाउनु पर्दछ । समुहको नेतृत्वले नियमित परामर्श गर्नु पर्दछ । साथै जीवन यापन सिप र सकारात्मक भावनाको विकाश हुने तालिममा सहभागी गराउनु पर्दछ । जसको परिणाम स्वरुप यीनीहरुमा बिस्तारै परिवर्तन आउछ । नकारात्मक भावनाको मात्रा घट्दै जान्छ । कार्य सम्पादनको स्तरमा सुधार हुनै जान्छ ।
३. हिन्सक हुने स्तरको नकारात्मक भावना भएका कर्मचारीलाई संस्थाको लागि हानीकारक हुन्छन् । हिन्सात्मक स्तरमा कुनै कर्मचारी पुगेको थाहा हुने वित्तिकै सम्भव भएसम्म अन्य कर्मचारी वा बाहिरी पक्षको कम सम्पर्क हुने ठाउमा स्थान्तरण गर्नु पर्दछ । साथै भावनात्मक रुपमा स्थिर भएका नेतृत्वले यस्ता कर्मचारीलाई निगरानीमा राख्नु पर्दछ र यथासक्य छिटो मनोपरामर्शमा पठाउनु पर्दछ । अन्यथा संस्थाले ठुलो मुल्य चुकाउनु पर्ने पनि हुन सक्दछ ।
४. कार्य समुह बनाउदा सम्भव भएसम्म धेरै सकारात्मक भावना भएका र केही नकारात्मक भावना भएका कर्मचारीको संयोजन गरेर बनाउनु पर्दछ ।
५. सम्भव भएसम्म कार्य समुहको नेतृत्वमा प्रेम र करुणाको भावना भएका कर्मचारीलाई दिनु पर्दछ ।
६. साना साना गुनासाहरू सकेसम्म सम्म समयमै सम्बोधन गर्नु पर्दछ ।
७. कुनै पनि कर्मचारी शत प्रतिशत खराब या शत प्रतिशत असल हुदैन । कर्मचारीहरुलाई एक अर्कालाई बुझ्नका लागि प्रसस्त समय हुने गरी कार्यक्रमको व्यवस्था गर्नु पर्दछ । जसका कारण कर्मचारीहरु बिच असल भावनात्मक सम्बन्धको विकाश हुन्छ ।
८. संगठन नेतृत्व सधै सकारात्मक भावनाहरु प्रवाह गर्ने संवाहक बन्नु पर्दछ । कुनै पनि अवस्थामा नकारात्मक भावनालाई संरक्षण या प्रवर्धन गर्नु हुदैन ।
९. एक कर्मचारीलाई कम्तिमा वर्षमा दुई पटक सकारात्मक भावनाको विकाश हुने तालिममा पठाउनु पर्दछ ।
अन्त्यमा, कुनै पनि कर्मचारीको भावनाको प्रकार र स्तरले संगठन भित्र सृजना हुने वातावरण तथा कार्य प्रभावकारितालाई प्रतक्ष्य प्रभाव पार्ने भएको हुदा कुशल व्यवस्थापकले संगठनमा भएको हरेक कर्मचारीको भावनाको प्रकार र स्तर बुझेर सोही बमोजिम व्यवस्थापन गरी संगठनको वातावरण मधुर र कार्य प्रभावकारिता उच्च राख्नु पर्दछ ।

थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।

Advertisement 3

 

प्रकाशित :२०८० असार १४, बिहीबार १०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry