वनको आफ्नै व्यथा :- बिक्री रोकिँदा सालका काठदाउरा जोगाउनै मुस्किल


– अजय गोर्खाली
चितवन/साल प्रजातिका काठ–दाउराको बिक्री, वितरण बन्द हुँदा एक त आम उपभोक्ताहरुले आपूर्ति समितिबाट सरल रेटमा काठ–दाउरा पाउन त सकेका छैनन् नै । काटेर घाटगड्डीमा राखिएका काठ–दाउरा जोगाउन पनि मुस्किल भएको डिभिजन वन कार्यालय, चितवनका प्रमुख वन अधिकृत पदमराज नेपाल बताउँछन् । ‘हराउने तथा चोरी हुने सम्भावना हुन्छ,उनले भने, ‘अब एकाध महिनामा डढेलाको सिजन पनि आउँछ ।
सडक यातायातको सहज पहुँच, काठ–दाउराको उच्च बजार मूल्य, वन कार्यालयको अपर्याप्त स्रोत साधन तथा जनताहरुलाई आवश्यकता अनुसार वन पैदावार उपलब्ध गराउन नसक्नु जस्ता कारणले चोरी निकासीको समस्या सम्बोधन हुन नसकेको कार्यालय बताउँछ ।
सुरक्षाका निम्ति नियमित गस्ती भइरहेको बताउँदै नेपालले हालै केही दिनअघि मात्र २२/२५ क्युफिट सालका काठ बेवारिसे अवस्थामा भेटिएको बताए । यस आर्थिक वर्षको अहिलेसम्म बेवारिसे अवस्थामा ७५ क्युफिट काठ फेला परेको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए ।

Advertisement 1

आर्थिक वर्षको हालसम्म काठ चोरीमा १० जना पक्राउ परिसकेको, ६ जना फरार रहेको उनले जनाए, जसबाट १५५ क्युफिट काठ बरामद भएको जनाइएको छ । यसबीच वन मुद्दा ६ वटा रहेको सहायक वन अधिकृत खनाल बताउँछन् । यसवर्ष अजिंगर, चित्तल, बँदेल, मलसाप्रो गरी २३ वटा वन्यजन्युको अहिलेसम्म उद्धार गरिएको पनि उनले बताए । तारबारमा अल्झिएर वा कुनै कारणवश सामान्य घाइते भएका, माउबाट छुटेका वन्यजन्तुको उद्धार गरिन्छ । यो अवधिमा चित्तल ६ वटा, बँदेल एउटा र पाटेबाघ एउटा मरेको जानकारी सहायक वन अधिकृतले दिए । अधिकांश चित्तल बाघको आक्रमण एवम् तारबारमा परेर मर्ने गरेको उनी बताउँछन् ।
चितवनमा मानव–वन्यजन्तु द्वन्द्व पनि समस्याको रुपमा रहेको छ । जङ्गली जनावरहरु मानव बस्तीमा पसेर बालीनाली, पशुचौपाया खाइदिने, कहिलेकाहीँ मान्छेमाथि पनि आक्रमण गर्ने, घरहरु भत्काउने समस्या ठाउँठाउँमा छ । त्यसको व्यवस्थापनको लागि वनको सीमामा फेन्सिङ तारबार गर्ने र वनभित्र घाँसेमैदान र तालतलैया संरक्षणमा ध्यान दिइएको डिभिजनल वन अधिकृत नेपालले बताए । वन डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीय उपभोक्ताहरुको प्रत्यक्ष संलग्नतामा जिल्लाभर सञ्जाल निर्माण तथा गठन भएको कार्यालयले बताएको छ । समस्याको कुरा गर्दा वनको जग्गामा संस्थागत अतिक्रमण बढेको डिभिजनल वन अधिकृतले बताए । मन्दिर–गुम्बाहरु बनाउने, विभिन्न सरकारी–गैरसरकारी कार्यालयका भवनहरु बनाउने समस्या रहेको उनले सुनाए ।


(पदमराज नेपाल,वन अधिकृत,डिभिजन वन कार्यालय, चितवन)

Advertisement 2

यस जिल्लामा खुला चरिचरण धेरै विकराल रुपमा नभएपनि समस्याको रुपमा चाहिँ देखिएको कार्यालयले बताएको छ । बताइएअनुसार नगर क्षेत्रका छेउछाउका वन क्षेत्रमा यसको समस्या खासै नदेखिएपनि गाउँ क्षेत्रका छेउछाउका वनमा भने खुला चरिचरणले वन क्षेत्रको पुनरुत्पादनमा ह्रास ल्याउनुका साथै वन विनाशमा प्रत्यक्ष भूमिका खेलेको छ ।
यस्तै, समस्याको रुपमा विगत १०–१२ वर्षदेखि यस जिल्लाको वन क्षेत्रमा माइकेनिया जस्तो वनमारा झारको प्रकोप बढ्दै गएको छ । यो माइकेनियाको बिगबिगी डिभिजन वन कार्यालयको क्षेत्रभित्र मात्र सीमित नरहेर चितवन राष्ट्रिय निकुञ्जमा समेत फैलिएको जनाइएको छ । यो झारले पुनरुत्पादनलाई प्रत्यक्ष रुपमा हानि–नोक्सानी पु¥याएको छ भने बरण्डाभार संरक्षित वनमा भएका घाँसे मैदानलाई तहसनहस नै बनाइसकेको छ । यसको नियन्त्रणको लागि कुनै पनि प्रभावकारी उपायहरु अवलम्बन गर्न सकेको अवस्था छैन । समस्या दिनानुदिन बढ्दै गएको बताइएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गत वन अनुसन्धान तथा सर्वेक्षण विभागले २०७३ मा प्रकाशित गरेको रिपोर्ट अनुसार चितवन जिल्लाको कुल क्षेत्रफल २,२३,९७० हेक्टर छ । सो कुल क्षेत्रफल मध्ये १,४७,४९० हेक्टर वन क्षेत्रले ढाकेको छ । जम्मा वन क्षेत्र मध्ये पनि ७१,१०५ हे. वन क्षेत्र चितवन राष्ट्रिय निकुञ्जकोे कोर क्षेत्रमा पर्दछ भने १८,७३५ हेक्टर वन क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । ५७,६५० हेक्टर वन क्षेत्र डिभिजन वन कार्यालय, चितवन अन्तर्गत पर्दछ ।

प्रकाशित :२०७७ माघ १४, बुधबार १२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry